• मंगलबार-बैशाख-१८-२०८१

मन्त्रीहरूले सम्पत्ति विवरण लुकाएकै हुन् ? : सिंगो मन्त्रिपरिषद्बाटै कानूनको धज्जी !


काठमाडौं । २०८० फागुन २१ गते बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समिकरण बदलिएर नयाँ मन्त्रिमण्डल गठन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजबादी र जनता समाबादी पार्टी डेढ महिना अघि सरकारमा सहभागी भएका थिए । मन्त्रिमण्डल पुनर्गठन भएको यतिका दिन बित्न लाग्दासमेत प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारजना उप–प्रधान, १७ जना मन्त्री र एक जना राजमन्त्री गरी कूल २३ जना रहेका छन् ।


सर्वसाधारण नागरिकलाई कानूनको पालना, मुलुकमा विधिको शासन, भ्रष्टाचारको अन्त्य र सुशानको कायम गर्ने सरकारको उद्घोष मन्त्रीहरुले समयमा विवरण नबुझाएकै कारण नियमको उल्लंघन हुन पुगेको बताइएको छ । सुशानको दुहाई दिंदै नयाँ समीकरणसहित सरकारमा पुगेका जिम्मेवार राजनीतिक दलबाट सिफारिस भएर मन्त्री पदमा पुगेकाहरुले नै कानूनको पालना नगर्दा सुशासनको धज्जी उडेको महसुस सर्वत्र हुन थालेको छ । प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले आजका दिनसम्म पनि सम्पत्ति बिवरण नबुझाएर कानूनको बर्खिलाप गरेको बताइन्छ । प्रधानमन्त्री प्रचण्ड स्वयम्ले आफ्नो नेतृत्वमा सरकारमा रहेका सदस्यहरुलाई ताकेता नगर्दा उनीहरुले समयमा सम्पत्ति विवरण बुझाउन आनकानी गरिरहेको अनुमान भइरहेको छ । खासगरी सरकारका मन्त्रीहरुले नियुक्त भएको एक महिनाभित्र आफ्नो सम्पत्तिका बारेमा नेपाली जनताका माझ सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।


नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री प्रचण्ड पछि दोश्रो वरीयतामा रहने गरी रघुवीर महासेठ उप–प्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ उप–सहित तेश्रो वरीयताक्रममा परराष्ट्र मन्त्री छन् । रास्वपाका अध्यक्ष रवि लामिछाने उपसहित गृहमन्त्री बनेका छन् । उनी वरीयताक्रममा प्रधानमन्त्री पछिको चौथोमा रहेका छन् । जनता समाजबादी पार्टीका अध्यक्षसमेत रहेका उप–प्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव त्यसपछिको वरीयता क्रममा रहेका छन् । 


यसपछिको वरीयताक्रममा रहेका १७ जनामध्ये नेकपा मओवादीका वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन । नेकपा एकीकृत समाजबादी पार्टीको तर्फबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन । नेकपा माओवादीकै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका छन् भने रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेकी छिन ।


एमालेका पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका छन ।


नेकपा एसको तर्फबाट धनबहादुर बुढा शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहेका छन । रास्वपाकै डोल प्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराज भक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा रहेका छन । जनता समाजवादीको तर्फबाट भने नवलकिशोर साह सुडी वन तथा वातावरण र राज्यमन्त्रीमा दीपक कार्की रहेका छन् । उनीहरु कसैले पनि समयमा सम्पत्ति विवरण बुझाएको आजसम्म सार्वजनिक भएको छैन  । (साँघु साप्ताहिक, २०८१ वैशाख ३) 
 

प्रतिकृया दिनुहोस