नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीद्वारा लिखित “नेपालको नोभेम्बर क्रान्ति”को तेस्रो संस्करण २०८० मा प्रकाशित हुनु आफैंमा सो पुस्तकको गरिमा, उपयोगिता र पठनीयता प्रमाणित गर्ने विषय हो । रामहरि जोशी प्रतिष्ठानका अध्यक्ष तथा मेरा मित्र बद्री मास्केले धेरैपटक पुस्तकबारे केही लेखिदिन आग्रह गर्दा पनि म आफैं आर्थिक क्षेत्रको व्यक्ति भएकोले इतिहास र राजनीतिबारे लेख्न, टिप्पणी गर्न वा समालोचना गर्नु उपयुक्त नलागी टार्दै आएको थिएँ । तर, जब यो पुस्तक हात प¥यो, केही लेख्ने धृष्टता गरेको छु । जोशीको शतवार्षिकीको अवसरमा केही लेख्ने मनस्थितिले पनि मलाई प्रेरित ग¥यो ।
निष्ठाका पर्यायवाची रामहरि जोशीको पुस्तक “नेपालको नोभेम्बर क्रान्ति” भर्खरै हात प¥यो । यद्यपि आद्योपान्त अध्ययन गर्न नसके पनि सरसरी हेर्दा यो पुस्तक ऐतिहासिक दस्तावेजको रूपमा रहेको बुझिन्छ । यसको पहिलो प्रकाशन २०४८ सालमा भएको हो भने दोस्रो संस्करणमा सन्त नेता कृष्णप्रसाद भट्टराईले “पुस्तक बारे” शीर्षकमा भूमिका लेखेका छन् । तेस्रो संस्करण २०८० सालमा रामहरि जोशी प्रतिष्ठानद्वारा प्रकाशित २४० पृष्ठको यस पुस्तकको मूल्य रु. ५५० निर्धारण गरिएको छ । सामग्री, प्रस्तुतिकरण र प्रकाशन दृष्टिकोणबाट यो पुस्तक अत्यन्तै सान्दर्भिक लाग्छ ।
रामहरि जोशी आफैले ‘दुई शब्द’ शीर्षक अन्तर्गत लेखेका छन् :
“...यी सबै कुराहरुलाई आना अतीतका स्मृतिहरू सिता गाँसेर संस्मरणको रूपमा प्रस्तुत गर्न खोजेको छु ।”
यो अभिव्यक्तिले पुस्तक संस्मरणात्मक कृति हो भन्ने पुष्टि गर्छ । घोस्ट राइटर कमल ढकालले “सङ्ग्रह गर्नैपर्ने” शीर्षकमा लेख्दै पुस्तक नोभेम्बर महिनामा सुरु भएकाले “नोभेम्बर क्रान्ति” नामकरण गरिएको बताएका छन् । मेरा मित्र बद्री मास्केले “तपाईंले रोपेको गुण कहिल्यै मर्न दिने छैन” शीर्षकमा–जोशीप्रति श्रद्धा प्रकट गर्दै–“तपाईंको सादगी जीवन, सदाचार, शिष्टता र सराहनीय कामहरू यसैगरी खोजेर प्रकाशन गर्नेछौं” भन्ने प्रतिबद्धता व्यक्त गर्नु, गुरुप्रतिको सच्चा श्रद्धाञ्जलि हो ।
परिशिष्ट २ मा सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मित्रता सम्बन्धी सम्झौतासमेत समावेश गरिएको छ, जुन ऐतिहासिक प्रमाणको रूपमा उपयोगी छ । अर्को परिशिष्टमा नेपाली कांग्रेसको गठन, जोगबनीमा १० अप्रिल १९४७ मा मातृका प्रसाद कोइरालाको नेतृत्वमा भएको विवरण उल्लेख छ, जसले कांग्रेसको प्रारम्भिक उद्देश्य र पृष्ठभूमि बुझ्न सहयोग पु¥याउँछ ।
सन् १९५० को नोभेम्बर महिनामा नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिको परिणतिका रूपमा श्री ५ त्रिभुवनद्वारा गरिएको शाही घोषणामा “जनताले निर्वाचित संविधान सभाले तर्जुमा गरेको संविधानका आधारमा पूर्ण प्रजातान्त्रिक सरकार गठन गरिने” प्रतिबद्धता त्यस क्रान्तिको प्रमुख उपलब्धि भएको जोशीले लेखेका छन् ।
नोभेम्बर १०, १९५० मा काठमाडौंमा भएको जनक्रान्तिको वृत्तान्त पुस्तकमा उल्लेख गरिएको छ, जुन पढ्न रोचक र गहकिलो लाग्छ। पश्चिम पहाडी मोर्चाको चर्चा गर्दा बागलुङमा ओमप्रसाद गौचनको नेतृत्वमा सुरु भएको कांग्रेसको जुलुसमा चन्द्रमान शेरचन र मेघकुमार ‘बैद्य’ पनि सहभागी थिए । यद्यपि उनले बैद्यको नाम छुटाएका छन् ।
पाल्पा रणनीतिक हिसाबले महत्वपूर्ण रहेको, त्यसलाई कब्जा गर्दा सैनिक प्रशासकको रूपमा रुद्र शम्शेरलाई नियुक्त गरिएको लगायत सशस्त्र संघर्षको मोर्चागत विश्लेषण समेत पुस्तकमा सुस्पष्ट रूपमा गरिएको छ ।
‘पद्मसम्शेरको राजनीतिक सुधारको अग्निपरीक्षा’ शीर्षक अन्तर्गतको विवेचना निकै चाखलाग्दो छ । सन् १९४६ को जनआन्दोलनको थालनी शीर्षकमा पनि आन्दोलनको औचित्य, प्रक्रिया र चुनौती स्पष्ट पारिएको छ ।
जोशीका अन्य कृतिहरूमा “नेपालका अमर शहीद” (२०७९) पुस्तक उल्लेखनीय छ, जसलाई उनले “शहीदको आत्मा बोलेको” भनी जीवन्त अभिव्यक्तिमा उतारेका छन् । चार शहीदहरू—शुक्रराज शास्त्री, धर्मभक्त माथेमाको, गंगालाल श्रेष्ठ, दशरथ चन्द—सहित थिर बम मल्ल, भोगेन्द्रमान सिंहको समेत सजीव चित्रण यसमा पाइन्छ ।
उनको अर्को चर्चित कृति “रामहरि जोशीः अँध्यारोबाट उज्यालोतिर” (२०७१, दोस्रो संस्करण २०७४) हो, जसमा नेपाली कांग्रेसभित्रका अन्तरविरोध, माओवादीसँगको १२ बुँदे सहमतिपछि देखिएको विचलन, आदर्श र व्यवहारबीचको दूरी आदिको आत्मसमीक्षात्मक प्रस्तुति गरिएको छ । यो पुस्तक कांग्रेसको इतिहास बुझ्न आवश्यक कडी हो ।
उनको अनुवादक प्रतिभाको उदाहरण “बापू BAAPU(Sonnets)” हो, जुन महाकवि लक्ष्मीप्रसाद देवकोटाको हिन्दी अनुवादमा आधारित छ । देवकोटाको अन्तिम क्षणमा लेखिएको “न भक्ति भो, न ज्ञान भो, न भो विवेक...” कविता एक प्रकारको आध्यात्मिक अन्तर्संवाद हो । यस कृतिमा रामहरि जोशीले देवकोटा र गान्धी विचारलाई जोड्ने गहिरो दृष्टि प्रस्तुत गरेका छन् ।
विक्रम सम्वत २०७५ सालमा प्रकाशित “प्रतीकात्मक प्रश्न” पुस्तकमा उनले रोहित पात्रमार्फत विवाह नगर्ने प्रतीकात्मक कारणलाई राजनीतिक र प्रेम सम्बन्धी पक्षसँग गाँसेर प्रस्तुत गरेका छन् । छोटो तर मन छुने कृति हो ।
त्यस्तै २०६७ सालमा प्रकाशित “आत्मकथा तथा नेपाली कांग्रेससँग गाँसिएका सम्झनाहरू” २८५ पृष्ठको पुस्तक पनि कांग्रेसको इतिहासको अमूल्य स्रोत हो। यसमा उनी लेख्छन् :
“आलोचना जे को पनि, जसको पनि गर्न सकिन्छ । त्यो गर्न सजिलो हुन्छ । तर, काम गर्नु गाह्रो हुन्छ ।”
यसै पुस्तकमा बी.पी. कोइरालालाई जेलमुक्त गराउन जवाहरलाल नेहरूलाई गरिएको अनुरोध र नेहरूको स्पष्ट अस्वीकार उल्लेख गरिएको छ ।
यस पुस्तकले कांग्रेसको प्रमुख ऐतिहासिक मोड, प्राप्ति, कमजोरी, नेतृत्वको भूमिका र सामाजिक रूपान्तरणको आवश्यकता समेटेको छ । यो कांग्रेसप्रति आस्था राख्ने हरेकको घरमा संग्रहित हुनुपर्ने कृति हो ।
सन्त नेता तथा सादगीका प्रतिमूर्ति रामहरि जोशीको बारेमाः
प्रायः सूती कमिज–सुरुवाल, कालो चस्मा र खैरो ज्वारीकोटमा सजिएर हिँड्थे–रामहरि जोशी । महात्मा गान्धीका अनुयायी उनी ‘अहिंसा र शान्ति’का पक्षपाती थिए । विश्लेषक पुरञ्जन आचार्यका अनुसार, जोशीमा सन्त नेता कृष्णप्रसाद भट्टराईजस्तै ‘त्याग र सादगी’को प्रतिविम्ब देखिन्थ्यो ।
ललितपुरको बखुम्बहाल पुख्र्यौली भएका जोशीको जन्म ४ जनवरी १९२८ मा सर्लाहीको मलंगवामा भएको थियो । प्रारम्भिक शिक्षादेखि स्नातकोत्तरसम्म भारतमै अध्ययन गरेका उनी सन् १९५७ मा कलकत्ताको बङ्गवासी कलेजबाट अंग्रेजी साहित्यमा एमए गरे । त्यसपछि सर्लाहीको पब्लिक हाईस्कूलमा ३७ वर्ष प्रधानाध्यापकको रूपमा कार्यरत रहे ।
वि.सं.२००० सालमा प्रकाशित ‘जागरण गान’ उनको पहिलो कविता हो । पछि उनले झंकार (२०१४) र नयाँ सवेरा (२०१५) कविता संग्रह निकाले । रामवृक्ष बेनीपुरीको ‘नेत्रदान’ नाटकलाई नेपालीमा अनुवाद गरेका जोशीका अन्य महत्वपूर्ण कृतिहरूमा बाल विज्ञान परिचय, सामान्य विज्ञान परिचय, २०४६ सालको आन्दोलनः विश्वको आँखाझ्यालबाट, अतीतका केही सम्झनाहरू लगायतका पुस्तकहरू छन् ।
सर्लाही, महोत्तरी, सिराहा आदि जिल्लामा कांग्रेसको संगठन विस्तारमा उनको योगदान उल्लेखनीय मानिन्छ । २०५३ र २०५७ सालमा कांग्रेस महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका जोशीको त्यो प्रयास पदका लागि नभएर पार्टीलाई निष्ठाको राजनीतितर्फ डो¥याउने उद्देश्यसहित भएको थियो । उनी सदैव समाजवादी चिन्तन र गान्धीवादी मूल्यमा अडिग रहे ।
निष्कर्षः
शतवार्षिकीको अवसरमा रामहरि जोशीप्रति सच्चा श्रद्धाञ्जलि दिनु छ भने, उनले देखाएको त्याग, आदर्श र निष्ठाको बाटोलाई अनुसरण गर्नु नै सान्दर्भिक हुनेछ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
प्रतिकृया दिनुहोस