• आइतबार-बैशाख-२८-२०८२

देशका मौलिक विशेषताहरुमाथि धावा बोल्नेलाई सामाजिक बहिस्कार गराैं !

 

 १) आजको दुई तीन सय वर्ष अगाडिसम्म पनि नेपाल सापेक्षिक रुपले सम्पन्न र शक्तिशाली मुलुकको रुपमा परिचित थियो। नेपालले भारत र चीनलगायतका मुलुकमा सापेक्षिक रुपले धेरै मालसामानको निर्यात गर्दथ्याे। तिब्बत र भारतका कतिपय राज्यहरुले नेपाललाई कर समेत बुझाउने गर्थे भनिन्छ। नेपाली मुद्रा पनि छिमेकी मुलुकको मुद्राको तुलनामा शक्तिशाली थियो भन्नेकुराको सम्झना बुढापाका मानिसहरुले गर्छन् ।


 नेपालका धेरैजसो दरवार तथा मन्दिरहरुलगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको निर्माण पनि राणाकाल र त्यसभन्दा अगाडि नै भएको देखिन्छ।  आर्थिक रुपले सम्पन्न मुलुकले आफ्नो भाषा, संस्कृति र प्रविधिको अध्ययन, अनुसन्धान र विकासमा पनि जोड दिएको पाइन्छ । त्यसैले नेपाली भाषा र संस्कृतिको विकासमा पनि त्यसबेला नेपालले  निर्णायक फड्को  मारेको थियो भन्नेकुरा खोज अनुसन्धानहरुले बताउँछन् ।

 

२) त्यसबेला नेपाली शासकहरु र बुद्धिजीवी तथा विद्वानहरुले अहिलेजस्तो अरुको अन्धानुकरण गर्ने र अर्कैको खुट्टा र अर्कैको अर्ति उपदेश पर्खेर पाइला चलाउने काम कमै मात्र गरेको पाइन्छ। शासकहरु र बुद्धिजीवीहरु  यथासंभव आफ्नै बुद्धि विवेकले चल्थे र आफ्नो सभ्यता, संस्कृति र वैभवमा गौरव गर्थे।  


   त्यसैले त्यसबेला विद्यालयको पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउने, संस्कृतका किताब जलाउने र नेपाली अक्षर र शब्दहरुको प्रयोग र प्रचलन घटाउने जस्ता निर्णय र काममा त्यसबेलाका शासकहरु र बिद्धिजीवी तथा विद्वानहरु लागेका थिएनन् । त्यसबेला नेपालको बौद्धिक र भाषिक सम्पन्नता र राष्ट्रिय स्वाभिमानमा प्रहार गरेर विदेशीहरुलाई खुशी पार्ने र विदेशीहरुसंग पैसा माग्ने जस्ता काममा शासकहरु र विद्वानहरु अहिलेजति लागेको पनि देखिदैनथ्यो।  

 

३)  डेढ दुई सय वा तीन सय र्ष अघि नेपालको हाराहारीमा रहेका र अझ धेरै कमजोर अवस्थामा रहेका धेरै राष्ट्रहरु अहिले नेपालभन्दा धेरै अगाडि पुगेका छन् । त्यसबेला नेपालको सहयोग लिएर कतिपय आवश्यकता पूरा गर्ने धेरैजसो राष्ट्रहरु अहिले नेपाललाई सहयोग गर्ने सम्पन्न र समृद्ध राष्ट्र बनेका छन् । तर पनि नेपाली शासकहरु मुलुकमा स्वदेशी उत्पादन बढाउने कुरामा उत्सुक देखिदैनन्, आफ्नो मुलुकमा भएका उद्योग कलकारखानाहरु बन्द गराएर जानी नजानी बिदेशबाट आयातित सामानमा मुलुकलाई पूर्णरुपले निर्भर बनाउने काममा लागेका देखिन्छन् ।


  स्वदेशी उत्पादनको वृद्धि भन्दा बिदेशी बस्तुको आयात बढाएर नेपाललाई कङ्गाल बनाउने गरी बिदेशीलाई खुशी पार्ने र बिदेशी कम्पनीहरुबाट कमिसन लिने कुरालाई नेताहरुले आफ्नो अधिकार ठान्न थालेको अनुभुति जनसाधारणले गर्न थालेका छन् । विदेशीको चाकरी गर्न पाएर रमाउने शासकहरु र स्वदेशी तथा विदेशी शासकको स्वस्तीवाचन गरेर व्यक्तिगत सम्पन्नता हासिल गर्ने ध्याउन्नमा लागेका मानिसहरु  नेपाली भाषा, संस्कृति, सभ्यता र प्रबिधिको बिकास र विस्तारमा लागेका पनि देखिदैनन् ।


उनीहरु मूलत: नेपाली भाषा, संस्कृति, इतिहास र सभ्यता तथा विशिष्टतामाथि प्रहार गर्ने र नेपाली भाषा, संस्कृति, सभ्यता, मौलिक क्षमता र ऐतिहासिक गौरवलाई कमजोर बनाएर नेपाललाई सबैकुरामा कमजोर पार्ने खेतीमा लागेका छन् कि भनेर शंका गर्नुपर्ने अवस्था अहिले देखिन्छ।

 

४) अंग्रेजी शब्द कोशमा निरन्तर नयाँ नयाँ शब्दहरु थपिएको पाइन्छ। उनीहरुले करिब करिब एकै खालको अर्थ दिन्छन्  भनेर "इन् " , "अन" र "  "एट्" आदिमा एउटाको प्रयोग गरौं अब भनेर भाषाको मौलिक चरित्र र विविधतामाथि  प्रहार गरेको पाइँदैन। हाम्रो मुलुकमा चाहिँ आइएनजिओ आदिबाट पैसा आउँने भएपछि तथाकथित भाषाविद्हरुले विदेशीले भने अनुसार अक्षर र शब्द घटाउन उछिनपाछिन्  गर्छन् ।

 

संसारका अमेरिका जस्ता सम्पन्न देशले आफ्नो भाषाका अक्षर घटाउने र शब्द घटाउने काम गरेको सुनिदैन।  चिनिया भाषामा सबैभन्दा धेरै अक्षर छन्  तापनि चिनियाहरुले अक्षर घटाउने अभियान थालेको पाइँदैन, सुनिदैन। आफ्नो भाषा, सभ्यता र संस्कृतिमा गौरव गर्ने देशप्रेमीहरु कसैले पनि यस्तो दुष्कृत्य गर्दैनन्  पनि । हामीकहाँ  भने य, ज्ञ, क्ष र त्र समेतका ३७ अक्षरबाट "य" हटाउने जस्ता निर्णय धेरै अगाडि लागू भइसकेका छन् ।


केही वर्ष अघि "स" , "श" र "ष" जस्ता अक्षरको प्रयोगमा रहेको मौलिक चरित्रमा प्रहार गर्ने अर्को प्रयत्न भएको हो । अब अहिले संयुक्त अक्षर "ॐ" माथि प्रहार केन्द्रित  भएको छ।  कथित भाषाविदहरुलाई गुलियो चटाएर नेपाली भाषामा प्रचलनमा रहँदै आएका मौलिक प्रकृतिका शब्दहरु समाप्त पार्ने सुनियोजित षड्यन्त्रको शृङ्खलामा अहिले यो नयाँ प्रयत्न अघि आएको छ। संभवत: नेपाली भाषाको मौलिक विशेषतालाई खण्डित पार्ने एउटा नयाँ उपाय शासकहरु र शासकहरुको स्वस्तीबाचनमा रमाउने बुद्धिजीवीहरुले निकालेका छन् ।

 

५) नेपाली र अन्य राष्ट्रिय भाषाका मौलिक चरित्र र नेपाली उत्पादन, उद्योग र प्रबिधिमा प्रहार गर्ने यो शासकीय प्रयत्नमा नेपाली जनताहरुले खरो प्रतिक्रिया देखाउन नथालेसम्म विदेशी सभ्यता र संस्कृतिको आयात गर्नका निम्ति सजिलो अवस्था सिर्जना गर्ने शासकीय प्रयत्नमा बिराम लाग्ने देखिदैन। त्यसैले अब नेपाली जनताले यो फलानो पार्टिको हो, यसले यति पढेको छ भनेर कसैलाई राम्रो ठान्ने र समर्थन गर्ने बानी छाडेर देशको  मौलिक चरित्र कमजोर पार्ने अभियानमा लागेका कथित विशेषज्ञ र विद्वानहरु छन् ।


  सरकारमा बसेर विदेशीहरुसंग  दासयुगमा दासले मालिकसंग जस्तो व्यवहार गर्थे त्यस्तै व्यवहार गरेर नेपालको स्वाभिमानमा आँच पुर्याउने नेताहरु र नेपाली उद्योग र उत्पादन क्षमता कमजोर हुने खालको नीति निर्माण गर्ने नीति निर्माताहरुको पहिचान गरेर उनीहरुलाई संयमताकासाथ सामाजिक बहिस्कार गर्न नथालेसम्म नेपाल र नेपाली इतिहास , सभ्यता, प्रविधि, भाषा, संस्कृति र उत्पादन क्षमतामाथि  प्रहार गरेर मोटाउन खोज्ने तत्वहरुलाई सधैको निम्ती पराजित गर्न संभव हुने देखिंदैन।


त्यसैले, अब बिदेशीसंग लम्पसार पर्ने , नेपालका प्राकृतिक श्रोत र साधनहरु सबै बिदेशीलाई बुझाउने, नेपाली उद्योग र उत्पादन समाप्त पारेर नेपाललाई बिदेशी मुलुकमा पूर्णरुपले निर्भर बनाउने, असंलग्न परराष्ट्र नीतिको परित्याग गरेर नेपाललाई विदेशी रणनीतिक गठबन्धनहरुमा सामेल गराउने, नेपाली जनतालाई पटक पटक ढाँट्ने, लाभका पदमा आफ्ना र आफ्नो परिवारका सदस्यलाई मात्र पुर्याउन नेताहरु सक्रिय छन् ।


  विदेशी पैसाको लोभमा परेर नेपालको भाषा, संस्कृति, सभ्यता, ऐतिहासिक गौरव र आर्थिक र अन्य मौलिक बिशेषता , क्षमता र संभावनामाथि प्रहार गर्ने तथाकथित बुद्धिजीवीहरुका सभा समारोहमा नजाने, फुल माला लिएर उनीहरुको स्वागत सत्कार गर्न नउभिने र उनीहरुको जयकार गर्दै हिंड्न छाड्ने हो भने मात्रै पनि उनीहरु देश र जनविरोधी गतिविधि गर्नबाट हच्किने अवस्था आउन सक्छ।

प्रतिकृया दिनुहोस