काभ्रे । भुम्लु गाउँपालिका–१, सापिङका वडाध्यक्ष लेखबहादुर श्रेष्ठले कार्यपालिकाको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका छन् । उनले एमाले र काँग्रेसका जनप्रतिनिधिहरूले ‘बहुमतको दम्भ’ देखाएर निर्णय लिएको आरोप लगाएका छन् ।
गाउँपालिकाको कार्यपालिका बैठकले करार सवारी चालक निशान उप्रेतीलाई बर्खास्त गर्ने निर्णय गरेपछि वडाध्यक्ष श्रेष्ठले आपत्ति जनाएका हुन् । उनले उक्त निर्णय तत्काल सच्याउन माग गर्दै भनेका छन्, "भोलिको कार्यपालिका बैठकमा निर्णय सच्याइएन भने म सापिङका जनताको सल्लाहमा वडाध्यक्ष पदबाट राजीनामा दिँदै प्रतिकारमा उत्रिनेछु ।”
श्रेष्ठका अनुसार उप्रेतीलाई हटाउने निर्णय अन्यायपूर्ण र राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। उनले भनेका छन्, "जेनजी पुस्ताको आन्दोलनबाट देशमा खबौँको क्षति भइ सामन्ती निरङ्कुशता ढलेको अवस्थामा, त्यही आन्दोलनमा सहभागिता जनायो भनेर कुनै कर्मचारीलाई सजाय दिनु गलत हो ।”
श्रेष्ठले बैठकमा सहभागी एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बहुमतको आधारमा निर्णय लिँदा स्थानीय तहको साझा भावना र निष्पक्षताको मर्म उल्लंघन भएको टिप्पणीसमेत गरेका छन् । “बहुमतको अर्थ मनमानी होइन, निर्णयमा विवेक र न्याय हुनुपर्छ,” उनले जोड दिए ।
भुम्लु गाउँपालिकामा करार कर्मचारी उप्रेतीलाई बर्खास्त गर्ने विषयले आन्तरिक राजनीति तताएको छ । केही जनप्रतिनिधिहरूले पनि वडाध्यक्ष श्रेष्ठको समर्थनमा आवाज उठाउन थालेका छन् ।
प्रतिकृया दिनुहोस