• आइतबार-जेठ-६-२०८१

लगानी सम्मेलनमा कुन देशबाट कति सहभागी ?

 

काठमाडौं । २०८१ बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गरिएको तेश्रो लगानी सम्मेलनमा नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आएका लगानी बोर्ड स्रोतले जानकारी दिएको छ । जसअनुसार चीनबाट सवैभन्दा बढी २ सय ६५ जनाले भाग लिएका थिए । छिमेकी मुलुक भारतकबाट १ सय ४३ र अमेरिकाकाबाट ३३ जनाले सहभागिता जनाएका थिए ।


जापानबाट २८, बेलायतका १४, बंगलादेश र युएईका १३÷१३ जनाले लगानी सम्मेलनमा सहभागि भएका छन । यूरोपियन मुलुक जर्मनीका १०, दक्षिण एसिया र अस्ट्रेलियाबाट ९/९ जनाले भाग लिएका थिए । पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५/५ जनाले लगानी सम्मेलनमा भाग लिएको बोर्डले जानकारी दिएको छ । साउदी अरब, फ्रान्स र बहराइनबाट चार–चार जनाले सम्मेलनमा सहभागिता जनाएका थिए । स्वीजरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीन–तीन जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले सहभागिता जनाएका छन । यी बाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायत मुलुकका लगानीकर्ताहरूले पनि लगानी सम्मेलनमा सहभागिता जनाएको बताइन्छ । 


ठुला उद्योगी ३ जना मात्र उपस्थित
लगानी सम्मेलनमा विदेशबाट ७ सय बढी लगानीकर्ताले भाग लिने बताइएको थियो । तर, अपेक्षित रुपमा उनीहरु नेपाल आएनन । सरकारले आयोजना गरेको तेश्रो लगानी सम्मेलनमा अति धनाढ्य अर्थात् अर्बपतिहरूले कमै रुपमा उपस्थिति जनाएको पाइएको छ । 


सरकारले विभिन्न कूटनीतिक नियोगमार्फत २०८० माघ महिनामा नै विश्वका धनाढ्य व्यक्ति एलन मस्क, गौतम अडानी, ज्याक मा, मार्क जुकरवर्ग, जेफ बेजोसलगायतका १७ जना अर्बपतिलाई लगानी सम्मेलनमा सहभागी हुन निम्तो पठाएको थियो । उनीहरूलाई वक्ताकै रूपमा आमन्त्रण पनि गरिएको थियो । तर, ज्याक मा र जेफ बेजोसले भने सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए । अन्य १५ जनाले कुनै जवाफ नपठाएको बोर्ड स्रोतले जानकारी दिएको छ ।


भारतीय अर्बपति गौतम अडानी पनि सम्मेलनमा भाग लिन आएनन् । उनले नेपालका त्रिभुवन विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल र मुगु कर्णालीको १९०२ मेगावाटको जलविद्युत उत्पादनमा लगानी गर्ने चासो देखाएका थिए । तर, ती परियोजना लगानी सम्मेलनको सोकेसमा नपरेकाले लगानी सम्मेलनमा सहभागी नभएको बताइन्छ । उनले अडानी समूहका उपाध्यक्ष जयरमन पुनिधनलाई भने सम्मेलनमा भाग लिन पठाएका थिए ।


 उपाध्यक्ष पुनिधनले २०८१ बैशाख १२–१३ मा भएको हिमालयन हाइड्रो एक्स्पोमा पनि सहभागी भएका थिए । गत पुसमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत भारत भ्रमणमा जाँदा गौतम अडानीसँग भेटवार्ता गरेको र त्यसक्रममा अडानीले लगानी सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि सरकारले उनलाई औपचारिक निम्तो पनि पठाइएको तर, उनी आफैं नआएर उपाध्यक्षलाई पठाएको बुझिएको छ ।


२०८० फाल्गुन २१ गते सत्तासमीकरणमा फेरवदल भएको थियो । योसँगै अर्थमन्त्री परिवर्तन भएको र उनले चाहेको परियोजना सोकेशमा नपरेको कारण अडानी नआएको बताइएको छ । नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकार चिनियाँ निकट भन्ने हल्ला चलेकाले पनि विश्वका ठुला धनाढ्यहरूले लगानी सम्मेलनमा भाग नलिएको हो कि भन्ने चर्चा गर्न थालिएको बोर्ड निकट स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)
 

प्रतिकृया दिनुहोस