• आइतबार-असोज-१२-२०८२

यस्तो छ दसैँभरिको मौसम बुलेटिन, मनसुनी वायुको प्रभाव कायमै रहने

काठमाडौँ, ११ असोज । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट बहिर्गमन भइसकेको छैन । 

 

हालको मौसम विश्लेषण अनुसार यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरकफरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो ।

 

यही असोज १४ (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार असोज १६ (दशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको विभागका सूचना अधिकारी कायस्थले बताउनुभयो । उहाँले विभागबाट जारी हुने सूचना अध्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गर्नुभयो । 
---

 

प्रतिकृया दिनुहोस