काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा कांग्रेस र एमालेवीच अविश्वास सिर्जना गर्ने रणनीति लिन थालेका छन् । जसरी पनि सत्तामा जानुपर्ने मनोविज्ञानमा रहेका प्रचण्डले अहिले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवावीच अविश्वास सिर्जना गर्न सकिए ओलीलाई प्रधानमन्त्रीबाट ओराल्न सकिने बुझाइमा रहेको देखिन्छ । सोहीकारण, प्रचण्डले अनेक खाले अभिव्यक्तिसहित विवाद उत्पन्न गरेको देखिन्छ । २०८२ वैशाख ११ गते विहानको संसदीय दलको बैठकमा पनि प्रचण्डले त्यही कुरा गरेका थिए ।
संसदीय दलको बैठकमा ओली र देउवावीच अविश्वास सिर्जना गर्नका लागि आफू र देउवा टेलिफोन कुराकानी भएको भन्दै सार्वजनिक गरिरहेका छन् । प्रचण्डले सांसदहरुका वीचमा देउवा बैंकक जानुअघि टेलिफोन कुराकानी भएको र आएपछि पनि विशेष कुराकानी गर्ने बताएका थिए । खासमा ती टेलिफोन संवादमा स्वास्थ्यको कुराकानी भएको थियो । तर, त्यसलाई प्रचण्डले भने राजनीतिक संवादसँग जोड्न खोजेका छन् । स्रोतहरुका अनुसार, प्रचण्डले संसदीय दलमा उक्त कुराकानी गरेपछि प्रधानमन्त्री ओली पनि संशकित भने भएका छन् ।
सोहीकारण उनले देउवा बैंककमा भएको बेलामा नै फोनमा कुराकानी भने गरेका थिए । ओलीले देउवालाई फोन गरेर सत्ता गठबन्धनको विषयमा चासो राखेको स्रोतको दावी छ । अहिलेको सत्ता गठबन्धनमा केही शंका देखिएको भने पक्कै छ । कांग्रेसका शीर्ष तहका नेताहरु नै सरकारविरुद्ध बोलिरहेका छन् ।
कांग्रेसको ठूलो पंक्ति विरोधमा देखिनु, सडकमा शिक्षकहरु आन्दोलित भइरहनु, चिकित्सकहरु पनि आन्दोलनमा रहुन, सहकारी पीडित, लघुवित्त पीडितदेखि अनेक समूहहरु आन्दोलनमा रहेका छन् । हुँदाहुँदा गुठीवालादेखि केबलकार विरोधीसम्म सडकमा रहेको अवस्था छ । ती सबै आन्दोलनलाई प्रचण्डले सरकारविरुद्धको मोर्चामा प्रयोग गर्न खोजिरहेका छन् । त्यही बेलामा देउवासँग टेलिफोन संवाद भएको र बैंककबाट फर्केपछि सरकारको विकल्पमा संवाद थाल्ने बताउनुले पनि शंका भने उब्जाएको छ ।
माओवादी नेता वर्षमान पुनले आफूहरु सरकारमा जानुपर्ने हुनसक्छ भन्दै सार्वजनिक अभिव्यक्ति पनि दिइरहेका छन् । यता, शिक्षकहरुको आन्दोलनमा पनि प्रचण्डले घ्यू भने थपिरहेका छन् । सो कारणले पनि समस्याबारे आशंका बढ्न थालेको बताइन्छ । यद्यपि, देउवाले सत्ता गठबन्धन निरन्तर रहने भन्दै बोलेपछि प्रचण्डको सत्ता सपनामा पानी फेरिएको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख १५)
प्रतिकृया दिनुहोस