• शनिबार-बैशाख-८-२०८१

सचिवको कोटामा सहसचिवको विदेश सयर !

 

काठमाडौं । अंग्रेजीमा सामान्य दख्खल हुँदा कतिसम्म लाभ हुन्छ भन्ने उदाहरण सहसचिव बाबुराम अधिकारी हुन् । अधिकारी सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मिलाएर रक्षा मन्त्रालयमा पुगेको डेढ बर्ष नाघिसकेको छ । यसबीचमा झन्डै ९ पटक भन्दा बढी उनी विदेश भ्रमणमै गइसकेको रक्षा स्रोत बताउछ । स्रोतका अनुसार, नेपाली सेनाका शान्ति मिसन रहेका देशहरु सबै उनले भ्रमण गरिसकेका छन् । रक्षाकै सहसचिवको हैसियतमा उनले अमेरिकामा पनि लामै समय सयर गर्ने मौका पाए ।

 

यसो हुनुका पछाडि मन्त्रालयमा भएका सहसचिवहरु प्रकाश पौडेल, यज्ञप्रसाद ढुंगेल र आलोकचन्द्र श्रेष्ठ(कानून)को अंग्रेजीमा राम्रो दख्खल नहुनु हो भन्ने वाहना बनाउने गरिन्छ । अन्य सहकर्मी सहसचिवहरुलाई आएको कोटा पनि हडपेर उनै विदेश जाने गरेको आरोप छ । 


त्यसो त निरीह सचिव किरणराज शर्माको विदेश भ्रमणको कोटामा पनि अधिकारीले भ्रमण गरिदिएको चर्चा रक्षाका कर्मचारीबीच हुँदैआएको छ । आफूलाई नेपाली कांग्रेस निकट बताउने सचिव किरण शर्मा रेश्मीराज पाण्डेको अवकाशपछि रिक्त रहेको दरबन्दीमा सरुवा भएका हुन् । तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले शर्मालाई रक्षामा भित्र्याएका थिए । काठमाडौं–तराई द्रुतमार्गमा चरम भ्रष्टाचार गर्दा पनि सचिव शर्मा चासो नलिएको आरोप खेपेका शर्मा त्यहाँ गएपछि सचिवहरुको धेरै पटक सरुवा भए पनि उनलाई भने सेनाले रुचाएकै कारण सरुवा भएको छैन । अघिल्लो संसदको विकास समितिले फाष्टट्रयाकको अनियमितताका बारेमा कारबाही गर्न दिएको निर्देशन समेत सचिव शर्माले घर्रामा राखेको राख्यै गरेको आरोप लागेको थियो । 

 


  सहसचिवको कार्यकक्षमा सचिवको प्रवेश प्रायः हुँदै हुँदैन, तर शर्मा यस्ता पात्र हुन्, उनी हरेक दिनजसो तीनै जना सहसचिवको कोठामा पुगेर भलाकुसारी गर्दछन् । निजामती प्रशासनमा पदीय मर्यादा, चेन अफ कमाण्डको समेत ख्याल नगर्ने सचिव चर्चा गरिन्छ । यस्ता सोझा सचिव पाएपछि चतुर सहसचिव बाबुरामले उनको कोटा समेत हड्पेर विदेश उड्नुलाई अनौठो कसरी मान्नु र ? रक्षा मन्त्रालयका एक अधिकारीले बताए । सहसचिवको विदेश भ्रमणको मनोनयन सचिवको सिफारिसमा मन्त्रीबाट सदर हुने प्रचलन छ । रक्षा मन्त्रालयमा भने मनोनयन भएपछि भ्रमण गराउने संस्था वा निकायको प्रतिनिधिबाट मौखिक अन्तर्वार्ता हुने र त्यो पनि अंग्रेजी भाषामा हुने भएकाले सहसचिव बाबुरामले मौका पाउने गरेको बताइन्छ । 

 


सचिव शर्माको फितलो कार्यशैलीका कारण सेनाले समेत फाष्टट्रयाक आयोजनामा मनपरी गर्न छुट पाएको बताइन्छ ।  फाष्टट्रयाक प्रोजेक्टका तत्कालीन प्रमुख विकास पोखरेल र  उपरथी कमल विक्रम शाहले यसअघिका योगेन्द्रबहादुर खाण र पूर्णचन्द्र्र थापाको कार्यकालमा भन्दा बढी अनियमित कार्य गरेको विषयमा संसदको विकास समितिले गहन छानबिन गरिरहेको समयमा संसदको कार्यकाल समाप्त भएको थियो । सचिव शर्माले विकास समितिलाई आवश्यक सहयोग नगरेकै कारण फाष्टट्रयाकमा भएको अनियमित कार्य र भ्रष्टाचार गुपचुप बनाइएको सैनिक स्रोत बताउछ । (साँघु साप्ताहिक, २०७९ चैत १३)

प्रतिकृया दिनुहोस