काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकमा सर्लाहीका नारद लुइँटेल नियुक्त भएका छन् । उनले २०८० असार ११ गतेदेखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन् । नाथमको कार्यकारी निर्देशक रहेका पूर्व उपसचिव राजेश उप्रेती २०८० जेठ २४ गते उमेरहदका कारण सेवा निबृत्त भएका थिए । तत्कालीन मन्त्री प्रेमबहादुर आलेले उप्रेतीलाई चार वर्षका लागि नाथमको कार्यकारी निर्देशक नियुक्ति गरेका थिए ।
आले पछि २०७९ असार २९ गते पर्यटन मन्त्री भएका जीवनराम श्रेष्ठले मंसिर चार गते सम्पन्न आम निर्वाचनमा पराजय भोगेपछि जाँदाजादै उप्रेतीलाई हटाएर लुइँटेललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए । उक्त नियुक्तिविरूद्व उप्रेती उच्च अदालत पाटनमा निवेदनसहित पुगेका थिए । अदालतले स्टेअर्डर जारी गर्दै तत्काल उप्रेतीले पद छोडनु नपर्ने पक्षमा निर्णय गरेको थियो । त्यसपछि उनी पदमा थमौती भएका थिए ।
तर, उप्रेती २०७९ जेठ २४ गते ५८ उमेर हद पूरा गरेका कारण निजामती सेवाको उपसचिव पदबाट अनिवार्य अवकास हुन पुगे । त्यसपछि नाथमको कार्यकारी निर्देशक पद पनि स्वतः खाली भएको थियो । तर उप्रेतीले ७ दिनको विदा स्वीकृतिका लागि भन्दै मन्त्रालयका सचिव सुरेश अधिकारीसमक्ष निवेदन हालेको थिए । निवेदन दिएर आफू भने नाथम नगई घरमा बसेका थिए । ५८ वर्षे उमेर हद पार गरेको भन्दै मन्त्रालयले उनको विदा मागको निवेदन मन्त्रालयले स्वीकृत गरेन ।
तर, यसबिचमा उप्रेतीले लुइँटेलसँग सल्लाह गरेरै २०८० जेठ २४ पछि पद छाडी दिने सहमति भने गोप्य रुपमा गरेको जानकार स्रोतको भनाई छ । भद्र सहमति अनुसार उप्रेतीले रिट फिर्ता लिएर लुइँटेललाई नाथमको कार्यकारी निर्देशक हुने बाटो खुल्ला गरिदिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । नाथममा कार्यकारी निर्देशक हुन डा. बाबुराम भट्टराईको छोरी मानुसी यमीको श्रीमानले पनि चाहना गरे पनि उप्रेती र लुईंटेल मिलेकोले संभव नभएको जानकार स्रोत बताउँछ । नाथमको एउटा भवन र केही जग्गा भाडामा लिएर तीन तारे होटल सञ्चालन गर्न एउटा समूह मरिहत्ते गरेर लागेको बताइएको छ ।
सो समूहले पूर्व प्रधानमन्त्री डा. बाबुरामका ज्वाईंलाई नाथममको कार्यकारी निर्देशक बनाएर स्रोत साधन र जनशक्तिलाई सस्तोमा प्रयोग गरी होटल सञ्चालन गर्ने चलखेल गरिरहेको थियो । अब यो समूह लुइँटेलसमक्ष उक्त प्रस्ताव लिएर पुग्ने संभावना रहेको स्रोत बताउँछ । कडा स्वभावका लुइँटेलले स्वार्थ समूहको हितमा नाथमलाई प्रयोग गर्न दिने संभावना कमै रहेको बुझिएको छ । त्यसकारण पनि लुइँटेललाई हटाउन स्वार्थ समूहले पर्यटन मन्त्री सुदन किराँती र सचिव अधिकारीलाई प्रयोग गर्न सक्ने सभावना बढेको जानकार स्रोतको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८० असार १८)
प्रतिकृया दिनुहोस