• बिहीबार-जेठ-३-२०८१

‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ : गुहार नपाएपछि ‘वारपार’मा सहकारी पीडित  

 

काठमाडौं । दुई हप्ताअघि गृहमन्त्रालयमै पुगेर पोखराको सूर्यदर्शन सहकारी ठगीमा परेका पीडितले गृृहमन्त्री रवि लामिछानेलाई भेटेर अन्तिम पल्ट समस्या राखेका थिए । उनीहरुले लामिछानेसँग सूर्यदर्शन सहकारी पीडितले वचत फिर्ताको पहल गरिदिन हारगुहार गरेका थिए । पीडितसँगको भेटमा गृह मन्त्री लामिछानेले मलेसियामा रहेका जीबी राईलाई नेपाल ल्याउने आश्वासन दिएर फिर्ता पठाए । 


 सहकारीको रकम ठगीमा प्रकरणमा लामिछाने समेत पनि मुछिएका छन् । सूर्यदर्शन सहकारीले मात्र १८ हजार सात सय जनाको १ अर्ब ३५ करोड रुपैयाँ बचत अपचलन गरेको प्रहरी अनुसन्धानले खुलाएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ११ करोड रुपैयाँ बिगो माग दावी गर्दै रवि जोगाउँदै उनी बाहेकका सञ्चालक र कर्मचारीविरुद्ध अदालतमा मुद्दा समेत हालेको छ । ठगीका मुख्य योजनाकार कोही ठगेर विदेशमा निष्फिक्री घुमिरहेका छन्, कोही सरकारको जिम्मेवारीमा पुगेका छन् । तर पीडितहरुको मन्त्री र नेताको आश्वासनमै दिन गुज्रिरहेको छ । 


 एकथान मुद्दा चलाउने बाहेक रकम फिर्ता गर्न सरकार र कतैबाट पहल नभएपछि पोखराको सूर्यदर्शन सहकारीसहित इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति गठन गरी ‘वार–पार’को संघर्षमा उत्रिएका छन् ।  सडकमा मकै पोल्नेदेखि ट्याङ्करमा दुध बेच्नेसम्मको सहकारीमा पैसा डुबेको छ । वचतकर्ता यतिबेला खाली हात लिएर सडकमा पुगेका छन् । पछिल्लो समय रकम अपचलन गर्ने रवि–जीवीलाई कारबाहीको माग गर्दै सहकारीबाट ठगिएका सयौं पीडितले पोखराबाट सडक आन्दोलनको घोषणा गरेका छन् । पीडितले जीबी राई नेतृत्वको सहकारीबाट हालका गृहमन्त्री लामिछाने शेयर सदस्य भएको टेलिभिजनमा कानून विपरीत रकम लगेको प्रश्न उठाउँदै आएका छन् । 


 पीडितको समस्या दिनप्रतिदिन ‘उकुज’ पल्टिने अवस्थामा पुगेको छ । ठगिएका कतिपय परिवारले पैसाको अभावमा मृत्यु संस्कारसम्म गर्न नपाएको गुनासो पोख्दै आएका छन् । सहकारीको वचत फिर्ता नपाएका कारण घर खर्च चलाउने उपाए नहुँदा पीडितमा पारिवारिक, सामाजिक, मानसिक समस्या समेत देखिएको छ । कतिपय घरमा आर्थिक समस्या नै झगडाको कारण बनेको छ । पीडितहरु आफ्ना बालबच्चालाई स्कुल पठाउन समेत सकेका छैनन् । दालचामल, सुगर, प्रेसरको औषधि किन्ने समथ्र्य समेत नभएको गुनासो पीडितहरुको छ । 


 यही फेरोमा पीडितले रवि–जिवी लगायतलाई कारबाही गरी रकम फिर्ता पाउनुपर्ने माग राखेर पीडितले २०८१ वैशाख १० गते सोमबार कास्कीको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा पुगेर ज्ञापन पत्र समेत बुझाए । सरकारले नसुनेको भन्दै सहकारी पीडितले एकीकृत आन्दोलन सुरु गरेका छन् । सिडिओलाई ज्ञापनपत्र बुझाउने क्रममा पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’ जस्ता नारा सडकमा घन्काएका थिए । पीडितको दाबी अनुसार पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको छ । सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु भने यतिबेला फरार छन् । उनीहरुलाई शान्ति सुरक्षाको बागडोर सम्हालेका गृहमन्त्री लामिछानेबाटै संरक्षण प्राप्त भएको आरोप पीडितहरुको छ ।


गृहमन्त्री लामिछानेलाई मात्र नभै, पीडितहरुले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई अनेकौंपल्ट समस्याबारे जानकारी गराई सकेका हुन् । तर गुनासो सुन्नुको सट्टा आश्वासन दिएर समस्यालाई पछि धकेल्दै जाने र राजनीतिक रोटी सेक्ने मौकाको रुपमा पीडितलाई उपयोग गर्ने रणनीतिमा लागेपछि पीडितहरु य(ितबेला जुर्मुराएका छन् । एकीकृत रुपमा संघर्ष गर्दा दबाब पुग्ने बताउँदै ६ सहकारीका पीडित बचतकर्ता सशक्त संघर्ष गर्ने  भन्दै एकै ठाउँमा उभिएका छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस