• बुधबार-बैशाख-१९-२०८१

प्रहरीको बढुवा र सरुवाप्रति फोर्समा असन्तुष्टि ?

 

काठमाडौं । तस्करी, हुण्डी र भन्सार चोरी पैठारी व्यापक रुपमा हुने मधेश प्रदेशका जिल्लाहरुमा कार्यरत केही प्रहरी प्रमुखहरुको अचानक र प्रहरी नियमावली, संगठनको परम्परा विपरीत २ महिना पनि नपुगेको  अवस्थामा गरिएको बेथितिको सरुवालाई लिएर प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको गुनासो बाहिर आएको छ । यस्तै, कार्य सम्पादनमा कमजोर भएका केही प्रहरी अधिकृहरुको बढुवाको विषय प्रहरी अधिकृतहरुको लागि चित्त दुखाइको विषय पनि बनेको छ । बढुवामा शक्ति केन्द्र र गृहमन्त्री रवि लामिछानेको कोर टिमको आशीर्वाद रहेको चर्चा हुँदै आएको छ । उक्त कोर टिमलाई खुसी पारेकै कारण प्रहरी अधिकृतहरुको सरुवा र बढुवा उथलपुथल भएको बताइएको छ ।


आगामी मिसन २०८४ लाई सफल बनाउनकै लागि कोर टिमले प्रहरीको सरूवा र बढुवामा उठ्तीपुठ्तीमा चासो दिन शुरु गरेको चर्चा पनि सुरु  भएको छ । यही कारण मापदण्ड देखावटी भएको र शक्ति केन्द्रको चाकडी  गरेर वरिपरिमा रहेकाहरु मध्ये केहीले बढुवामा छलाङ मारेको स्रोत बताउँछ । सक्षम, इमान्दार अधिकृतलाई पन्छाएर बढुवा गरिएकोमा प्रहरी संगठन भित्र ठूलै असन्तुष्टि चुलिएको बताइन्छ ।


प्रहरी अधिकृतहरुको बढुवामा संगठन प्रमुख आईजीपी कुँवर निरीह भएको गुनासो पनि सुनिन्छ । जेष्ठता र कार्यक्षमताका आधारमा इन्स्पेक्टरबाट डीएसपी र  डीएसपीबाट एसपीको बढुवामा उनले गृह मन्त्रालयको नेतृत्व समक्ष अडान राख्न नसकेको भन्दै प्रहरी संगठनभित्रबाट प्रश्न उठाउन थालिएको स्रोतले बताउछ । कारबाहीमा परेका केही प्रहरी निरीक्षकहरुले पनि डीएसपीमा बढुवाको अवसर पाएको भन्दै आइजीपी कुँवरको आलोचना भएको हो । बढुवा सिफारिस भएकामध्ये ऋषिराम घर्तीमगर, भिषणबावु राई र लक्ष्मण ओली कारबाहीमा परेका प्रहरी निरीक्षक रहेको स्रोत बताउँछ ।


इलाका प्रहरी कार्यालय बुटवलमा निमित्त इन्चार्ज हुँदा थुनुवालाई होटलमा राखेको आरोपमा घर्तीमगरमाथि कारबाही भएको स्रोतको दावी रहेको छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भिषणबावु राई प्रहरी वृत्त दरबारमार्गमा कार्यरत रहेको बखत कारबाहीमा परेको बताइएको छ । यस्तै, इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा वाकीटकी सेट फुटाएको आरोपमा लक्ष्मण ओली विभागीय कारबाहीमा परेका स्रोतले दावी गरेको छ ।


प्रहरी निरीक्षहरु घर्तिमगर, राई र ओली  कारबाहीमा परेका प्रहरी अधिकारी हुन् भने प्रतिस्पर्धाको ९६औं सूचीमा रहेका कमल बहादुर खड्का २०७२ पुस २९ गते प्रहरी सेवामा प्रवेश गरेको बताइन्छ । उनी प्रहरी महानिरीक्षक कुँवरको नातेदार रहेको बताइएको छ । जबकि इन्स्पेक्टर भर्ना भएका अन्य खुल्ला प्रतिस्पर्धीहरु २०७० चैत ९ गतेमा प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरीको डीएसपी बढुवामा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवा बढुवामा हस्तक्षेप गर्दिन भनेर गफ दिएको मसी सक्न नपाई इतिहासमै नभएको अन्यायपूर्ण बढुवा र सरुवा गरेपछि उनको सुशासन कता हरायो भन्ने सरोकारवालाहरुले जिज्ञासा र प्रश्न उठाउँदै आएका छन्  । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)
 

प्रतिकृया दिनुहोस