• शुक्रबार-बैशाख-१४-२०८१

सम्पादकीय : ‘आकासको फल आँखा तरी मर’ 

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुनुभन्दा अगाडि यो पटक प्रधानमन्त्री भएपछि आफूले जनताले अनुभूत गर्ने गरि काम गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । निर्वाचनमा उनको दलले दोश्रो स्थान प्राप्त गर्ने दलले भन्दा आधा भन्दा कम स्थान मात्रै प्राप्त गरेर तेश्रो स्थान प्राप्त गरेको भए पनि उनी संयोगले प्रधानमन्त्री भएका छन् । उनी प्रधानमन्त्री भएपछि आफ्नो वाचा अनुसार उनले पहिले भन्दा फरक  ढंगले जनताले पछिसम्म सम्झिने गरि जनता र देशको हितमा मात्र काम गर्छन् भन्ने धेरैको आशा पनि थियो ।  

 

तर, दाहाल प्रधानमन्त्री भएको ९० दिन पूरा भैसक्दा पनि उनले जनताले अनुभूत गर्नेगरी  कुनै उल्लेखनीय काम गरेका छैनन् र त्यस्तो कुनै पनि काम गर्न खोजेको अनुभूतिसम्म पनि जनसाधारणले गर्न सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक अवस्थामा सुधार हुने गरि कुनै ठोंस काम गरेका पनि छैनन् र साधारण जनताको दैनिक जीवन सहज हुने कुनै काम गर्ने जाँगरसम्म पनि देखाएका छैनन् । मिटर व्याजको चपेटामा परेका पीडितहरुको पीडाले समेत उनको मन छोएको अनुभूति हुन सकेको छैन ।  यसपटक उनले जनसाधारणको हित र समग्र राष्ट्रिय हितको रक्षा र अभिवृद्धि हुने हिसाबले काम गर्लान् भन्ने जनताको आशाले ‘आकासको फल आँखा तरेर मर्नुपर्ने’ जस्तै नियति भोग्नुपर्ने छनक दिएको छ ।      

                           
 उनले अहिलेसम्म जे गरेका छन् र गर्न खोजेका छन् ती सबै विगतमा जस्तै उनको पद, पैसा र शक्ति आर्जनको व्यक्तिगत लालसा र  दलगत स्वार्थपूर्ति गर्ने उद्देश्यबाट मात्र निर्देशित देखिन्छन् । उनले मुलुकको आर्थिक अवस्थामा सुधार हुने गरि कुनै काम गर्ने कुनै ठोंस पहल गरेको कुरा सार्बजनिक भएको पनि छैन र बरु शेयर बजारले प्रचण्ड सरकारलाई नपत्याएर प्रत्येक दिन ओरालो लागिरहेछ । उनले सर्वसाधारण जनताको दैनिक जीवनका कठिनाइहरूको समाधान गर्ने उद्देश्य राखेर कुनै सिन्को भाँचेको अनुभव पनि भएको छैन । मिटर व्याजको मारमा परेर मर्नु न बाँच्नुको अवस्थामा पुगेर महिनौ अघिदेखि सडकमा बसेर आफ्नो पीडाको निदान खोज्ने प्रयास गरिरहेका जनताको पीडाले समेत प्रधानमन्त्री प्रचण्डलाई पटक्कै छोएको देखिदैन । 


अर्कातिर विगतमा राज्य कोषबाट आफ्ना कार्यकर्तालाई पटक पटक  अर्बौं अर्ब रुपैयाँ बाँडेको र त्यसरी बाँडिएको पैसाको उपयोग पारदर्शी नभएको भन्ने समेतका विषयमा उठेका प्रश्नको समेत उत्तर नदिएका प्रचण्डले अहिले मुलुकले साधारण प्रशासनिक खर्च समेत धान्न नसक्ने अवस्था रहेको समयमा सरकारले पूर्णता नपाउँदै र सत्ताका सहयोगी दलहरु सरकारमा सामेल समेत नहुँदै हतार हतारमा पूर्व लडाकुको नाम पारेर राज्य कोषबाट करोडौं करोड रुपैयाँको दोहन गर्न खोजेको चर्चा हुनु आफैमा बिडम्बनापूर्ण अवस्था हो ।

 

यसलाई सत्ताको तर्फबाट हुने नीतिगत भ्रष्टाचारको अर्को श्रृंङ्खलाको रुपमा समेत लिन सकिन्छ ।  अर्कातिर अमानवीय ज्यादतिको शिकार भएर ज्यान गुमाएका निर्मला पन्त समेतका श्रमजीवी वर्गका सन्तानहरुको विषयमा भने उनी कत्ति पनि संवेदनशील देखिएका छैनन् । युद्धको नाममा निशस्त्र र निहत्था सर्वसाधारणलाई अमानवीय यातना दिएर मारिएका घटनामा समेत पीडकलाई उन्मुक्ति दिनका निम्ति कानून तर्जुमा गर्ने उनको प्रयास अझ बढी आलोचित भएको पाइन्छ । 


 देशको प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्ति र उनको दलका नेता कार्यकर्ताले न्यायाधीशलाई धम्क्याउने र आफूले गरेका अपराधमा आफूलाई सजाय गरियो भने फेरि हतियार समाउनेसम्मका अशोभनीय टिप्पणी गर्ने कुरा चर्चामा आउने कल्पना गर्न पनि गाह्रो हुन्छ । एउटा सांसदले सरकारले संसदमा पेश गरेको विधेयकप्रति असहमति प्रकट गर्दा शारीरिक आक्रमण गर्नेसम्मको डर, धाक देखाउने र प्रदेशको संसदले विधसम्मत ढंगले गरेको निर्णयको विरुद्धमा आफ्ना कार्यकर्तालाई सडकमा उतार्नेसम्मका काम प्रधानमन्त्रीकै प्रोत्साहनबाट भएको आशंका उत्पन्न भएको अवस्था उत्तिकै डरलाग्दो छ ।

 

मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आघात पुग्ने र स्वाधीनतामै आँच पुग्ने हिसाबले एउटा मुलुकबाट अहिलेसम्म निमन्त्रणा प्राप्त नभएको भए पनि सो मुलुकको भ्रमणमा जाने लालसा प्रकट गर्नु र सोही छिमेकीलाई खुशी पार्नका लागि एउटा अर्को छिमेकीले आयोजना गरेको एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनबाट पन्छिनुलाई प्रधानमन्त्रीको हदैसम्मको पराधीन एवं दास मानसिकताको दृष्टान्तको रुपमा लिनुपर्छ ।

 

विदेशी शक्तिको इशारा बेगर पाइलो नसार्ने हुतिहारा प्रवृत्ति बोकेको नेताले मुलुकको हित र स्वाधीनताको रक्षा गर्ला, जनसाधारणको पीरमर्काको समाधान गर्लान् र जनताले अनुभूत गर्न सक्ने गरि मुलुकको अवस्थाको सकारात्मक रुपान्तरण होला भन्ने आशा गरियो भने त्यसबाट निराशा बाहेक अरु केही हात लाग्ने देखिदैन ।  नेपाली जनताको आशा र अपेक्षालाई ‘आकासको फल आँखा तरी मर’को अवस्थामा सीमित हुन नदिनका लागि सर्वप्रथम प्रधानमन्त्रीले आफूलाई रुपान्तरण गर्नुपर्छ र खास खास विदेशी शक्ति सामु ‘त्वम् शरणम्’को भावमा लम्पसार परेर उनीहरुको  इशारा अनुसार काम गर्ने प्रवृत्तिबाट मुक्त भएर निर्णय लिने साहसको प्रदर्शन गर्नु जरुरी छ । (साँघु साप्ताहिक, २०७९ चैत १३)

प्रतिकृया दिनुहोस