• सोमबार-असोज-१३-२०८२

हनुमानढोकाको दसैँँघरमा विधिपूर्वक भित्र्याइयो फूलपाती

 

काठमाडौँ, १३ असोज : राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । 

 

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो ।

 

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपालीे सेना गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथमा फूलपाती ल्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा शार्दूलजङ्ग गुल्म, गुरुजुको पल्टन, सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

 

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने क्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ंग्रहालय विकास समितिले जनाएको छ ।

 

यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सहसचिव मुकेश डङ्गोल र पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी सहभागी हुनुभएको छ । 
 ---

 

प्रतिकृया दिनुहोस