• मंगलबार-श्रावण-२०-२०८२

भक्तपुरको होटल भादगाउँ एण्ड रिसोर्टले शेयर निष्कासन गर्ने, १५ करोड जुटाउने

भक्तपुर – पर्यटकीय नगरी भक्तपुरमा विगत चार वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको होटल भादगाउँ एण्ड रिसोर्टले व्यवसाय विस्तारका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। होटलले १५ लाख कित्ता शेयर निष्काशन गरी जम्मा १५ करोड रुपैयाँ उठाउने तयारी गरेको छ, जसबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने तथा पूर्वाधार विकास गर्ने योजना छ।

 

शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। यस सम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 

सन् २०२१ मा स्थापना भएको होटल भादगाउँ एण्ड रिसोर्ट नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने आतिथ्य सेवामा आधारित छ। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुरको मध्यभागमा अवस्थित यो होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट सेवा दिँदै आएको छ।

 

शेयर निष्काशनपश्चात होटलले कोठाको संख्या बढाएर १०० पुर्‍याउने, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ, बाह्य बगैँचा, उच्चस्तरीय सेमिनार तथा सम्मेलन हल, डेस्टिनेशन वेडिङ स्थल लगायतका सुविधा थप्ने योजना प्रबन्ध निर्देशक राजभण्डारीले बताए।

 

उक्त परियोजना पूरा भएपछि स्थानीय रोजगारी सिर्जना हुने र भक्तपुरको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। होटलले प्रविधिमुखी सेवा व्यवस्थापन, हरित पर्यटनको अवधारणा र दीगो विकास लक्ष्यहरूलाई प्राथमिकता दिँदै व्यवसाय विस्तारमा अघि बढ्ने स्पष्ट रणनीति सार्वजनिक गरेको छ।

 

मुक्तिनाथ क्यापिटलका अनुसार, आईपीओ अन्तर्गत प्रतिकित्ता अंकित मूल्य रु. १०० रहनेछ र कुल १५ लाख कित्तामध्ये १० प्रतिशत (१ लाख ५० हजार कित्ता) शेयर स्थानीय बासिन्दा तथा होटलका कर्मचारीका लागि छुट्याइनेछ। बाँकी शेयर सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

 

आवेदन न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म दिन सकिनेछ। बिक्रीको मिति, आवेदन अवधि तथा वितरण विधि सम्बन्धी विस्तृत जानकारी धितोपत्र बोर्डको स्वीकृतिपछि सार्वजनिक गरिनेछ।

प्रतिकृया दिनुहोस