• बुधबार-बैशाख-१२-२०८१

भ्रमण ‘वार्मअप’ र भेटघाट–मठमन्दिर दर्शनमै सीमित ? : भारतलाई अस्वीकार्य प्रचण्डका एजेण्डा ! 

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा जुटेका छन् । आन्तरिक रुपमा बलियो तयारीका नाममा प्रधानमन्त्री प्रचण्डले सरोकारवालासँग छलफलदेखि २०८० जेठ १३ गते भारत भ्रमण र एजेण्डा बारे संसदलाई जानकारी गराउनेसम्मको प्रयास गरेका छन् ।

 

जेठ १३ गते प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणसँग जोडिएका धेरै कुरा बताएका छन् । जुन कुरा भारत नेपालको तर्फबाट नउठाईदिओस् भन्ने चाहन्छ, त्यही कुरा प्रचण्डले भारत भ्रमणको एजेण्डा हुन् भनेर प्रतिनिधिसभालाई जानकारी गराए । 


 प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई जानकारी दिएका एजेण्डा भारतको भन्दा पनि प्रचण्डको चाहना र प्रयासमा हुन लागेको भ्रमणमा प्रचण्डको चाहना अनुसारका एजेण्डामा भारतमा छलफल हुन सक्ने संभावना नरहेको कूटनीतिक स्रोत बताउछ ।

 

नेपालको चाहना र भारतको मनसाय  बुझेकाहरु जो कसैले भन्न सक्छ प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन हुनेछ । प्रचण्ड पछिल्ला दिनमा कूटनीतिक रुपमा पनि कमजोर र अस्थिर देखिएका छन् । राष्ट्रियसभाको रोष्ट्रमबाट उभिएर प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘चीन भ्रमण चिनियाँ राजदूतको सुझावमा नभएको हो’ भनेर । 


 चीनले आयोजना गर्ने बोआओ फोरममा चिनियाँ राजदूतले नै नजानु भनेर सुझाव दिएका कारण नगएको भनेर स्पष्टीकरण दिएका थिए, जुन न आवश्यक थियो न  त्यसको जवाफ कसैले मागेको थियो । तर, सन्दर्भबस प्रचण्डले त्यो कुरा भनिदिए । जसले गर्दा चिनियाँ राजदूतसँगको सम्बन्ध चिसोपन बढ्ने र चीनसँग प्रचण्डको सम्बन्धमा आशंका उत्पन्न हुनु स्वभाविक हो ।

 

प्रचण्डले त्यो कुरा भनेकै भोलिपल्ट चिनियाँ राजदूत प्रधानमन्त्रीलाई भेट्न निवासमा पुगेका थिए । स्रोतहरुको भनाईमा चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि पनि पोखेका थिए । आफूले बहिस्कार गरेको बोआओ फोरमलाई चिनियाँ राजदूतमाथि दोष थोपरेर प्रधानमन्त्री प्रचण्डले कूटनीतिक अक्षमताको पराकाष्ठामात्रै देखाएनन्, नालायकी छवि पनि प्रस्तुत गरेका थिए ।


  त्यही सन्दर्भमा फेरि २०८० जेठ १३ गते प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर प्रचण्डले भारत भ्रमणका एजेण्डाहरु भनेर सभालाई सुनाए । सन् १९५० को सन्धि पुनरावलोकनबारे छलफल, लिपुलेक, लिम्पियाधुरा पुच्छर जोडिएको नेपालको नयाँ नक्साबारे छलफल, इपीजी प्रतिवेदनबारे छलफल, नयाँ हवाई रुट र पञ्चेश्वर परियोजनाबारे छलफल हुनेलगायतका आधा दर्जन फेहरिस्ता प्रतिनिधिसभामा भारत भ्रमणको एजेण्डा भन्दै प्रचण्डले राखेका छन् । 


 नयाँ दिल्लीस्थित साँघु स्रोत भन्छ, तीमध्ये अधिकांश भारतले अरुची देखाएका, विगतमा सुन्नै नचाहेका र अस्वीकार गर्दै आएका विषय हुन् । त्यसैले, यस पटकको भारत भ्र्रमण प्रचण्डका लागि औपचारिक ‘वार्मअप’ मात्रै हुने संकेत देखिन थालेको छ । बरु, यी ठूला र नसल्टिने मुद्दा बोकेर भ्रमणमा निस्कन लागेका प्रचण्डले ठूला जलविद्युत आयोजनाहरु सुम्पिने खतरा भने देखिएको छ ।

 

भारतले पनि जलविद्युत आयोजनामा भने आँखा लगाईरहेको छ । प्रचण्डले पनि भारतलाई केही गिफ्ट दिएर उसको नजिक र विश्वासिलो हुन खोजिरहेका छन् । त्यसैले बरु जलविद्युतमा राष्ट्रघात हुने संभावना रहेको आशंका विज्ञहरुले टिप्पणी गर्न थालेका छन् । 


भारतले अहिलेको प्रचण्डको भ्रमणलाई औपचारिकतामा सीमित गराउन खोजेको देखिन्छ । उसले प्रचण्डका लागि गतिलो सहमति गराएर सफल प्रधानमन्त्री हुन दिने संभावना कम रहेको छ । त्यसैले, प्रचण्डको अहिलेको भारत भ्रमणलाई भारतनिकटका कूटनीतिज्ञ र बुद्धिजीवीहरु ‘वार्मअप’ भ्रमणमात्रै भन्ने गरेका छन् । प्रचण्डको चाहना र बडी ल्याईग्वेज बुझ्नका लागि मात्रै भारतले बोलाएको ती भारतीय बुद्धिजीवीहरुको भनाई रहेको छ । त्यसैले, अहिलेको भारत भ्रमणबाट नेपालले मोटो कोसेली पाउने अपेक्षा गर्ने ठाउँ भने छैन । 


तर, भारतले प्रचण्डलाई धार्मिक भ्रमण भने बनाईदिनेछ । विभिन्न मठमन्दिरमा भ्रमण गराउने कार्यसूची पनि तयार भइसकेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग सम्बन्ध सुधारका लागि धार्मिक अस्त्र नै प्रयोग गर्ने रणनीति बनाएर प्रचण्डले पशुपतिनाथका मूल भट्टलाई पनि आफ्नो टोलीमा पारेको स्रोतको दावी छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार, मूल भट्ट र पशुपति क्षेत्र विकास कोषका विवादित, जलहरी काण्डका आरोपी सदस्यससचिव मिलनकुमार थापालाई भ्रमणको सूचीमा राखेका छन् ।   


  अहिलेसम्मको भ्रमणको कार्यक्रम अनुसार, भारतले प्रचण्डलाई भ्रमणका क्रममा भारतको प्रसिद्ध उज्जैनको महाकालेश्वर मन्दिर तीर्थाटन गराउने भएको छ । भारतीय सञ्चारमाध्यमले पनि यो कुरा सार्वजनिक गरिसकेका छन् ।

 

अघिल्ल्लोपटक पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न मन्दिरमा पूजापाठ गर्न लगाएको थियो  । अहिले प्रचण्डलाई पनि मन्दिरमा पूजा गर्न लगाउने र भारतको मनको कुरा(हिन्दु राष्ट्रको चाहना) बुझाउने रणनीति भारतले बनाएको स्रोत बताउछ । 


 यसरी हेर्दा प्रचण्डको भ्रमणलाई भारतले औपचारिकता मात्रै दिन खोजेको देखिन्छ । त्यति संकेत नबुझेर प्रचण्डले प्रतिनिधिसभामा ठूला ठूला एजेण्डा प्रस्तुत गरेर देशभक्त बन्न खोजेका छन् । भ्रमणमा ती विषय उठान भएन भने संसदलाई प्रधानमन्त्री प्रचण्डले के जवाफ दिनेछन् ? भन्ने प्रश्न उठेको छ । अर्कातिर ठूला कुरा गरेर भारत भ्रमणमा गएपछि भारत खुसी हुने भन्दा चिढिने संभावना धेरै हुन्छ । त्यस्तो बेला कतिपय ससाना एजेण्डामा पनि सहमति हुने संभावना कम हुन्छ ।

 

जस्तो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट अनिवार्य छ, त्यो अहिले जसरी पनि प्रचण्डले भारतसँग सहमति गर्नुपर्ने हुन्छ तर अहिले नै ढोल पिटेपछि भारतले त्यसलाई मुल्तवीमा राखिदिने संभावना हुन्छ ।

 

ठूलो देशसँग इख पनि ठूलै हुन्छ, त्यसमाथि भारत नेपालको प्रगतिमा साधकभन्दा बाधक नै बनिरहेको हुन्छ । प्रचण्डमा कूटनीतिक परिपक्वता नदेखिँदा फेरि पनि भारतबाट अपेक्षित सहायता प्राप्त गर्ने संभावना टर्ने संकेत मिलेको छ ।

(साँघु साप्ताहिक, २०८० जेठ १५ गते)
 

प्रतिकृया दिनुहोस