• शनिबार-बैशाख-२२-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

मुलुकको मनोसामाजिक सम्बादमा यदि यो ‘सन्नाटा’ हो भने,
सीमापारि बग्ने पश्चिमी वायुको न्युनचापीय प्रभाव हो ।
वा होइन भने, पूर्वीय वायुको मंदीको उत्सर्जन ।
बफर देशसित मौसमको रैथाने भन्ने केही पनि हुन्न ।
सबथोक निस्तानिस्ता, सबथोक उब्रेका, पोखिएका ।
केबल देखासिकी र भाडाका विचारको ओहोरदोहोर ।
मुलुकको सामाजिक बहस संविधान हुनै सक्तैन, हुँदा पनि होइन ।
यो, भौगोलिक बफरजोनमा हुर्किने कुरुवा सोच मात्र हो ।
अरुको लागि मात्र बहादुर कहलिने मौलिक स्वभाव ।
पूर्वी पहाडका हाटबजारमा कुरुवा नापजोखको प्रचलन अझै भेटिन्छ ।
जहाँ अन्नपात मात्र होइन, सुकाएको मुलाको चना पनि नापिन्छ ।
कुरुवाको एउटा शक्ति जसलाई अझै प्रमाणित र विश्वस्त मानिन्छ 
कि यसले झुसिंदा पनि फारो नै गराउँछ ।
फारो गर्नुमा हुर्किएको अन्तर्निहित मौलिक स्वभाव ।
बफर भौगोलिकीमा जन्मिने कुरुवा सोच कति मात्रै हो भने
संविधान मात्र स्वयम्मा मुलुकको शासन विधिलाई पुग्दो छैन ।
अरुका लागि बहादुर हुने अन्तर्निहित हुने स्वभाव पनि मिसिनु पर्दछ ।
पूर्वीय वा पश्चिमी वायुको न्युनचापीय प्रभावले यसको हैसियत तोक्छ । 
आजभोलि,
मुलुकको मौसमको यै न्युनचापीय दबाबमा ‘सन्नाटा’ छ ।
गाउँघरमा मलामी बटुल्न नसक्नेहरु माइती मण्डेलामा जब अनसन बस्दछन् ।
रुसी सेनामा तिनका आफन्तको भर्ती कात्रो भएको हुन्छ ।
नेपालीको ‘बहादुरको’ उपाधि दिनहुँ खोसिंदो छ, हजुर ।
भतुवा, भित्रिया र काँतरका परिवार बस्ने देश भएको छ , मुलुक ।
मुलुकमा चपाएर बियाँ थुक्दा विरुवा उम्रिने पाखाहरु भोकको राँके मसान भएका छन् ।
तिनलाई संविधान न पुग्दो भो ।
दोटा उत्पादन बजारमा बिक्री गर्न नसक्नेहरु अर्थतन्त्रको साबिती दिन्छन् ।
छायाँ अर्थतन्त्र सम्पूर्ण गणतन्त्रको मलामी कोरा भएको छ ।
तिनलाई गणतन्त्र नपुग्दो भो ।
नपुग्दोहरुको राँके जुलुसमा राँडोहरुको भिड ।
मुलुक भनि साध्य नभएको छद्म भिडन्तको अखडा भएको छ ।  
भिड्या पनि कोई देखिएको होइन, लड्या पनि देख्या होइन ।
तर, भिडन्त निरन्तर देखिन्छ, छायाँ भिडन्त ।
खासमा संविधान नपुग्दो भएकै होइन ।
संविधानसितको साझेदारीमा मुलुकवासीको इमान्दारिता नपुगेको हो ।
उसको भगौडे र भाँंडको विचार बोकी हिंड्ने स्वभाव नपुग्दो भएको हो ।
सबले हाथ हाथमा बोकी हिंड्या अदृश्य हतियारहरु फालि त हेरुन ।
यो देखिएको सन्नाटाको तन्किएको हावा सेलाउंछ ।
मुलुकसित बिग्रिएको कतै क्यै छैन ।
भतुवाहरुको भिडले दृश्य विद्रुप देखिएको मात्र हो ।
भाँड र भित्रियाहरुले सबलाई काँतर देखाएको मात्र हो ।
एक पटक आफ्नी घरकी आमालाई सम्झिए मात्र
मुलुकसित आफ्नो मौसम बौरिनेछ ।
मुलुकसित आफ्नो मनताप भेटिनेछ ।
आफ्नी आमा सम्झिएर माटो छोएर त हेरुन्
यो मुलुक कति तिनको छ र कत्ति तिनले बहादुरी देखाउने साँढहरुको । 
संविधान होइन हजुर, संविधान कतै होइन ।
तपाईंको इमान खराब हो । (साँघु साप्ताहिक, २०८१ वैशाख ११)

 

प्रतिकृया दिनुहोस