• मंगलबार-जेठ-८-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

सजिलै निचोडमा पुगिंदैन, पुग्न सकिन्न ।
मुलुकको शासकीय प्रणालीले दिने पदचिन्ह र भावीका बारे ।
निचोडको चरमसुख हतारो मात्र हुनेछ, उत्तेजनाको हतारो ।
हामीले ग्रहण गरेको शासकीय पद्धति हाम्रो दुर्भाग्य हुन सक्तैन ।
न त यो हाम्रो नियति नै । 
हामी हाम्रै कृत्रिम मुठभेड आन्दोलनहरुका अनाडी उत्सर्जन हौं ।
कसैलाई दोषाउनुको जरुरत नै छैन ।
छयालिस र बासठ्ठी दुबैलाई सम्झिदा मात्र पनि पुग्छ ।
मुलुकभित्र जन्मिएका जटिलताहरु आज एकाएक आएका नै होइनन् ।
तिनको गर्भाधान हाम्रो अनाडी सहवासको परिणति मात्रै हुन ।
अनाडी सहवास बलात्कार होइन, अल्हडपन मात्रै हो ।
रित्तिंदो पहाडहरुमा डढेलो लागेझैं
मुलुकसित बस्तीमा बस्नलाई प्रजननयोग्य मानिसहरु छैनन् ।
गाउँघरमा प्रजननका लागि त गोरुसम्म पनि छैनन्, न बिहान बास्ने भालेहरु ।
स्त्री प्रजातिका जनावरदेखि रुख बनस्पतिसम्म सबका सब बाँझा छन् ।
सिवाय ‘भिसि’ थाप्ने छौंडाहरु बाहेक ।
पहिला भयानक युद्धमा बहादुरी देखाउनेहरु भिसि थाप्दथे ।
आजभोलि निर्जन बस्तीहरुमा भाउजुहरुसित बहादुरी देखाउनेहरुलाई
भिसि छौंडा बोल्न थालिएको छ ।
धरवास र गाउँघर छोडी हिड्नेहरुले मात्र होइन
शहरका खातापिता जीवन छोडेर हिंड्नेसम्मको लर्कोमा मिसिएर
एक अपरान्ह बिताएर हेर्नुस्, कि
तपाईंलाई यो मुलुक होइन, आप्mनो जीवन दुख्न थाल्नेछ ।
हरेक तीन जनामा एकजना बिल्लीबाँठ हुने गरि ठगिएको छ ।
र, हरेक तीनमा एकजना वर्वाद हुन लामबद्ध छ ।
वर्वाद हुनुमा ती निर्वाण भेट्दछन् ।
मुलुकको संग्लो नश्ल
सबका सब वर्वाद हुनुमा मोक्ष भेट्छ ।
दुरदराजका पहाडमा आनी एकाघरकी जहानलाई बम्बई पठाउन
खोलाको किनारसम्म आइ पुगेको लोग्ने वर्वादीमा मोक्ष भेट्दथ्यो ।
आज हरेक बाजे बोजु एयरपोर्टको नागिसम्म खादा लाएर
छोरी, बुहारी र नातिनीलाई बिदाई गर्दा मोक्ष भेट्दछन् ।
आज हरेक मानिस आप्mनो र बस्तीको वर्वादीमा खुसी छ ।
तर, ऊ मुलुकसित शासकीय स्वरुपको निचोड माग्न तयार छैन ।
मलाई लाग्दछ,
निचोडमा नपुग्न खोज्नु नै वा पुग्न नदिनु नै 
शासकीय प्रणालीको सबभन्दा उत्तम भेद्य हो ।
यसलाई स्वीकार्नु मात्रै पनि यो मुलुकमा बस्नेहरुको विजय उत्सव हो ।
हेर्नुहोला,
इलाम र बझाङ्गको निर्वाचन परिणामले फेरि पनि सबैलाई हिस्स पार्ने छ । 
मुलुकको सार्वभौम सम्पन्न नागरिक आफू वर्वाद हुनुमा नै सर्बोच्चता भेट्छ ।
त्यसैले सजिलै संगतयुक्त र तर्कपूर्ण निचोडमा पुगिदैन भनेको, मैले ।
एकथरि हिजोलाई आदर्श भट्ट्याएर छट्टु स्याल हुन खोजिराख्या छन् ।
अर्काथरि आकाशे आंकडाहरुको बयान पस्केर निदरी गीत सुनाउंछन् ।
सबैथरिलाई यो मुलुक
ठगी व्यवसायको कुमारीत्वमा उपलब्ध छ ।
मलाई त लाग्दछ,
मानिसहरु आफू सिद्धिएर मिल्ने उत्सर्गमा
अभिशप्त होइन, आल्हादित छन् ।
मुलुकको शासकीय प्रणालीसित निर्वाणमा दिनहुँ उपलब्ध हुन्छन् । 
मोक्ष मोड मोडमा र भट्टी भट्टीमा भेटिन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)

 

प्रतिकृया दिनुहोस