• बिहीबार-बैशाख-२७-२०८१

अर्थात् जेमन्त : शरदराज गौतम

 

‘भाते’ शब्द पहाडी लेकतिर बोलिने लवज हो ।
लेकतिर खेत हुन्न, धान फल्दै फल्दैन र फले पनि पुग्दैन ।
दिनहुँ भात खान पाउनु सौभाग्य हुन्छ, लेकमा ।
मधेश र बेसीका फाँटहरुबाट चामल ओसारेर टाकुरामा बसेर भात खानु
लेकका बासिन्दाहरुका लागि यो चरम दुब्र्यसन मात्रै हो ।
लेकका कठिनाईहरुमा पनि कोही भाते जिब्रो बस्छ भने
तिनैलाई टिठ्याइन्छ, ‘भाते’ भनेर ।
मुलायम र हलुका स्वादको भातमा परेको मानिस ।
भातेहरुको एउटा ठुलो जमात नेपाली समाजमा दुव्र्यसनीमा परेको छ ।
तिनलाई एउटा खासाको साइजमा राजधानी केन्द्रित बढी देख्न पाइन्छ ।
छ्यालिस साल पछिका जति पनि आन्दोलनका हुलहरुमा तिनका अनुहार चिनिन्थ्यो ।
काठमाण्डाँैमा सडक पेटीका रेलिङ भाँच्ने जमातको फोटो अनुहारलाई
गुगलको लेन्सको एप्समा भिडाएर हेर्नुहोला
ती भोला गुट्खा चपाएको अनुहारमा
ले ले जनता खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काई दे भन्ने नारा उराल्ने जमातमा भेटिन्थे ।
मलाई गणतन्त्रमा रुपान्तरित ती अनुहारहरु अझै सम्झना छ । 
मेरा श्रव्य संग्रहमा ती नाराहरु अझै सुरक्षित छन ।
जो उफ्रिउफ्रि सातदलले आयोजना गरेको जुलुसमा
ले ले खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काई दे भन्थे ।
मैले तिनै आबाजहरुलाई, तिनै अनुहारहरुलाई
बल्खुका भिडहरुमा गणतन्त्र धोका हो भनेर चिच्याएको भेटेको छु ।
तिनै भिडलाई हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर उफ्रिएको देखेको छु ।
एमाले प्रशिक्षण विधि र पाठ्यक्रम दुबै लेकको ढिंडे कोदो हुन ।
हाम्रोतिर वर्षभरि कोदो खान मात्रै मिल्नेहरुलाई होच्याएर ‘कोदे’ भनेर बोलिन्छ ।
यो कोदे जमात नबुझिञ्जेल न दुर्गा प्रसाईंको नागरिक बचाउ अभियान बुझिन्छ 
न राजेन्द्र लिङ्देनको बिर्तामोडको पृथ्वीनारायण शाहको सालिक ।
दुबैको धराप चेपोमा कोइ परेको छ भने, त्यो हो एमालेको कठमुल्ला जमात ।
जो आफ्नो भाते जमातलाई कार्यकर्ता पंक्ति भन्छर ठालु पल्टिन्छ ।
बल्खुमा राजाको पक्षमा घरिघरि उचालिएका मुठ्ठीका नाडीमा लागेको बाला देख्दा
म निक्कैबेरसम्म एमालेका उपत्यका इञ्चार्जका ठालुहरु सम्झि बसें ।
मलाई लागि रह्यो, यो मुलुकमा माओवादी मात्र होइन ।
एमालेको पंक्ति सिध्याउन पनि अरु कोही चाहिने नै होइन ।
जस्तो काँग्रेस सिध्याउन कोई चाहिएकै थिएन ।
ती आफै सिद्धिन्छन र आफ्नै कारणहरुमा सिद्धिन्छन ।
द्वन्द्वात्मक ‘कोदेवाद’ ।
छ्यालिस सालमा शरदचन्द्र शाहकोे घर डिल्लीबजारमा आगो बाल्न पुगेकाहरु
सबका सब उनका ढोके, हुक्के र चम्चे हातमा राँको बोकेर कोठा चोटा पुगेका थिए ।
आज बल्खुमा गणतन्त्र धोका हो र मुर्दावाद भन्नेहरु
सबका सब माओवादी र एमालेमा तत्काल गणतन्त्रमा जानु पर्दछ भन्नेहरु नै हुन् ।
भोलिका दिनहरुमा भ्रष्ट नेताहरुको घरमा लुटपाट गर्न जानेहरुको गुगल लेन्स गर्दा पनि
तिनै फेला पर्ने छन् । 
लेकमा भातको दुव्र्यसनमा बस्नु भनेको ‘भाते’ हुनु हो ।
अझै पनि कसैलाई लाग्छ,यो तेश्रो आन्दोलन हुन लागेको हो भनेर भने
समकालीन नेपाली समाजमा कोदे र भाते एउटै जस्तै छन ।
कुमाई बुद्धिको एमाले ।
जुन कुनै नश्ल नै होइन ।
हिमालतिर त्यस्तालाई ‘स्याक्चा’ बोलिन्छ ।

(साँघु साप्ताहिक, २०८० मंसिर ११)

प्रतिकृया दिनुहोस