• सोमबार-भदौ-१६-२०८२

मधुमेहका बिरामीका लागि लाभदायक यी ४ उच्च फाइबरयुक्त खानेकुरा

 

मधुमेहलाई जीवनशैलीको सबैभन्दा ठूलो रोग मानिन्छ । विशेष गरी टाइप २ मधुमेहका बिरामीहरूका लागि सबैभन्दा ठूलो चुनौती भनेको रगतमा चिनीको स्तर नियन्त्रणमा राख्नु हो । औषधिसँगै आहार र जीवनशैलीले यो रोग व्यवस्थापनमा सबैभन्दा ठूलो भूमिका खेल्छ । मधुमेहका बिरामीहरूले आफ्नो भोजनमा विशेष ध्यान दिनुपर्छ । उच्च फाइबर जटिल कार्बोहाइड्रेट र पर्याप्त प्रोटिन सेवन गर्नु रगतमा चिनी नियन्त्रण गर्न धेरै प्रभावकारी साबित हुन्छ । विशेषगरी घुलनशील फाइबर खाएपछि शरीरले बिस्तारै ग्लुकोज छोड्छ, जसले गर्दा चिनी अचानक बढ्दैन ।


टाइप २ मधुमेहका लागि 
उच्च फाइबरयुक्त खानेकुराहरू
ओट्स :
 मधुमेहका बिरामीहरूका लागि ओट्स धेरै लाभदायक मानिन्छ । यसमा घुलनशील फाइबरको राम्रो मात्रा हुन्छ जसले बिस्तारै ग्लुकोज छोड्छ । यसको अर्थ खाना खाएपछि रगतमा चिनी अचानक बढ्न दिँदैन । बिहान खाजामा ओट्स समावेश गर्नु मधुमेहका बिरामीहरूका लागि एक राम्रो विकल्प हो । यसलाई दूध, दही वा तरकारीसँग पनि सेवन गर्न सकिन्छ । ओट्सले लामो समयसम्म पेट भरिराख्छ, जसले बारम्बार भोक लाग्ने समस्यालाई पनि कम गर्छ ।


चिनु (किनवा) : किनवालाई सुपरफूड मानिन्छ । यो एक अन्न हो जसमा पर्याप्त मात्रामा प्रोटिन र फाइबर दुवै हुन्छ । यो ग्लुटेन–रहित हुन्छ र मधुमेहका बिरामीहरूका लागि कम ग्लाइसेमिक सूचकांक भएको खाना हो । मधुमेहमा यसको सेवनले रगतमा चिनी नियन्त्रणमा राख्छ र लामो समयसम्म ऊर्जा प्रदान गर्दछ । यसलाई भातको सट्टामा खान पनि सकिन्छ । किनवाले चिनी नियन्त्रण मात्र नगरेर तौल घटाउन पनि मद्दत गर्दछ । 


दाल र गेडागुडी : दाल, चना, राजमा, सिमी तथा केराउ मधुमेहका बिरामीहरूका लागि धेरै राम्रो मानिन्छ । यसमा प्रचुर मात्रामा घुलनशील फाइबर र प्रोटिन हुन्छन् । यो ढिलो पच्ने भएकाले रगतमा चिनीलाई छिटो बढ्नबाट रोक्छन् । यसबाहेक गेडागुडी खाँदा पेट लामो समयसम्म भरिराख्छ, जसले गर्दा धेरै खाने समस्या कम हुन्छ । आफ्नो भोजनमा दाल र चना नियमित रूपमा समावेश गर्नाले मधुमेह व्यवस्थापन सजिलो हुन्छ ।


बदाम तथा बिउजन्य चिजहरु : बदाम, ओखर, फर्सीको बीउ र चिया सिड मधुमेह रोगीहरूका लागि धेरै लाभदायक हुन्छन् । यी चिजहरु ओमेगा–३ फ्याटी एसिड, स्वस्थ बोसो र घुलनशील फाइबरले भरिपूर्ण हुन्छन् । यी चिजले रगतमा चिनीको स्तर स्थिर राख्न मद्दत गर्दछ । साथै मुटुको स्वास्थ्यको लागि पनि यी चिजहरु निकै लाभदायक हुन्छन् । बिहान खाली पेटमा वा खाजा खाने बेलामा यसको सेवन मधुमेह नियन्त्रणका लागि निकै लाभकारी हुन्छ । 


मधुमेह रोगीहरूका लागि आहार मात्र होइन, पूर्ण जीवनशैली परिमार्जन महत्वपूर्ण छ । दैनिक ३०–४५ मिनेट हिँड्ने वा व्यायाम गर्ने, प्रशोधित र जंक फूडबाट टाढा रहने, चिनीयुक्त पेय पदार्थ र चिनीबाट बच्ने गर्नुपर्दछ । प्रत्येक २–३ घण्टामा थोरै खाना खाने, निद्रा पु¥याउने र तनाव व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
 

प्रतिकृया दिनुहोस