नेपाली महिलाहरुको ठूलो चाड तिजको समय नजिकिदै गर्दा मुलुकमा बेग्लै प्रकारको रौनक छाएको छ, चहलपहल बढेको छ । तिजलाई महिलाहरुको विशेष चाडको रुपमा लिइन्छ । तिजमा महिलाहरुले व्रत, उपवास बस्ने गर्छन् र नाँचगान पनि गर्छन् । तिजमा महिलाहरु जम्मा भएर महिलाका समस्याहरु प्रतिबिम्बित हुने खालका गीत गाएर नाँच्ने परम्परा छ । तिजका दिन र ऋषि पञ्चमीका दिन शिवको पूजाआजा र दानदक्षिणा गरेपछि चौरमा जम्मा भएर नाँच्ने चलन धेरै पुरानो हो ।
तिजका दिन उपवास बस्ने चलन भएको र लामो समयसम्म उपवास बस्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकोले त्यसो हुन नदिनका निम्ति तिजको अघिल्लो दिन राति तिजको दिन शुरु नहुँदै उठेर मिठामीठा खानेकुरा बनाएर खाने चलन बसेको हो भन्नेकुरा स्पष्ट छ । त्यसरी तिजको अघिल्लो दिन राति अर्थात् उज्यालो नहुँदै खाना बनाएर खाने कार्यलाई नै दर खाने भनिन्छ । तिजको बेलामा विवाहित चेलीबेटीहरुलाई माइतीहरुले माइतमा बोलाउने र विवाहित चेलीहरुले वर्षमा कम्तीमा एकपटक माइतीहरुसंग भेटघाट गर्ने चलन समेत रहँदै आएको हो । वर्षमा एकपटक माइत जाने अवसर जुटेको बेलामा विवाहित चेलीबेटीहरुमा बेग्लै प्रकारको उत्साह र उमंगको सिर्जना हुने गरेको अवस्था पनि हो ।
यसरी तिज एउटा महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक र सामाजिक चाडको रुपमा रहेको छ । तिजले नेपाली समाजको विशिष्ट प्रकारको सांस्कृतिक र सामाजिक पहिचान बोकेको छ । तर हालका वर्षहरुमा तिजको संस्कृति, संस्कार, परम्परा स्वरुपमा ठूलो परिवर्तन आएको देखिन्छ । तिजको नाममा गरिने उच्छृंखल कृयाकलापबाट हाम्रो पहिचान मासिने र हाम्रो संस्कार, संस्कृतिको मौलिक स्वरुप भत्किंदै जाने स्थिति देखा पर्न थालेको कुरामा स्वयं नारीहरु पनि चिन्तित देखिन्छन् । यस्तो विकृतिले गर्दा नयाँ पुस्ता र भावी पुस्ताले तिजको मौलिकता बारेमा केही थाहा नपाउने अवस्था सिर्जना हुने संभावना बढ्दै गएको छ ।
पछिल्लो समयमा तिजमा झ्याउरे र दोहोरी गीत गाउने चलन बढेको फलस्वरुप तिजको बेलामा तिजका मौलिक प्रकृतिका नाँच र गीत समेत देखिन र सुनिन छाडेका छन् । तिजको समयमा तिजका स्थानीय भाका र लय भएका गीत भन्दा युवायुवती जम्मा भएर उनीहरुका प्रेम सम्बन्धी उच्छृंखल किसिमका गीतहरु गाउने र त्यस्तै अंग हाउभाउ देखाएर युवायुवतीहरु जोडा मिलाएर नाँच्नेसम्मको चलन हुर्किन थालेको छ । अर्कातिर, तिजभन्दा हप्तादिन, महिना दिन अघिदेखि दर खाने भनेर टोल छिमेकका महिलाहरु मिलेर होटेल र पार्टी प्यालेसमा जम्मा भएर रंगिन साँझ बनाएर रमझम बनेर भोज खाने प्रचलन बसेको र बढेको समेत छ । कहिले एउटा समूहको तर्फबाट र कहिले अर्को समूहको तर्फबाट आयोजना गरिने हुनाले एउटै ब्यक्ति वा महिला धेरैपटक यस्ता भोजहरुमा सहभागी हुनुपर्ने र हुने अवस्था सिर्जना भएको छ । यस्ता भोज र नृत्यहरुमा सहभागी हुने सबैले महंगा एउटै रंगका र एकै प्रकृतिका लुगा लगाउने वा लगाउनुपर्नेसम्मको खर्चिलो परम्परा हुर्किंन थालेको समेत छ ।
तिज जनसाधारणको सांस्कृतिक र सामाजिक सद्भाव र मेलमिलापको पर्वबाट खुम्चिएर केही सम्पन्न परिवारका केहि सदस्यहरुको महिनौसम्म दिनैपिच्छे रमाइलो गर्ने पर्वमा परिणत हुँदै गरेको अवस्था अहिले देखा पर्न थालेको त होइन भन्ने आशंका बढिरहेको छ । काठमाण्डौं जस्ता नगर र महानगरहरुमा त तिजले धेरै हदसम्म आफ्नो मौलिक स्वरुप गुमाएको छ र टाठाबाठा र सम्पन्न घरानाका महिलाहरु जम्मा भएर पश्चिमी शैलीको भोजभतेर गर्ने र पश्चिमी नाइटक्लब शैलीका नाँचगान गर्ने नयाँ परम्पराको निर्माण हुन थालेको छ । ठुलाबडाको देखासिकी गर्दै मध्यम र निम्नवर्गका मानिसहरुमा समेत ऋण खोजेर भए पनि भोजभतेरको आयोजना गर्नुपर्ने वाध्यताको सिर्जना हुन थालेको छ । नेपाली संस्कृतिका सबल पक्षहरुलाई सुनियोजित ढंगले कमजोर पार्न आक्रमणको प्रयत्न समेत कतैबाट हुन थालेको त छैन भन्ने आशंका समेत गर्न थालिएको छ ।
यसै सन्दर्भमा सरकारले विज्ञप्ति प्रकाशन गरेर सामाजिक व्यवहार सुधार ऐन २०३३ र सामाजिक व्यबहार सुधार नियमावली २०३३ ले चाडपर्व मनाउंदा पालन गर्नुपर्ने नियमहरुको सम्बन्धमा गरेका व्यवस्थाहरुको जनसाधारणलाई स्मरण गराउने प्रयत्न समेत गरेको देखिन्छ । तर, पछिल्लो समयमा नेपालमा ठुला पदमा रहेका मान्छे, राजनीतिक दलका नेताहरु र ठुला मिडिया संस्थामा आवद्ध व्यक्तिले ऐन कानून पालना नगरे पनि कारवाही नहुने प्रवृत्ति झागिंएको छ । केही समय अघि पूर्व प्रधानमन्त्रीले आयोजना गरेका विवाह भोजले सामाजिक व्यवहार सुधार ऐनको खिल्ली उडाएको चर्चा चलेको थियो ।
ठुलाले कानूनको पालना नगरे पनि, नमाने पनि कानूनी व्यवस्था अनुसार कारवाही नहुने भएपछि कानून गरिब र निमुखाले मात्रै पालना गर्नुपर्ने हो कि भन्ने प्रश्न उठ्छ र कानूनको अघिल्तिर नागरिक समानताको लोकतान्त्रिक मान्यताको उपहास समेत हुन पुग्छ । घटनाक्रमहरुले नेपालमा कानूनी व्यवस्था ठुलाले पालना नगर्ने प्रवृत्ति बढ्दो छ भन्ने देखाउँछन् । तिजको अवसर पारेर सरकारले निकालेको विज्ञप्तिको पालना सरकार र दलका उपल्ला तहका मान्छे र उनीहरुका परिवारका सदस्यले के कति गर्छन् भन्नेकुराले सरकारले देखाउनका निम्ति मात्रै विज्ञप्ति निकालेर झारा टार्ने काम गरेको हो या साँच्चै नै कार्यान्वयन गर्न अघि सरेको हो भन्नेकुरा स्पष्ट पार्न सक्ने देखिन्छ । मौलिक सामाजिक र साँस्कृतिक परम्पराको रक्षाको निम्ति जनसाधारण आफै सचेत हुन सबैभन्दा बढी जरुरी देखिन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)
प्रतिकृया दिनुहोस