नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैठौं पटकका लागि प्रधानमन्त्री हुने पालो पर्खेर बसेको कुरा पहिलेदेखि चर्चामा छ । अहिलेको सरकार गठन हुनुभन्दा पहिले नै देउवा र ओलीको बिचमा आधा आधा समय प्रधानमन्त्री हुने सहमति भएको कुरा त्यसबेलादेखि नै चर्चामा छ ।
अर्कातिर ओली प्रधानमन्त्री भएदेखि नै प्रचण्डले कांग्रेस सभापति देउवासंग सम्बन्ध सुधारेर अहिलेको गठबन्धनमा धाँजा पार्ने र आफू सत्तामा पुग्ने चाँजोपाँजो मिलाउने प्रयास गर्दै आएका छन् । रा.स्व.पा. सभापति रवि लामिछानेले पनि आफू प्रधानमन्त्री बन्ने चाहना लुकाएका छैनन् । लामिछानेका विरुद्धमा उनले विभिन्न सहकारी संस्थासंग गैह्रकानूनी तवरले लिएको नगद खर्च गरेको सम्बन्धी अभियोगमा दायर भएको मुद्दा अदालतमा विचाराधीन रहेको छ र लामिछाने स्वयं प्रहरी नियन्त्रमा रहेका छन् तापनि रा.स्व.पा.का नेताहरुले २०८४ को चुनावमा रा.स्व.पा.ले बहुमत ल्याउने र रवि लामिछाने प्रधानमन्त्री बन्ने दावी गर्दै आएको अवस्था पनि छ । लामिछानेको विरुद्धमा दायर भएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा अदालतको कामकारवाहीमा प्रभाव पार्ने मनसायले हो कि भनेजस्तो देखिने गरी लामिछानेको रिहाईको निम्ति सरकारलाई दवाव दिन रा.स्व.पा.ले हस्ताक्षर अभियान समेत चलाइरहेको देखिन्छ ।
प्रधानमन्त्री ओली अहिले प्रधानमन्त्री छन् र उनको अध्यक्षतामा बसेको पार्टी कमिटीको बैठकले एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी र ७० वर्षको उमेर पछि पार्टी सभापति हुन नपाउने साविकको व्यवस्था हटाउने निर्णय लिएको कुरा सार्वजनिक भएको छ । यसबाट एमाले अध्यक्ष ओली जनताले साथ दिएमा भविश्यमा पुन प्रधानमन्त्री हुने सपना सँगालेर बसेका छन् भन्ने देखिन्छ । नेपाली कांग्रेसका अर्का नेता शेखर कोइराला पनि प्रधानमन्त्री हुन पार्टी बहुमतको समर्थन जुटाउने पर्यत्नमा छन् भनिन्छ । अरु पूर्व प्रधानमन्त्रीहरु र अन्य धेरै नेताहरुले पनि प्रधानमन्त्रीको कुर्सीमा पुग्न पाइन्छ कि भन्ने आशा छोडेको पाइँदैन । तर, नेपाली जनता(मतदाता)को मन छुने कुनै नयाँ कार्यक्रम र योजना कसैले पनि अघि सारेको पाइँदैन ।
अहिले ने. क.पा. माओवादी (विप्लव) समूहका प्रमुख तथा बहुचर्चित नेता नेत्र विक्रम चन्दले पनि आफूले २०८४ को चुनावमा भाग लिने र त्यसपछि आफू नेपालको प्रधानमन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । नेकपा माओवादीको विभाजन भएपछि शुरुमा वैद्य समूहमा लागेका र पछि फेरि अलग्गिएर छुट्टै पार्टी खडा गरेर हाल कृषि क्रान्तिमा लागेका नेत्र विक्रम चन्दको क्रेज केही वर्ष अघिसम्म अत्यन्त उँचो समेत थियो । प्रचण्डले देश र जनताको हितको काम नगरेको महसुस गरेर खिन्न भएका जनताले विप्लवले त देश र जनतालाई प्रचण्डले झैं धोका नदेलान् भन्ने आशा संगालेका थिए । तर, अहिलेसम्म आइपुग्दा उनको क्रेज र उनमाथिको जनताको भरोसा ह्वात्तै घटेको महसुस हुन्छ ।
आफूलाई अप्ठ्यारो पर्न थालेको महसुस भयो भने प्रचण्डले पूर्व माओवादीको एकताको कुरा गर्छन्, एउटा भेलाको आयोजना गर्छन् र पूर्व माओवादी नेताहरुलाई बोलाएर भाषण गर्न समेत लगाउँछन् । विप्लव पनि त्यस्ता भेलामा पुग्छन् र प्रचण्डको हो मा हो मिलाउंदै चर्का कुरा गर्छन् । तर, बेलाबखतमा भाषणमा सुनिने चर्का कुरा बाहेकका उनका अन्य गतिविधिको फरक ढङ्गले सार्वजनिक चर्चा भएको पाइँदैन । प्रचण्ड वा अरु कुनैदल वा नेताले आयोजना गर्ने भेलामा उपस्थित भएर चर्का कुरा गरेकै भरमा उनले चुनाव जित्छन्, विप्लवको पार्टीले चुनावमा बहुमत प्राप्त गर्छ र उनी प्रधानमन्त्री बन्छन् भन्न जनाधार तयार भएको देखिंदैन । देउवा, ओली, प्रचण्ड, नेपाल, लामिछाने, यादव, कोइराला कोही पनि आफ्ना बलबुताले भ्याएसम्म चन्द(विप्लव)लाई प्रधानमन्त्री पद किस्तीमा राखेर चढाउन अग्रसर नहुने कुरा स्पष्ट छ ।
त्यसैले चन्द प्रधानमन्त्री हुन चाहन्छन् भने उनले २०८४ मंसिर भित्रै नेपाली जनता बिचमा आँधीवेहरी सिर्जना गरेर आफूलाई प्रधानमन्त्रीका अरु दावेदारभन्दा अब्बल साबित गर्न सक्षम हुनुपर्छ । विप्लवले आफ्नो दलले सरकारमा गएर के के नयाँ काम गर्छ भन्नेकुरा जनसमक्ष राख्न सक्नुपर्छ, आन्तरिक वाह्य वातावरण निर्माण गर्ने र अरु दलले गरेका गलत कामको भण्डाफोर पनि गर्न सक्नुपर्छ । नेपाल र नेपाली जनताको हित र सबलीकरणको निम्ति कुनै ठोस र भरपर्दो कार्यक्रम अगाडि नसारीकन भारत वा चीन वा अमेरिका आदिले मलाई प्रधानमन्त्री बनाइदिए हुन्थ्यो, भ्रमण गर्न बोलाए हुन्थ्यो भनेर अरु मुलुकको चाकडी गरेर प्रधानमन्त्री हुने सपना संगाल्ने नेताहरु नेपालमा अरु पनि धेरै छन्, त्यसरी नै सत्ताको सिंढी चढ्न खोज्ने अर्का नेताको प्रतीक्षा नेपाल र नेपालीले गरेका छैनन् ।
त्यसैले विप्लव साँच्चै नै जनताको मन जितेर प्रधानमन्त्री हुन चाहन्छन् भने उनले अरु नेता र दलले भन्दा फरक कार्यक्रम अघि सारेर जनसमक्ष जाने र शान्तिपूर्ण बाटोबाट पार्टी संगठनको विस्तार गर्ने समेतका काम गर्न आवश्यक छ । देशको स्वाभिमानको रक्षा कसरी गर्ने ? देशलाई खाद्यान्न, लत्ताकपडा, औषधि उपचार आदिमा कसरी आत्म निर्भर बनाउने ? मुलुकमा कलकारखाना र उद्योग धन्दा फस्टाउने वातावरण कसरी बनाउने, मुलुकको वैदेशिक ऋण र अनुदान माथिको निर्भरता कसरी घटाउने, अरु मुलुकको हितको रक्षा गर्ने दायित्व लिएका संस्था र कर्मचारीको चाहना र आवश्यकता अनुसारको बजेट नबनाएर कसरी आफ्नो मुलुकको आवश्यकता अनुसारको बजेट बनाउने, उपलब्ध प्राकृतिक श्रोत र साधन अरु मुलुकलाई नचढाएर कसरी राष्ट्रिय हितमा परिचालन गर्ने यस्ता योजनाहरु पस्किन ढिला नगर्ने ।
अरु मुलुकका नेतासंग परामर्श गरेर उनीहरुको फाइदाको निम्ति शब्दजालले ढाकेर आयोजना प्रस्ताव गरेर जनता नझुक्याउने, निर्वाचन प्रणालीमा सुधार गरेर कसरी कम खर्चिलो बनाउने, दलका कार्यकर्ता खोजेर न्यायाधीश र संवैधानिक निकायमा नियुक्ति गर्ने पद्धतिमा कसरी र कस्तो सुधार गर्ने, साधारण खर्चमा कटौती गरेर पुँजीगत खर्चको अनुपात कसरी बढाउने अनि रु. १२ खर्बको गैर कानूनी व्यापार(राजश्व चुहावट) कसरी न्यूनीकरण गर्ने ? आदि जस्ता सवालमा ठोस कार्यक्रम अघि सारेर अगाडि नआएमा एक थान नयाँ अनुहारले मात्र अब मुलुक र नेपाली जनताको मुहार हँसिलो हुन सक्दैन । ग्रे लिस्टमा जकडिएको नेपाल राष्ट्रले कुनै लाभ लिन सक्ने देखिंदैन । मुलुकले नयाँ र देशप्रेमी नेताको प्रतीक्षा गरिरहेको छ, विप्लवले मुलुकको त्यो चाहना पूरा गर्न चाहन्छन् भने सर्वप्रथम उनले आफूलाई नै बदल्ने महाअभियान आजैबाट थाल्नु पर्ने देखिन्छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)
प्रतिकृया दिनुहोस