• मंगलबार-जेठ-६-२०८२

३२ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उपसेनानी दर्जाको चिन्ह प्रदान

 


काठमाडौँ, १८ असोज  :   २०७६ आश्‍विन १८ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सैनिक मञ्‍च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाईं समारोह सम्पन्न भएको छ ।

 कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिमा नेपाली सेनाको बढाईं टोलीले सलामी अर्पण गरे पश्‍चात बडा दशैं २०७६  को उपलक्ष्यमा राईफलले विभिन्‍न पाटाहरुबाट छिटो लहरे बढाईं, लहरे बढाईं, एकठ्ठा बढाईं, षट्कोण फर्मेसन तथा नेपालको झण्डा फर्मेशनमा बढाईं र तोपबाट बढाईं गरेको थियो ।

 

साथै उक्त समारोहलाई थप उल्लासमय बनाउन यसैवर्षबाट नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा बढाईं कवाजमा भाग लिने बाहिनी, गण तथा गुल्महरुले इज्जत अर्पण कवाज प्रदर्शन गरेका थिए ।

 सोही अवसरमा प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाबाट कालीभक्ती गण (ई) र ऋद्धिदल गणलाई 'निशान' र केन्द्रिय तहको युद्धकार्य तयारीपन २०७६  मा गुल्मतर्फ प्रथम हुने  श्रीबक्स गुल्मलाई 'प्रधानसेनापति व्यानर' प्रदान गर्नुका साथै ३२ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उपसेनानी दर्जाको चिन्ह समेत प्रदान गरेका थिए  ।

 

 नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईं समारोहमा  प्रधानमन्त्री  केपी शर्मा ओली, प्रधानन्यायाधीश  चोलेन्द्र शम्सेर ज.ब.रा., राष्ट्रिय सभाका अध्यक्ष  गणेश प्रसाद तिमिल्सिना, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीवृन्द तथा पूर्व रथीवृन्द, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्‍न क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरु, सेनानी समूहलगायत सञ्‍चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

 
 

प्रतिकृया दिनुहोस