काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको छ ।
]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनमा विश्वका करिब ८२ देशका संसदका प्रमुखहरूको सहभागिता रहेको जानकारी दिए । उनले सम्मेलनमा डिजिटल प्रविधिको उपयोगमार्फत संसदलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे गहन छलफल भएको बताए ।
सभामुख घिमिरेले सम्मेलनमा दिगो विकासका लक्ष्यहरूको समिक्षा गर्दै सन् २०३० पछि त्यसको भविष्यको रूपरेखाबारे विचारविमर्श भएको बताए ।
त्यस्तै, विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए ।
उनले भने, ‘छैटौं विश्व सम्मेलनमा विश्वका करिब ८२ मुलुका संसदका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त छैटौं विश्व सम्मेलनमा डिजिटल प्रविधि र संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । दिगो विकास सम्बन्धी कामको समिक्षा र त्यस पछाडिको समय सक्किएपछि २०३० पछाडि कसरी जानुपर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । सहभागितामुलक ढंगबाट सबैको सहभागिता बनाएर शासन सञ्चालनमा विधि निर्माण गर्नेदेखि लिएर सरकार सञ्चालनमा कसरी जान सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।’
यसैगरी जलवायु परिवर्तन, गरिबी र पछाडि परेका मुलुकहरूमा देखा परिरहेका चुनौतीहरू तथा तिनको समाधानका उपायहरूमा समेत सम्मेलनमा प्राथमिकताका साथ चर्चा भएको सभामुख घिमिरेले जानकारी दिए ।
उनले नेपालको तर्फबाट सम्मेलनको जेनरल डिबेटमा कार्यपत्र प्रस्तुत गर्दै आफ्नो विचार राखिएको पनि उल्लेख गरे ।
उनले भने, ‘गरिबी र पछाडि परेका मुलुकहरुलाई अगाडि बढ्नको लागि आइरहेका चुनौतिहरु त्यसमा पनि जलवायु परिवर्तनले पारिरहेका असरहरु यी जस्ता विषयहरुमा छलफल भएका थिए । यसमा नेपालको तर्फबाट जेनरल डिभेटमा कार्यपत्र र विचारहरु राखेर छलफलमा भाग लिने काम मुख्यगरी भयो ।’
प्रतिकृया दिनुहोस