• सोमबार-श्रावण-२६-२०८२

रुसी आ क्रमणमा युक्रेनमा पाँचको मृ त्यु, युक्रेनी ड्रोन आक्रमणले रुसको तेल प्रशोधन केन्द्रमा क्षति

 

किभ, युक्रेन, २५ साउन (रासस/एएफपी) : युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा पाँच जनाको ज्यान गएको छ भने युक्रेनले रुसको साराटोभ क्षेत्रमा रहेको एक ठूला तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ ।

 

युद्ध जारी भइरहेकै बीच संयुक्त राज्य अमेरिका र रुसले शिखर वार्ता गर्ने सहमति जनाए पनि युक्रेन भने त्यसमा समावेश गरिएको छैन । युक्रेनी राष्ट्रिय प्रहरीले जनाएको अनुसार, जापोरिझ्झिया क्षेत्रमा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् । त्यसैगरी, पूर्वी डोनेत्स्क क्षेत्रमा थप दुई सर्वसाधारणको ज्यान गएको हो ।

 

यसैबीच, कालो सागरस्थित ओडेसा शहरमा प्रतिबन्धित क्षेत्रमा पौडी खेल्ने क्रममा सुरुङ विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा रुसको सम्भावित समुद्री आक्रमण रोक्न बारुदी सुरुङहरू बिछ्याइएको थियो ।

 

युक्रेनी सेनाले करिब एक हजार किलोमिटर टाढा पर्ने रुसको साराटोभ क्षेत्रमा ड्रोनमार्फत आक्रमण गरी तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको दाबी गरेको छ । साराटोभका गभर्नर रोमन बुसार्गिनले ‘एक औद्योगिक संरचना क्षतिग्रस्त भएको’ र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

 

रुसको बेलगोरोद क्षेत्रमा पनि युक्रेनी आक्रमणका कारण एक महिलाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो क्षेत्र सधैं युक्रेनी हमलाको जोखिममा रहने सीमावर्ती क्षेत्र हो ।

 

युक्रेनले रुसको तेल तथा ग्यास पूर्वाधारलाई निशाना बनाई युद्धको आर्थिक स्रोत कम्जोर बनाउने रणनीति अघि बढाइरहेको छ । युक्रेनी सेनाले सुमी क्षेत्रमा पर्ने बेजसालिभ्का गाउँ पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दैछ, जबकि रुसले पछिल्लो समय पूर्वी युक्रेनमा उल्लेखनीय सफलता हासिल गरेको छ ।


यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी शुक्रबार अमेरिकाको अलास्का राज्यमा द्विपक्षीय वार्ता हुने तय भएको छ । तर, युक्रेन र युरोपेली मुलुकहरूले यस्ता वार्तामा युक्रेनलाई समावेश नगरी समाधान खोज्नु अनुचित हुने बताएका छन् ।---

 

प्रतिकृया दिनुहोस