• शनिबार-श्रावण-१२-२०८१

चीनको समाजवाद ‘पाँच डी’ ले कसरी चम्कायो ?

 

चीनमा सन् १९४९ देखि लागू भइरहेको समाजवादी प्रणालीले चमत्कार ग¥यो । सन् १९२१ मा गठन भएको कम्युनिस्ट पार्टीको १ सय वर्ष पूरा गर्दा चीनको समृद्धिले विश्वलाई अचम्मित बनाइसक्यो । चीनमा अंग्रेजीको पाँच डी अर्थात डिस्टिनेशन (लक्ष्य, उद्देश्य), डोमिनेशन (प्रभुत्व कम्युनिस्ट पार्टीको), डिसिपिलेन (सर्वत्र अनुशासन), ड्युटी (प्रत्येकको आफ्नो काम र जिम्मेवारी) र डिभोटेशन (प्रतिबद्धता) आदिका कारण चम्किएको समाजवाद समृद्धिमा बदलियो, बदलिँदैछ ।


चम्किलो चीनको चमत्कार हेर्न नेपाली कम्युनिस्ट पार्टीका नेताहरू भ्रमणमा जाँदैछन् । विगतमा पनि चीनको पार्टी प्रणाली र विकासको नेताहरूले चमत्कार देखे । यद्यपि त्यहाँका राम्रा पक्षलाई नेपालमा लागू गर्न सकिएन । 


चीनको समाजवाद
चीनको समाजवाद विश्वमा अभ्यास गरिएका प्रणलीहरू भन्दा अलग्गै रहेको अनुभूति हुन्छ । जसले आर्थिक विकास, समृद्धि, नागरिकको जीवनस्तरमा सुधार, मानव र राष्ट्रिय सुरक्षा, समानता, सामाजिक न्याय, मुलुकको उत्पादनशील क्षमता वृद्धि, बजारमा वस्तु तथा सेवाको व्यापक विस्तार एवम् रोजगारी र शिक्षा जस्ता विषयमा उनीहरूले आफ्नो समाजवादी सीपलाई तिखारे । सिद्धान्त र ज्ञानको समाजवादबाट सीप र समृद्धिको समाजवादमा बदले । चीनका नागरिकमा आफ्नो देश र शासनप्रति अति विस्वास र समर्पण  देखिन्छ ।

 

राष्ट्रपति सिजिनपिङलाई सबैले सम्मान गर्दछन् । सोही कारण सत्ता बलियो छ । विगतमा विश्वका धेरै समाजवादी सत्ता स्वतर भए । जसले समाजवादलाई सिद्धान्त र ज्ञानको समाजवाद तथा विचारधारालाई वेदका ऋचा जस्तो बनाए ति सकिए । विगतमा सुनेको र घोकेको समाजवादी धारणा र विचारमा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्न हुन्न भन्ने सोचियो । 

 


समाजवादी सत्तालाई कम्युनिस्टले जप्ने मन्त्र जस्तो बनाइए । ती सत्ताप्रति नागरिक अपनत्व भएन । समाजवादी सिद्धान्तलाई मुसलमानको धर्मग्रन्थ ‘कुरान’ जस्तै बनाएर सोचियो । जसले गर्दा समाजवादी भनिएका त्यस्ता सत्ता र आन्दोलन पुरै ध्वस्त भयो । शासनमा सिर्जनात्मकता, बदलिँदो आवश्यकता र विश्व बुझेर त्यसमा सीप लगाएर लागू गरिए त्यस्ता सत्ता चाहिँ चीनको समाजवादी प्रणाली जस्तो प्रभावकारी भए । चीनले लागू गरी आएको समाजवादको धारणाको सफलताको चुरो यही हो । 

 


समाजवादलाई दर्शन र ज्ञान मात्र हो भनेर त्यसलाई पूजा गर्नुपर्ने खाले विचार तथा मान्यता अघि सार्नेहरू भूराजनीतिबाट अस्ताए, अस्ताउँदैछन । बन्दुकको बलमा शासन गर्ने उत्तरकोरियाली मोडेल आफैँ ध्वस्त बने, बन्दैछन् । आर्थिक–सामाजिक र साँस्कृतिक परिर्वनमा बढी ध्यान दिने सत्ता चाहिँ चीनको समाजवादी प्रणाली जस्तो जनताको शासन बने ।

 


समाजवाद र संस्कृति
खासमा समाजवाद के हो भन्ने अर्थतर्फ ध्यान दिने हो भने यो एउटा आर्थिक–समामाजिक र राजनीतिक समानताको दार्शनिक अवधारणा हो । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोष (२०६७) मा समाजवादलाई यसरी उल्ल्ेख गरियो–‘समाजवाद भन्नाले समाजमा रहेको आर्थिक विषयमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनु पर्दछ भन्ने राजनीतिक सिद्धान्त ।’ 

 


समाजवाद सम्बन्धी धारणातर्फ विचार गर्दा मानव समाजको लागि आवश्यक विषय हो भन्ने प्रस्ट हुन्छ । समाजवाद सम्बन्धी धारणा जहाँ विचार केवल ज्ञानको समाजवादको लागि राखिने र बोलिने सस्तो नारा बनाइयो त्यसप्रति नागरिक अपनत्व भएन । नेपालमा पनि लामो समयदेखि समाजवाद ल्याउने वा समाजवादमा जाने भन्ने गीत बढी गाइए । यद्यपि हामीले समाजवादतर्फ खासमा कुनै सीप विकास नै गरेनौँ वा अभ्यास गर्न सकेनौं । सस्कृति र अभ्यासको आवश्यकता कहिल्यै ठानेनौं ।

 

सीप र अभ्यास नै नगरिएको समाजवाद आउँछ भन्ने कुरामा कसरी विस्वास गर्ने हो ? अभ्यास र सीपको विकास नगरी केवल फोस्रा नारा वा सिद्धान्त वा ज्ञान मात्र गाउँदा समाजवादको कुरा फोस्रो बन्न पुग्यो । तापनि समाजवादी विचार चाहिँ आफैमा विज्ञानवादी दर्शन हो । कम्युनिस्टको सत्ता पनि आर्थिक, सामाजिक सुधार नगरी टिकेन, टिक्दैन भन्ने चीनको सफल समाजवादी प्रणालीबाट र रुसको तत्कालिन शासनबाट प्रस्ट देखिन्छ । 

 

सन् १९७५ देखि सन् २००९ अघि सम्म भारतको कलकत्तामा माक्र्सवादी सत्ता सञ्चालित थियो । निर्वाचनमा जनताको अपार समर्थन देखिन्थ्यो । तर नागरिकको जीवनमा समृद्धि, विकास र परिवर्तन चाहिँ देखिएन । सोही कारण सत्ता ढल्यो । कहिल्यै फर्केन । यसबाट प्रस्ट हुन्छ–नागरिक समाजवादको गीत र नारा सुनेर, पढेर बाँच्न सक्दैनन् । झुटको आयु सत्य नखुल्दा सम्म मात्र हुन्छ भन्ने कुरा कलकत्ताबाट पनि प्रमाणित भयो । नेपालमा यस्ता घटनाबाट शिक्षा लिनु पर्दछ ।

 

भूराजनीति र नेपाल
वर्तमान भूराजनीतिमा अनेकौँ परिवर्तन देखिदैछन् । विश्वव्यापीकरण, बजारीकरण, निजीकरण, व्यक्तिवाद, निजी स्वतन्त्रता, बसाइसराइ, वैदेशिक रोजगार, सूचना र सञ्चारमा आएका अनेकौँ परिर्वतन, पुँजीवाद, उदारवाद, स्वतन्त्र बजार, नागरिक स्वतन्त्रता, विकास र समृद्धिका विभिन्न आयाम आदिले विश्व राजनीति, वजार र सत्ताहरू प्रभावित छन् । विश्वमा केवल सिद्धान्त र ज्ञानको समाजवादले केही दिन पनि सक्दैन । सिद्धान्त, नारा र ज्ञानमा मात्र सीमित रहेको समाजवादलाई सीपमा बदल्न नसक्ने हो भने त्यो प्रत्युत्पादक विचार बन्न नसक्ला भन्न सकिन्न । नेपालमा पनि समाजवादको नारा लागेको दशकौँ भइसकेको छ ।

 

कम्युनिस्ट पार्टीहरू मात्र होइन काँग्रेस जस्ता प्रमुख राजनीतिक दलको राजनीतिक घोषणापत्र, विधान तथा भाषण आदिमा समाजवाद लेखिएका छन् । नेपालको संविधानको प्रस्तावनामा ‘..समाजवादप्रति प्रतिबद्ध..’ भन्ने पदावली समेत उल्लेख गरिएको देखिन्छ । त्यतिमात्र होइन उम्रँदै तीन पात भने जस्तो हुतीगति नभएका माधव नेपालले नेतृत्व गरेको दलको नामै समाजवादी राखिएको छ । ३२ सिटे प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । तिनले आफ्ना राजनीतिक कार्यक्रम तथा भाषणहरूलाई ‘समाजवादतर्फको यात्र’ भन्दै फेरि जनताको आँखामा धुलो हाल्दैछन् । विगतदेखिनै नेपालमा समाजवाद शब्द तथा भाष्यप्रति निकै लगाव र रुची चाहिँ देखियो । तरपनि दलहरू प्रस्ट चाहिँ छैनन् । कस्तो समाजवाद ? कुन मोडेलको समाजवाद ? कहिलेदेखि समाजवाद ? अन्यौल छ । आखिर हामी कस्तो समाजवादमा पुग्न केके गर्दछौं ? कोही प्रस्ट भन्दैन । 

 


विश्व अनुभव
जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) र फेडरिक एङ्गेल्स (१८२०–१८९५) द्वारा प्रतिपादन गरेको राजनीतिक दर्शन र विचारमा अडेको समाजवादी राजनीतिक विचारधारामा आधारित दर्शन विज्ञानवादी विचार हो । विश्वको अनुभव हेर्दा तत्कालीन सोभियत संघका नेता भ्दादिमिर लेलिन (१८७०–१९२४) ले पहिलो पटक सन् १९१७ अक्टोबरमा क्रान्ति मार्फत समाजवाद लागू गरे । तत्कालीन सोभियत संघ (रुस) मा लेलिनको मृत्यु पश्चात सत्तामा आएका उनकै चेला जोसेफ स्टालिन (१८७८–१९५३) ले पिपुल्स इनिमी (वर्ग दुश्मन) खतम गर्नमा त्यो सत्ताको दूरुप्रयोग गरिदिए । सोही कारण समाजवादी सत्ताको तीव्र आलोचना पनि भयो । सो शासनकालमा रुसमा लाखौंलाख मानिसको हत्या गरियो । सोही कारण समाजवादी क्रान्ति बदनाम समेत बन्यो । तापनि सन् १९८९ सम्म रुसमा समाजवादी भनिएको सत्ता चाहिँ जिनतिन टिक्यो । सोभियत रुसमा समाजवादी सत्ता ढलेपछि पूर्वी एसिया र विश्वका अन्य मुुलुकहरूमा भएका सत्ताहरू धमाधम ढले । यद्यपि क्यूवा र चीन जस्ता कतिपय देशमा आज पनि समाजवादी सत्ताहरू सञ्चालित रहेका देखिन्छन् ।

 


 यसरी विश्वमा समाजवादी सत्ताहरू ढल्दा पनि किन चीनमा समाजवाद टिक्यो ? चीनको समाजवादले जनताको जीवन र मुलुकको मुहार कसरी फेर्न सक्यो ? खोजको मूल सवाल यो हो । नेपालमा चाहिँ किन समाजवादलाई चुनावी नारा मात्र बनाइयो ? सन् १९७८ बाट चीनले विकास र समृद्धिमा चमत्कारिक फड्को मा¥यो । अहिले यो गति तीव्र हुँदैछ । समृद्धिको विश्व सूचीमा दोस्रो नम्बरमा रहेको चीनले सबैलाई पछि पार्ने आंकलन गरिएको छ । यस्तो समृद्ध र विकसित समाजवादी प्रणाली भएको चम्किलो चीनमा नेपाली नेता र नीति निर्माताको दर्जनौँ भ्रमण भएका छन् । यसबाट नेपालले कहिले के के सिक्ने हो चासो र चिन्ताको विषय भएको छ । 
 

प्रतिकृया दिनुहोस