बैतडी, १६ भदौ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताउनुभएको छ ।
यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “जनआकाङ्क्षा धेरै छन् । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन । एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो । अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ ।” गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले आफ्नै भवन निर्माण भएपछि वडाबाट सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले गाउँपालिकाको रु ७१ लाख बजेटमा वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो । एकतले भवनमा हलसहित सात कोठा रहेका छन् ।
---
प्रतिकृया दिनुहोस