• शनिबार-जेठ-३१-२०८२

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ : कूटनीति मात्र होइन, आत्मवृत्तान्त पनि...!

 

धनकुटा क्याम्पसका पूर्वप्रमुख,  संस्थापक तथा अध्यक्ष रहनुभएका मेरा आदरणीय भेनाज्यू नारायण जोशीले पुस्तक ‘कूटनीतिक डायरी’ पढेर प्रतिक्रिया दिनु भनेपछि यो समीक्षा लेख्ने दुस्साहस गरेको हुँ । पुस्तकको नाम हेर्दा सुरुमै मलाई कूटनीतिक विषयमा मात्र आधारित होला भन्ने लागेको थियो । तर, पढ्दै जाँदा यो त राजेश्वर आचार्यको विस्तृत आत्मवृत्तान्त नै रहेछ । नेपाल राष्ट्र बैंकमा नियुक्तिको फोटोसम्म संलग्न छ । आत्मीयता र संस्मरणहरूमार्फत पुस्तकले उनलाई गहिरोसँग चिन्छ ।


राजेश्वर आचार्य चीनका लागि नेपाली राजदूत (विसं २०५५ कात्तिक १ देखि २०५९ माघ १५) रहँदा देखेका, भोगेका, अनुभूत गरेका प्रसङ्गलाई पुस्तकमा सजीव ढंगले प्रस्तुत गरेका छन् । चीनसँग नेपालको सम्बन्ध, कूटनीतिक अभ्यास, शिष्टाचार, राज्य संयन्त्रको कार्यशैली, दुई देशबीचका सम्झौता तथा सम्वाद—सबैको वृत्तान्त पुस्तकमा पाइन्छ ।


पूर्वराजदूत आचार्यले ‘कूटनीतिक डायरी’ २०७९ मा, विपी कोइराला स्वदेश फर्किएको दिन पारेर विमोचन गरेका हुन् । यसबाट उनको विपीप्रतिको निष्ठा, आदर र उनको नीतिप्रति दृढ विश्वास प्रष्ट हुन्छ । पुस्तकमा उनले प्रजातन्त्र, समाजवाद र राष्ट्रियता–विपीले अङ्गिकार गरेका नीति र सिद्धान्तप्रति गहिरो प्रतिबद्धता देखाएका छन् । चीनजस्तो शक्ति राष्ट्रमा नेपाली कांग्रेसको सरकार हुँदा राजदूत बन्नु आफैमा चुनौतीपूर्ण हो । तर, आचार्यले जिम्मेवारीका साथ त्यो भूमिका निर्वाह गरेको पुस्तकले देखाउँछ । उनीसँग मेरो व्यक्तिगत सम्बन्ध विसं २०३२ तिर सुरु भएको थियो, जब उनी जागिरबाट हटेका थिए । ईन्द्रचोकका वीरेन्द्र भक्त, साहना प्रधान आदिसँग देखिन्थे । पछि भेटघाट पातलिंदै गयो होला, तर, उनीप्रतिको मेरो सम्मान कहिल्यै हराएन ।


पुस्तकमा चीनबारे उनका गहिरो अनुभव समेटिएका छन् । ‘राति व्यक्ति सुत्छ, तर सरकार सुत्दैन’ भन्ने चिनियाँ शैलीको व्याख्या सन्देशमूलक छ । चीनको “ल्ष्उ ष्ल तजभ द्यगम” नीति–समस्या बढ्न नदिनु–प्रति उनले चाखलाग्दो टिप्पणी गरेका छन् ।


राजदूतहरूबीच भएका संवादको टिपोट राख्ने र त्यसलाई क्रमिक रूपमा कार्यान्वयनमा लैजाने चीनको नीति उनले सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । चिनियाँ विकास र योजनाको अनुशासनात्मक पाटो बुझ्न यस पुस्तक उपयोगी छ ।


कृतिमा ‘एक चीन नीति’, माओको उदय, माओपछिको देङ युग, चिनियाँ राष्ट्रपति जियाङ जमिन समक्ष ओहोदाको पत्र बुझाउँदाको प्रसङ्ग, स्याफ्रुबेंसी नाका र पारवहन सन्धिको मस्यौदा लगायत नेपाल–चीन सम्बन्धका बहुआयामिक पक्षहरू समेटिएका छन् । मङ्गोलिया र उत्तर कोरियासँगको अनुभवसमेत उनले उल्लेख गरेका छन् ।


राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानमन्त्री झु रुङ्जीको नेपाल भ्रमण, आर्थिक कूटनीति, नेपालको माग गर्ने प्रवृत्ति (मगन्ते प्रवृत्ति), चीनको सार्वजनिक यातायात, अनुसन्धान तथा शिक्षा प्रणाली, समयको कडाई, शिष्टाचार आदि पक्षहरूमा पनि उनले सशक्त टिप्पणी गरेका छन् ।


पुस्तकमा उल्लेख भएको राजा वीरेन्द्रसँगको “सी–वाक थ्रुनेल’’ सम्बन्धी सम्भावनाले इसिमोडले सन् १९९२ मा युएनडीपीको सहयोगमा गराएको प्रारम्भिक अध्ययन सम्झाउँछ । बोआओ सम्मेलनमा राजा वीरेन्द्रलाई ५–७ मिनेटमात्रै बोल्न समय दिइएको प्रसंग चाहिनेभन्दा बढी लम्बिएको अनुभूति हुन्छ । दरबार हत्याकाण्डबारे ‘अपशकुन’ शीर्षकमा ट्रे चर्किएर फुटेको प्रसंग रोचक भए पनि आवश्यक थिएन कि भन्ने पाठक अभिमत हुनसक्छ ।


पुस्तकमा अध्यायका रूपमा संरचना तोकिएको भए तापनि त्यसमा केही मिलानको कमी देखिन्छ । अध्याय २ मा उच्चस्तरीय भ्रमणहरूको विवरण, अध्याय ३ मा चिनियाँ मित्रहरूको सूची, अध्याय ४ मा पारिवारिक संघर्ष र ५ मा प्राध्यापन पेशामा आएको अवरोध उल्लेख छन् । अनुसूचीमा राजदूत नियुक्तिको कागजात पनि छ ।


पुस्तकको लेआउट भने विषयवस्तुको स्तरअनुसार आकर्षक देखिँदैन । भेटघाटका तस्बिरहरू छन्, तर तिनको प्रस्तुति अझ परिस्कृत हुन सक्थ्यो । डिजिटल युगमा अडियो संस्करण वा अनुवाद संस्करण उपलब्ध भए, यसले पुस्तकको पहुँच र उपयोगिता दुवै बढाउँथ्यो ।


चीनसँग भारतबारे चीनको दृष्टिकोण र त्रिपक्षीय सम्बन्धको पक्ष पनि केही उल्लेख भए सन्दर्भ अझ समग्र हुने थियो । नेपालको नयाँ नाका सम्बन्धी विषयमा भारतले देखाउने चासोको उल्लेख उनले गम्भीर ढंगले गरेका छन् । छिमेकीको संवेदनशीलता बुझेर राष्ट्रिय हित जोगाउनु नेपालजस्ता साना मुलुकको आवश्यकता हो भन्ने सन्देश पुस्तकभर छरिएको छ ।


राजेश्वर आचार्यले राष्ट्रहितलाई केन्द्रमा राख्दै छिमेकीसँग सन्तुलन कायम गर्नुपर्ने कुरा पुस्तकमा स्पष्ट अभिव्यक्त गरेका छन् । चीनजस्तो मुलुकबाट कस्तो प्रकारको अनुशासन, लगनशीलता र परिणाममुखी काम शैली सिक्न सकिन्छ भन्ने पक्षमा पनि पुस्तक शिक्षाप्रद छ ।


३३१ पृष्ठको पुस्तक पढ्दा कतै पनि उनले कुरा लुकाएका छैनन् । बरु केही प्रसंगहरू अत्यन्त विस्तृत छन् । पाठकको समय र रुचिलाई ध्यानमा राखी खण्डहरूमा केही संक्षेपिकरण गरिएको भए अझ राम्रो हुन्थ्यो । तर, समय हुने, कूटनीतिमा चासो राख्ने र नेपाल–चीन सम्बन्ध बुझ्न चाहने पाठकका लागि यो पुस्तक अत्यन्त उपयोगी छ ।


राजेश्वर आचार्यलाई व्यक्तिगत रूपमा बुझ्न, नेपालको परराष्ट्र नीति र चीनसँगको सम्बन्धको अन्तर्बार्ता जान्न चाहने पाठकका लागि ‘कूटनीतिक डायरी’ पठनीय र संग्रहणीय पुस्तक हो । लेखकले कुनै प्रसंगमा कन्जुस्याइँ गरेका छैनन् । पुस्तकले उनलाई केवल कूटनीतिज्ञ होइन, एक प्रतिबद्ध, आत्ममूल्यांकन गर्ने, नीतिनिष्ठ व्यक्तित्वका रूपमा चित्रण गर्छ । राजदूत आचार्यलाई बधाई र शुभकामना ! (साँघु साप्ताहिक, २०८२ जेठ २६)
 

प्रतिकृया दिनुहोस