चन्द्रागिरी, १३ भदौ । ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौँ’ भन्ने नाराका साथ नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँमा यस वर्ष पनि 'राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम - २०८२' हुने भएको छ ।
वर्षेनी आयोजना हुँदै आएको यो प्रदर्शनी यसपटक २०८२ भदौ १४ गते शनिबार सञ्चालन हुने भएको हो । देशभरका नेवारी समुदायसँग सम्बन्धित मौलिक तथा परम्परागत लाखे नाचलाई एउटै मञ्चमा प्रस्तुत गरिने भएकाले यसलाई विशेष रोचक र महत्त्वका साथ हेरिने गरिएको छ ।
चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी, नेपाल सांस्कृतिक कलामन्दिरका अध्यक्ष रमेश शाही लगायत 'राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम - २०८२'को ब्यानर प्रस्तुत गर्दै ।
यस वर्षको प्रदर्शनीमा विशेष आकर्षणका रूपमा भस्मासुर नाच (नागचा नृत्य) समेत प्रस्तुत गरिने भएको छ । पछिल्लो समय निकै तारिफ बटुलिरहेको यो नृत्य नागचा प्याखँ अन्तर्गत भस्मासुर र महादेवको रोचक कथामा आधारित छ, जसले दर्शकलाई अझै रोमाञ्चक अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
आधुनिक संस्कारमा रमाइरहेका युवापुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र पहिचानप्रति अभिमान गराउने उद्देश्यले यस प्रदर्शनी आयोजना गरिएको आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताए । उनका अनुसार परापूर्वकालदेखि हाम्रा पुर्खाहरुले बचाएर राखेका नेपाल र नेपालीहरुको गहनाको रुपमा रहेको हाम्रो चाड, पर्व, जात्रा तथा बाजागाजाहरु अहिलेको नयाँ पुस्ताले बिर्सदै गएको अवस्था छ । यसैले पनि देशभरिका विभिन्न कुना काप्चामा रहेका बाजागाजा र नृत्यलाई एउटै मञ्चमा ल्याइ नेपालमा मात्रै नभएर विश्वभर नेपाली मौलिक संस्कृतिको महत्त्वलाई उजागर गर्न यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्नेछ ।
यस राष्ट्रिय लाखे नाच प्रदर्शनीमा देशभरका विभिन्न नेवार समुदायका कलाकारहरूले लाखे नाच प्रस्तुत गर्नेछन् । यो बर्ष विशेष आकर्षकको रुपमा भस्मासुर नाच (नागचा नृत्य) भक्तपुरको प्रस्तुति रहनेछ । नागचा नृत्य नागचा प्याखँ भष्मासुर र महादेवको रोचक कथामा आधारित नृत्य हो । कार्यक्रमका क्रममा लाखे नाचमा संलग्न कलाकारहरू साथै विभिन्न विधामा क्रियाशील ख्यातिप्राप्त व्यक्तिहरूलाई सम्मानसमेत गरिने बताइएको छ ।
२०५८ सालमा स्थापना भएको नेपाल सांस्कृतिक कला मन्दिरले देशको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।---
प्रतिकृया दिनुहोस