काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह अब स्थानीय राजनीतिमा मात्र सीमित नभई राष्ट्रिय राजनीतिमा उत्रिने तयारीमा रहेको खबर आएको छ । निकट स्रोतका अनुसार, उनले मिशन ८४ लाई लक्षित गर्दै नयाँ राष्ट्रिय दल गठन गर्ने योजना बनाएका छन् ।
२०८४ सालमा हुने आम निर्वाचनलाई केन्द्रमा राखी बालेनले नयाँ दलबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने रणनीति बनाएका छन् । यससँगै स्थानीय तहमा समेत आफ्नो दलको उम्मेदवारहरु खडा गर्ने गृहकार्य भित्रभित्रै सुरु भएको स्रोतको दावी छ । नयाँ दल खोलेर राष्ट्रिय राजनीति गर्ने संकेत त बालेन शाहले निकै अगाडि देखि नै गरेका हुन् । ७५३ पालिकाबाट स्वास्थ्य उपचारको सिफारिस लिएर काठमाण्डौं महानगरमा सम्पर्क राख्ने असहाय, गरिब–दुःखीका लागि काठमाडौंका अस्पतालहरुमा निशुल्क उपचार गर्ने घोषणा समेत गरेका थिए ।
देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार गर्ने मेयर बालेन्द्र शाहले २०८१ वैशाख १६ गते सो कार्यक्रमको घोषणा गर्दै काठमाडौं महानगरभित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले विरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने बताएका थिए ।
मेयरमा अब बालेन होइन,
‘प्रिय पात्र’ राजु उम्मेदवार
बालेनले काठमाडौं महानगरको मेयरमा भने अब आफू उम्मेदवार नबन्ने निर्णय गरिसकेका छन् । तर, उनले आफ्नो एस–म्यानलाई नै मेयर पदका लागि अघि सार्ने तयारी गरेका छन् ।
त्यो पात्र अरु कोही नभई हाल काठमाडौं महानगरका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे हुन सक्ने बलियो संकेत मिलेको छ ।
संकेत दिने ‘महानगर प्रहरी दिवस’
२०८२ भदौ १४ गते शनिबार काठमाडौंमा आयोजित ३३ औं महानगर प्रहरी दिवस को कार्यक्रममा बालेनले महानगर प्रहरीप्रति गरेको खुला प्रशंसा र तारिफले यो सम्भावनालाई थप प्रष्ट पारेको छ । उनका अभिव्यक्तिहरूले एसएसपी राजु नाथ पाण्डेप्रति रहेको विशेष विश्वास र निकटतालाई झल्काएको बताइन्छ ।
‘मिशन ८४’ बाट के संकेत ?
विश्लेषकहरू भन्छन्–बालेन शाहले स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगर जितेर जनमानसमा पाएको लोकप्रियतालाई राष्ट्रिय राजनीतिमा रुपान्तरण गर्ने रणनीति बनाएका छन् ।
नयाँ दल बनाएर १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने महत्वाकांक्षा उनको राष्ट्रियस्तरमा निर्णायक चुनौतीका रूपमा देखिन्छ ।
एसएसपी राजुनाथ पाण्डेलाई काठमाडौं महानगरको मेयरका लागि अघि सार्ने योजना भने बालेनको राजनीतिक शैलीमा देखिने “अनपेक्षित चाल” हो, जसले २०८४ को राजनीतिक समीकरणलाई झनै रोचक बनाउन सक्छ ।
निष्कर्ष
काठमाडौं महानगरको मेयरका रूपमा सुरु भएको बालेन शाहको राजनीतिक यात्रा अब राष्ट्रिय मैदानमा प्रवेश गर्ने मोडमा पुगेको छ । मेयर पदका लागि आफ्नो ‘प्रिय पात्र’ अघि सार्दै स्वयं राष्ट्रिय राजनीतिमा होमिन लागेको यो रणनीति सफल हुन्छ वा विफल, त्यसको जवाफ भने मिशन ८४ ले स्पष्ट रुपमा दिनेछ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)
प्रतिकृया दिनुहोस