काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेललाई राजीनामा दिन कर्मचारीहरुले दवाव दिंदै आन्दोलनमा उत्रिएका छन् । खानेपानी लिमिटेडमा कार्यरत कर्मचारीहरुले सामूहिक सौदाबाजी समिति गठन गर्दै २०८२ जेठ १ गतेदेखि ९ बुँदा राखेर पौडेलको राजीनामा गर्दै आएका छन् । उनीहरुले केयूकेएल परिसरमा नौ बुँदे मागसहितको व्यानर टाँगेर आन्दोलन चर्काएको बताइन्छ । सो आन्दोलनमा पाँच वटा ठुला र सक्रिय ट्रेड युनियनहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।
केयूकेएल सञ्चालन, व्यवस्थापनमा कुनै प्राविधिक ज्ञान, अनुभव र कुशल व्यवस्थापनको क्षमता नभएका पौडेलबाट केयूकेएलमा प्रगति हुन नसक्ने र आर्थिक रूपमा धरासायी हुँदै गएको गुनासो कर्मचारीहरुले गरेका छन । कर्मचारीहरूको हकहित र अधिकार, वृत्ति विकासमा असर पर्ने गरी पौडेलल केयूकेएल सञ्चालन गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको जानकारी कर्मचारीहरुले दिएका छन । केयूकेएलका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको व्यानरमा सिईओ पौडेलको राजीनामासहित ९ बुँदे माग प्रस्तुत गरेका छन ।
०८१ जेठ ४ गते भएको ३२ बुँदे सहमति व्यवस्थापनपक्षले कार्यान्वयन नगरेकोले आन्दोलनमा उत्रिनु परेको गुनासो कर्मचारीहरुले गरेका छन् । केयूकेएलमा कार्यरत कर्मचारीहरुको हक हितमा गठित सामुहिक सौदाबाजी समितिले प्रमुख कार्यकारी अधिकृत पौडेलको पद मुक्त किन ? भन्ने व्यहोरासहितको व्यानर त्रिपुरेश्वर परिसरमा टाँसेर आन्दोलन गर्दै आएका छन् । कम्पनीको संस्थागत हकहित तथा कर्मचारीको वृत्ति विकास सम्बन्धी अघिल्लो वर्ष २०८१ जेठ ४ गते संस्थापन पक्ष र आधिकारिक ट्रेड यूनियन अर्थात सामूहिक सौदाबाजी समितिबीच ३२ बुँदे सहमति भएको थियो ।
उक्त सहमति कार्यान्वयन नगरिएको, कम्पनीको संस्थागत, नीतिगत तथा संरचनागत सुधार गर्न बर्तमान नेतृत्व असफल भएको आरोप कर्मचारीले लगाएका छन । केयूकेएललाई अधिकार सम्पन्न एकल संरचना, उपभोक्ता वर्गमा छिटो छरितो, सर्वसुलभ तथा प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको भन्दै पौडेलको राजीनामा माग गरिएको छ । कम्पनीको क्षमता विकास गरी व्यवसायिक कम्पनीको रुपमा सञ्चालन गराउन, संस्थागत करारबाट अर्थात् ठेकेदारी प्रथाबाट एकदेखि तीन तहको जनशक्ति लिने नीति खारेज गर्नुपर्ने माग नेतृत्वसमक्ष गरिएको छ ।
कम्पनीको दक्ष जनशक्ति व्यवस्थापन, मेलम्ची आयोजनाबाट उपलब्ध हुने खानेपानी समानुपातिक रुपमा वितरण, मेलम्ची खानेपानी व्यवस्थापनको लागि सरकारले गरेको लगानीको प्रतिफल सुनिश्चित, आयोजना कार्यान्वयन निर्देशनालयबाट उपभोक्ताको घरमा जडान हुने नयाँ धारा तथा मिटर जडानमा सहजीकरण गराउन पनि कर्मचारीले जोड दिएका छन । मिटर जडान तथा रिडिङ्ग कार्यलाई प्रभावकारी बनाई महशुल संकलन वृद्धि गराउन आन्दोलन गर्नु परेको सामुहिक सौदाबाजी समिति स्रोतले जानकारी दिएको छ ।
केयूकेएलको आन्दोलनको अग्रभागमा क्रियाशील र ठुला ट्रेड युनियनका नेताहरू गोपाल सिंह धामी, नवलसिंह साउद, केशव अधिकारी, पुष्कर नेपाल, दिलकुमार तन्डुकार देखिएका छन् । आन्दोलनलाई उप–कार्यकारी निर्देशक ज्ञानेन्द्र बहादुर कार्कीको अप्रत्यक्ष सहयोग र समर्थन रहेको स्रोतको दावी छ । प्रबन्धक प्रकाश कुमार राई भने खुलेरै पौडेलको राजीनामाको पक्षमा आन्दोलनमा सहभागी हुँदै आएको बताइन्छ ।
एकदेखि तीन तहसम्म ठेकेदार कम्पनीमार्फत कर्मचारी राखेर काम गरिरहेका कर्मचारी विनाकारण हटाउँदा व्यवस्थापन पक्षको बचाउ गर्दै आएको सामुहिक सौदाबाजी समितिले यतिखेर आन्दोलनको लागि त्यही बुँदालाई मुख्य मागका रुपमा प्रस्तुत गरेको स्रोत बताउँछ । अघिल्लो पटक पनि आन्दोलन गरेर तत्कालीन सिईओ मिलनकुमार शाक्यलाई हटाउन कर्मचारीहरुले यिनै माग प्रस्तुत गर्दै बिरोधमा उत्रिएका थिए । व्यवस्थापन परिवर्तन भएपछि लगत्तै पहिलो निसानामा बिरोध र धर्नामा बस्ने कर्मचारीहरुलाई तारो बनाएको थियो ।
करारका कर्मचारीहरुलाई आन्दोलनमा उतारेर आफ्नो अभीष्ट पूरा गर्ने खेल केयूकेएलका कर्मचारी युनियनले पुन दोहो¥याएको आरोप खेप्दै आएका छन् । यही कारण पुन पुरानै सोही खेल दोहोरिने त होइन भनेर कर्मचारीको बिचमा चासो बढेको बताइन्छ । केयूकेएलमा २५ वर्षदेखि कर्मचारीहरु करारमा कार्यरत रहँदै आएका छन् । वर्षमा दुई पटक उनीहरूको करार म्याद थप गरिने गरेको स्रोतले दावी गरेको छ । करारमा काम गरेको अवधि जोडेर स्थायी गर्नेतिर व्यवस्थापन पक्ष र आधिकारिक ट्रेड युनियनको ध्यान नगएको पीडितहरुले गुनासो गरेका छन ।
सिईओ पौडेलको नियुक्तिसँगै केयूकेएलका भ्रष्टाचार बढेको आरोप कर्मचारीहरुले लगाएका छन् । जसले गर्दा संस्थालाई धरासायी बनाउने चलखेल बढेको आरोप पनि कर्मचारी युनियनका नेताहरुले लगाएका छन् । मन्त्री प्रदिप कुमार यादवले सिईओ पौडेललाइ हटाउन आगामी दिनमा के कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने विषयमा कर्मचारीले चासो देखाएका छन् । मन्त्री यादवको आशीर्वाद पाएको केयूकेएल कर्मचारीहरुको सामुहिक सौदावाजी समितिले सिईओ हटाउन निरन्तर आन्दोलन चर्काउलान् भन्ने प्रश्नसमेत उठने गरेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ ५)
प्रतिकृया दिनुहोस