काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको राजनीतिले तरल अवस्था सिर्जना गरेको छ । अहिले रास्वपामा तीन वटा समूह सक्रिय रहेका देखिन्छ । ती तीन समूहमध्ये को बलियो हुने भन्ने लडाईं पनि तीव्रगतिमा रहेको छ । सभापति रवि लामिछाने गिरफ्तार भएपछि यो तीन समूह टड्कारो रुपमा देखिन थालेका हुन् । लामिछानेको बलमा कार्यवाहक सभापति समेत रहेका डीपी अर्यालको समूह र उक्त समूहको काउन्टरमा उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको समूह रहेको छ ।
यी दुई समूह निकै बलिया र प्रभावशालीमात्र होइन, एकले अर्कोको विकल्पको रुपमा प्रस्तुत गरिरहेका छन् । जुन कुुरा देखिने गरी नै विवाद भइरहेको छ । वाग्लेले अर्याललाई नेता स्वीकार गर्न समस्या हुने र अर्याल भने वाग्लेलाई नेतृत्व दिन नै मान्दैनन् । लामिछाने स्वयम् पनि वाग्लेलाई नेतृत्व दिन मानिरहेका छैनन् । त्यसैले, यी दुई समूहवीचमा भने ‘नेतृत्व कब्जा’कै कुरामा बढी रस्साकस्सी चलिरहेको छ ।
त्यसैले, अहिले अर्याल सक्रिय भएको बेलामा वाग्ले मौनजस्तै बसिरहेका छन् । सार्वजनिक अभिव्यक्तिमा पनि वाग्ले देखिएका छैनन् भने अध्यक्ष लामिछानेको प्रतिरक्षामा पनि उनी उत्रिएका छैनन् । संसदमा सांसदहरुसँग् पनि खासै सम्पर्कमा आइरहेका छैनन् । त्यसैले, वाग्ले र अर्यालको व्यक्तिगत सम्बन्ध पनि खासै गतिलो भने हुन नसकेको चर्चा गरिन्छ ।
यो समूहको लडाईं भने अहिले सुमना श्रेष्ठ प्रकरणले पनि बढाएको छ । श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको विषय कसले सार्वजनिक ग¥यो भन्ने प्रश्न रहेको छ । कतिपयले अर्याल समूहले सार्वजनिक गरेको आरोप लगाएका छन् । केहीले भने वाग्ले समूहले जानाजान सार्वजनिक गरेको चर्चा छ । सुमनालाई वाग्ले समूहको नेताको रुपमा पनि हेर्ने गरिन्छ । तर, कतिपयले भने सुमना खासमा वालेनको मान्छे पनि भन्छन् । वालेनकै समूहबाट सुमना र गणेश कार्कीको समूह रास्वपा आएको बताइन्छ ।
तर, पहिले सुमना कता छिन् ? भन्ने प्रश्न भएपनि पार्टीभित्र भने वाग्ले समूहसँग नजिक रहेको बताइन्छ । त्यसैले, यो समूहले भने अर्याल समूहले राजीनामा सार्वजनिक गरेर अप्ठ्यारोमा पार्न खोजेको बुझाइमा रहेको पनि स्रोतको दावी छ । स्रोतका अनुसार, सुमनाले राजीनामा फिर्ता लिने बताइसकेकी थिइन् । त्यसैले राजीनामाबारे बाहिर हल्ला नगर्ने अनौपचारिक सहमति भएको थियो ।
तर, कतिपयले भने अर्को तेस्रो समूहले यो मुद्दा सार्वजनिक गरेको चर्चा भइरहेको छ । स्रोतका अनुसार, पूर्वमहामन्त्री मुकुल ढकालनिकट रहेका रास्वपाका नेताहरुले यो राजीनामा सार्वजनिक गराएको दावी पनि गरेका छन् । पार्टीभित्र सानो समूह रहेको पंक्तिले वाग्ले र अर्याल समूहको विवाद बढाईदिने पनि सार्वजनिक गरेको स्रोतको दावी छ ।
जुन पक्षले सार्वजनिक गरेको भएपनि सुमनालाई अप्ठ्यारोमा भने पारेको छ । र, वाग्ले समूह पनि अप्ठ्यारोमा पर्न थालेको छ । यो समूहका नेतामा सुमनासहित शिशिर खनाल पनि रहेका छन् । कतिपयले तोसीमा कार्कीलाई पनि मान्ने गरेका छन् । तर, तोसीमा कार्कीलाई भने दुवै समूहले अविश्वासी सांसदको रुपमा लिने गरेका छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १५)
प्रतिकृया दिनुहोस