सडक ‘आन्दोलन’ले जेपनि माग पूरा हुन्छ भन्ने ‘भ्रमपूर्ण, भेँडो र अराजक सोच’को विकास भएका कारण ‘शिक्षक’ सडकमा आए । हिँसामा उत्रिए । डाक्टर आए । अरु बहाना खोज्दैछन् । साँचो कुरा चाहिँ आन्दोलन र विरोधको सीमा हुन्छ । राजतन्त्रवादीको ‘अराजक लुटपाट’ जस्तै सीमा नाघेपछि ‘आन्दोलन’ले घुँडा टेक्नुपर्दछ । सहकारी र विभिन्न खालका ठग–अपराधी नै सडक र सामाजिक सञ्जालको दुरुपयोगको बलमा राजनीतिक नेतृत्वमा आएर ‘नेता’ बन्न खोज्दैछन् । जनताले जनताको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक स्वतन्त्रता तथा अधिकार स्थापनाका लागि ल्याएको लोकतान्त्रिक–गणतान्त्रिक प्रणालीमा पलाएका ‘मकैका कालोपोके’ जस्ता विषवृक्षले प्रणाली प्रदूषित पार्दैछन् । ठग र अपराधीहरूले नागरिक नियन्त्रण भएको गणतन्त्र ‘चोरको व्यवस्था’ जस्तो बनाउन खोजे ।
लोकतन्त्रमा बोल्न र विरोध गर्न पाइन्छ । तर, त्यसको पनि सीमा चाहिँ हुन्छ । सीमा नाघेर बोल्ने अधिकार कसैलाई छैन । व्यवस्थामा सुधार र आवश्यक परिवर्तनको माग गर्न सकिन्छ । व्यवस्था नै बदल्न सकिन्न । अमेरिकामा पनि संघीय गणतन्त्रको विरोध गर्न पाइन्न । भारतमा गणतन्त्र भारत, संविधान र भारतीय लोकतन्त्रको विरोध गर्नेले बन्दुक बोकेर मैदानमा उत्रनु पर्दछ ।
नक्सलाइट, माओवादी र अतिवादी त्यस्ता समूहले बन्दुकको आन्दोेलन गर्दैै आएको भए पनि हालसम्म एउटा जिल्ला पनि कब्जा गर्न सकेका छैनन् । खरानी हुने मात्र हो । एउटा पनि निर्वाचन रोक्न सकेका छैनन् । चीनमा जनवादी गणतन्त्रको विरोधमा उत्रिएका विद्यार्थीलाई सन् १९८९ मा बेइजिङको तेयानमेन स्क्वायरमा डोजर लगाएर मारियो । नेपालको लोकतन्त्रले विरोध गर्न बढी नै छुट दिएको छ । त्यसको पनि सीमा नाघेपछि कडाइ हुन्छ, हुन्छ । लोकतन्त्रमा बोल्न पाइन्छ भन्नुको अर्थ जति पनि सीमा नाघेर गणतन्त्रविरूद्ध बोल्न र हर्कत गर्न पाइन्छ भन्ने कुनै राजावादी र प्रतिगामीले ठान्दछ भने खरानी हुने बाटो मात्र हो । लोकतन्त्रको बढी नै दुरुपयोग गरियो । सामाजिक सञ्जालको दूरुपयोग अति धेरै बढेको छ । युट्युबरका झुट्ठा र फट्याइँपूर्ण हर्कतले समाज भ्रमित मात्र बनेका छैनन् राज्यसत्ता, नेता, सरकार, प्रणाली जतापनि जसले जस्तोसुकै अराजक, गैरकानूनी आक्षेप लगाउन पाउने जस्तो वातावरण निर्माण गरियो, गरिँदैछ ।
समाजमा गलत भ्रम, कुप्रचार, अनावश्यक हल्ला, झुट्ठा प्रचार र अफवाह फैल्याएर निहित स्वार्थसिद्ध गर्ने तत्व बढेका देखिन्छन् । बैँकको अरबौँ रकम नतिर्न र बजारको करोडौँ ठगी खानको लागि सञ्चारमाध्यमको दुरुपयोग गरी ‘राजा ल्याउने’ हावा कुरा गर्दै सडकमा आएका ठग र अपराधीको पछाडि लागेर नारा लगाउने सबै मूर्ख हुन् । प्रिपेयड वा पोस्टपेड जस्ता देखिन्छन् । आफूलाई देशको स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नागरिक होइन, पराधिन, नोकर, ‘दास र रैती नागरिक बनाइदेउ’ भन्दै ‘राजा’ ल्याउने कुरा गर्नेहरू ‘जुठो खाने नोकर’ मात्र हुन् । अब तिनले कराएर नेपालमा कुनै राजा आउने होइन ।
आफू बाहेक सबैलाई ‘चोर’ र ‘निकम्मा’ भन्ने, देखाउने प्रवृत्ति प्रतिगामीले समाजमा फैल्याएका छन् । सहकारी ठगी, गैरकानुनी हर्कत, धन्दा गर्ने, भ्रष्टाचार र लुट मच्चाउने अनि लुक्न र छोपिन राजनीतिक दल र सत्ताको जामा पहिरने प्रवृत्ति बढेको छ । नयाँ भनिएका दल र नेताबाट त्यो कुरा देखियो ।
गणतन्त्र बद्नाम र धमिलो बनाएर अपराधी बच्न सक्दैनन् । आफू पानीमाथिको ओभानो भएर ‘सच्चा र चोखो’ देखाउँदै ‘ठूलो बन्ने’ प्रवृत्तिले लोकतन्त्रको बद्नाम ग¥यो । लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र राज्यसत्तालाई बद्नाम गरेर लुट्न पल्केका राजतन्त्रवादीहरू ‘कोको रहेछन्’ भनेर यो लेखक स्वयम् कोटेश्वर–तीनकुने चोकमा गएको थियो । त्यहाँ पञ्चायतमा गन्हाएका, भ्रष्ट, ठग, लुटेरा र अपराधीहरूको बाहुल्यता देखिन्थ्यो । तिनको मुहारमा नेपालमा कहिल्यै अब ‘राजा’ आउला भन्ने थिएन । रुखको छहारीमा बसेर ती राजतन्त्रवादीहरूको ‘सिजनेबल चैते प्रवृत्ति’को खिल्ली उडाउँदै गफिएका देखिन्थ्ये । केवल आफूलाई छोप्न र ढाक्न तिनीहरू लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक नेतृत्व तथा सिङ्गो संवैधानिक–राजनीतिक प्रणालीको विरोधमा आएको प्रस्ट झल्किन्थ्यो ।
कसले, कसरी, कुन संविधानअन्तर्गत पूर्व राजा ज्ञानेन्द्र शाहलाई अब राजा बनाइदिने हो ? त्यस्तो अधिकार कसलाई कसले दिएको छ ? राजतन्त्रवादीहरू आफैँ अलमलमा छन् । राजतन्त्रवादीहरुबीचमा मतऐक्य पनि छैन । अहिले तीनकुने लुटपाटले राजतन्त्रवादीको मोरल डाउन भएर दुलो पसेका छन् । अब पुनः ज्ञानेन्द्र ‘राजा’ बन्दछन् भन्ने कुरामा कसैलाई विस्वास छैन । त्यो सम्भव हुने कुरा पनि होइन । संवैधानिक, कानूनी र राजनीतिक कुनै पनि तर्क तथा आधारबाट अब नेपालमा कुनै पनि प्रकारको राजतन्त्र फर्किन सक्दैन । संसदमा राप्रपाको जम्मा पाँच प्रतिशत मत छ । गत उपनिर्वाचनमा राप्रपा शून्य थियो । भर्खरै देशभर भएको स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रवादीको पक्षमा युवा र विद्यार्थी नभएको प्रष्ट गरिदियो । नेपाल बारको निर्वाचनमा राजतन्त्रवादी कतै देखिएनन् ।
लोकतन्त्र निर्विकल्प
भूराजनीतिमा हेर्ने हो भने लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हो भन्ने इतिहासले पुष्टि गर्दै आएको छ । सामाजिक न्यायमा आधारित लोकतन्त्र आजको अपरिहार्य प्रणाली हो । लोकतन्त्रमा जनता र नागरिकका चाहना तीव्ररूपले प्रकट हुन्छन् । लोकतन्त्रमा मात्र नागरिकले पाइलापाइलामा प्रश्न गर्न सक्दछन् ।
लोकतन्त्रमा मात्र नेताले जनतालाई जवाफ दिनु पर्दछ । राजतन्त्रमा कसैले जवाफ दिनु पर्दैन । राजनीतिक विषयमा बोल्ने र विरोध गर्न पाउने अधिकार लोकतन्त्रमा मात्र हुन्छ । लोकतन्त्रमा प्रत्येकलाई आफ्ना आवश्यकता र हितमा बोल्ने, माग गर्ने र आवाज उठाउने हक एवम् अधिकार हुन्छ, छ । आफ्ना आवाज उठाउने र माग गर्ने नाममा देशका ठग, राजश्वमारा र अपराधीहरू नै चर्का कुरा गर्नाले लोकतन्त्रमा सामान्य नागरिकलाई भ्रम प¥यो ।
राजनीतिक स्वतन्त्रताको दुरुपयोग गर्ने र आफूलाई मन नपरेको जो कसैलाई जस्तोसुकै प्रकृतिको गम्भीर आरोप–आक्षेप लगाउने संस्कृति बढाइएको भरमा अब कुनै मानिसलाई अनिर्वाचित भएर ‘राजा’ भन्दै नागरिकले किन पाल्ने ? लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त भएका राजनीतिक स्वतन्त्रतालाई अझबढी पारदर्शी, जनपक्षीय र उत्तरदायी बनाउनु पर्दछ । समाजलाई अग्रगति दिने र दिशानिर्देश गर्ने भनेको राजनीतिक नेतृत्व, सरकार तथा नागरिक समाजका अगुवा आदिले हो । राजनीतिमा मूल्य र नैतिकताको संस्कृति ध्वस्त बनाउन पाए ‘राजा’ आउथ्यो कि भन्ने भ्रम प्रतिगामीलाई भएको हुन सक्दछ । तर, नेपाली जनताले लोकतन्त्र र नागरिक स्वतन्त्रताको उपभोग गरिसकेका छन् । उद्देश्यहीन, दिशाहीन, लक्ष्यहीन र दृष्टिकोणविहीन नकारात्मक आव्रmोस भएको भीडले समाजको परिवर्तनमा कुनै भूमिका खेल्न सक्दैन ।
आन्दोलनको सीमा
नेपालको राजनीतिक इतिहासमा त्यस्ता धेरै ठूला जुलुस, धर्ना र विरोध सभा भइसकेका छन् । कुनै भीड र जुलुसले मात्र राज्य सत्ता परिवर्तन गर्न सक्दैन । एउटा सरकार परिवर्तन गर्न पनि भीडले सक्दैन । २०६४ सालमा माधव नेपाल दुई ठाउँबाट निर्वाचनमा पराजय भएपछि उनलाई मनोनित सांसद बनाएर लगियो । २०६५ सालपछि उनै नेता नेपाल प्रधानमन्त्री भए । त्यसपछि तिनै राजतन्त्रवादीले भनेको जस्तो माओवादीले काठमाडौँ बाहिरबाट लाखौँ मानिस ल्याएर काठमाडौँको सिंहदरबारको चारतर्फ घे¥यो ।
सात दिनसम्म सडकमा नै बस्यो । दिनरात सडकमा नै सुते । तर, पनि माधव नेपालको सरकार हल्लिएन । सात दिनपछि जुलुस ल्याउने माओवादीको आन्दोलनको सीमा समाप्त भयो । उनीहरू आफैँ हार खाएर सडकबाट साइड लागे । अराजक, प्रतिगामी र प्रणालीविरोधीको हालत त्यस्तै हो । आन्दोलनको नारामा सडकका आएर अराजक प्रदर्शन गरेपछि जस्तोसुकै माग पूरा हन्छ भन्ने कुरा अबुझहरूको भेँडो बुद्धि मात्र हो । आन्दोलन र विरोधको सीमा हुन्छ । सीमा नाघेपछि सबैको शक्ति समाप्त हुन्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
प्रतिकृया दिनुहोस