• शनिबार-बैशाख-१५-२०८१

अर्थात् जेमन्त : शरद् राज गौतम

 

छ्यालिस सालको राजनैतिक परिवर्तन यताका धरापहरुमा
मुलुकमा सबैभन्दा निरीह र पराश्रित कुनै थोक रह्यो भने
त्यो थियो,
मुलुकको शासनविधि चलाउने संहिता–नेपालको संविधान ।
गणतन्त्र दिवसको दिन आज,
मुलुकको कुनै हिस्सामा उभ्भिएर जोसुकैले पनि एकमुठ्ठी माटो समाएर सोधोस्
मुलुकको संविधानले तिम्रो कुन धरा र कुन बास कबुल गरायो ।
मित्र,
जवाफहरु संविधानका धाराहरुमा मिल्ने छैनन् ।
न त जवाफ तिम्रो जिन्दगीको धराहरुबाट नै मिल्नेछन् ।
सबथोक मिसमास परेको छ, संविधानमा ।
तिमी, तिम्रो धर्ती र तिम्रो पहिचान ।
संविधानले नदिएको क्यै थोक बाँकी छैन
र, कबुल न गरेको कुनै हिस्सा ।
तर, जब एकसरो मानिस संविधान अघिल्तिर आफूलाई प्रत्याभूत गराउन खोज्छ ।
उसित जिन्दगीको र सम्झनाको निस्सारता मात्र बाँकी मिल्छ ।
न परिवर्तन रह्यो, न परिवर्तन सिहार्ने जमात ।
बेईमानहरुको बिचमा स्वयम् बेईमान अलमल परेको छ ।
संविधानसित त्यै भएको छ ।
बेईमानहरुको बिचको संग्लो बेईमान, संविधान ।
हिमालका हिउँका लेदोहरुबाट निस्किने पानीहरुलाई नारा उरालेर सिद्धान्त बनाउनेहरु
खाडीमा ओंठ भिजाउने दुई थोपा पानी न पाएर काकाकुल जिन्दगी बाँचेका छन् ।
ती घरीघरी नेपालका नदी नालाहरुमा टिकटक बाँच्छन् ।
तिनको राष्ट्रियता जङ्गी निशानको बिगुलमा गिताउँछ ।
तिनको आस्था बाचन पनि धमिलो फोहोरी शब्दहरुमा ट्वीटाउँछ ।
मुलुकमा यतिखेर गणतन्त्र यसैगरी चामल पिठो साटासाटमा छ ।
खेत खोलाहरु रित्ता छन 
तर, दाइँ गर्न भनेर गोरु खोजि हिंड्नेहरुको ठुलो जमात छ, मुलुकमा ।
एउटी दोवटी द्रौपदी भाउजुहरु लालाबाला सहित छन, गाउँमा ।
र, पौरषत्व देखाउन भनि एक दर्जन लठुवाहरु हुल बाँधेर हल्लिएर हिंड्छन ।
अस्पताल केन्द्रहरुमा सबका सब निशुल्क औषधि पाइन्छ, सिवाय गर्भ पतनको ।
द्रौपदी भाउजुहरु त्यै ओषधिमा पनि हरेक पल्ट गणतन्त्र डुबुल्की लाउन बाध्य छन ।
संघीयता, स्थानीय सरकारको रोइलोले सक्किएको छ ।
मुर्दा पोल्दा पुछारतिरको घाटको अवस्थाको झैं छ ।
मलामीहरु पाखा लागेका छन, पोलिनेहरु खरानी ।
घाट छ, दागबत्ती दिने छन, केही थान बलेर बाँकी रहेका दाउरा र अस्तु ।
यस्तोमा यै अस्तु धसेर कोही
गणतन्त्र दिवसको तीन दिने उत्सव मनाउन लागिपरेका छन ।
तिनलाई मात्र लागेको छ, मुलुकसित संविधान पनि छ, गणतन्त्र पनि ।
अरु सब निस्ता निस्ता ।
छयालिसको राजनैतिक परिवर्तन पछि 
मुलुकको संविधानमाथि गरिएको सबैभन्दा यौनिक हिंसा थियो
कसैको क्यै सुरक्षित नहुने गरि सबैथोकको ग्यारेन्टी गरिनु ।
क्यै नमिले पनि सबै थोक मिलेको जस्तो गरि
सबका सब स्याल हुँइयामा परिवर्तनको हुंकार भरि हिंड्ने ।
आजको दिनमा,
संविधान आफ्नै सुरक्षा गर्न नसकेर थलिएको छ ।
यसले कसैलाई सुरक्षा देला भनेर न कबुल गर्न सक्छ
न त आदेश निर्देश नै ।
स्वयम्बाट प्रताडित र स्वयम् मै स्खलित ।
कुनै थोकको प्रत्याभूति गर्न नसक्ने  र गर्न नपर्ने ।
कर्मकाण्डी संहितामा हाँसी रहेको देश हुन पुगेको छ, मुलुक ।
र, गणतन्त्रात्मक संविधान । 
 

प्रतिकृया दिनुहोस