• सोमबार-असोज-१३-२०८२

गोलबजारबाट अवैध मल धमाधम बरामद



सिरहा । सिरहाको गोलबजारमा फेरि अवैध अनुदानित मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ ढोहटिया स्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानित युरिया र डिएपी मल बरामद गरेको हो ।

 

अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिएका छन् ।

 

यसअघि असोज ८ गते मात्रै प्रशासनले गोलबजारकै न्यु कुशवाहा बिज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको टोलीले जनाएको छ ।


बरामद गरिएको करिब ३० बोरा डिएपी र १० बोरा युरिया मल तत्काल नियन्त्रणमा लिइएको छ । सहनीको घरमा मल भेटिए पनि त्यसको स्वामित्व कसको भन्ने स्पष्ट हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।
छापामारीको क्रममा घरमा कोही नभएकाले प्रशासनले घरमा ताल्चा लगाएर सात दिनभित्र सम्पर्कमा आउन घरधनीलाई आग्रह गरेको छ । 

 

प्रत्येक बोरामा रातो मार्करले जिल्ला प्रशासन कार्यालय सिरहा लेखेर कर्मचारीहरु कार्यालय फर्केका हुन् । अनुगमन टोलीमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र गोलबजार नगरपालिका वडा न–६ का अध्यक्ष संजित लामाको सहभागिता रहेको थियो । स्थानीयका अनुसार मल मुकेश बिज भणडारले राखिएको बुझिएको छ ।
 

 

प्रतिकृया दिनुहोस