• बिहीबार-भदौ-१९-२०८२

ढिलासुस्ती अन्त्य गरी छिटो र प्रभावकारी सेवा दिन कर्मचारीलाई मुख्यसचिवको निर्देशन


खाँदबारी (संखुवासभा), १६ भदौ : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले नागरिकलाई छिटो, सरल र प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

 

आज यहाँ सम्पन्न 'नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको भूमिका' विषयक अन्तरक्रियामा उहाँले सरकारी कार्यालयमा ढिलासुस्तीको प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । जनताले गुनासो नगर्ने गरी सर्वसुलभ सेवा दिनुपर्ने भन्दै मुख्यसचिव अर्यालले टेबलमा पुगेको कामलाई अलमल्याउने बानी त्याग्न आग्रह गर्नुभयो ।

 

सेवा प्रवाहलाई व्यवस्थित बनाउन कानुन तथा संरचनागत सुधार भइरहेको उल्लेख गर्दै उहाँले समान प्रकृतिका कार्यालयलाई एकीकृत गर्ने तयारी पनि अगाडि बढाइएको जानकारी दिनुभयो । मुख्यसचिव अर्यालले उत्तरी नाका किमाथाङ्कालाई चलायमान बनाउनसके संखुवासभालाई समृद्ध र पर्यटकीय सम्भावना बोकेको जिल्लाका रूपमा पहिचान दिन सकिने बताउनुभयो ।

 

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले किमाथाङ्का नाका चीन र नेपाललाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार भएको बताउँदै यसको स्तरोन्नतिमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नागरिकले सुशासनको अनुभूत गर्ने गरी कर्मचारीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

 

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले कानुन र कार्यविधि स्पष्ट हुनुपर्नेमा जोड दिँदै संखुवासभालाई उत्पादनमुखी क्षेत्रका रूपमा विकास गर्न सीमा नाका सञ्चालन अपरिहार्य रहेको बताउनुभयो ।

 

जिल्लाको वस्तुस्थिति प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले जिल्लामा हाल ३९ वटा जलविद्युत्् आयोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस