• सोमबार-जेठ-५-२०८२

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

 

काठमाडौँ  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ ।

 

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताउनुभयो ।

 

समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतया : कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुश्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।”

 

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गर्नुभयो । महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।
 

प्रतिकृया दिनुहोस