• शुक्रबार-बैशाख-२६-२०८२

अर्थ मन्त्रालयमा पिएचडी होल्डरको लर्को !: होला त खस्कँदो अर्थतन्त्रको अप्रेशन !!

 

काठमाडौं । मन्त्रिपरिषद बैठकले भदौ २९ गते अर्थ सचिवमा बिवादस्पद पात्र डा. कृष्णहरि पुष्करलाई नियुक्ति गरेको छ । उनको पुनरागमन (कमब्याक) सँगै मन्त्रालयमा पाँच जना विद्यावारिधिवाला डाक्टरको थुप्रो लागेको छ । मुलुकको अर्थतन्त्र यतिवेला दिनप्रतिदिन ओरालो यात्रातर्फ लम्किरहेको छ । यस्तो अवस्थामा मन्त्रालयले पहिलो पटक पाँच डाक्टरको उपाधि लिएका कर्मचारी र सल्लाहकारको टिम मन्त्रालयले पाएको छ । उनीहरुले नेपाली अर्थतन्त्रको ओरालो यात्रालाई कसरी उकास्ने हुन् भन्ने कौतुहलता पैदा गरेको छ ।


मन्त्रालयको नेतृत्वकर्ता अर्थ मन्त्री डा. प्रकाशशरण महत रहेका छन् । मन्त्री महतले आफ्नो सल्लाहकार टिममा पीएचडी उपाधि नै हासिल गरेका डा. विश्व पौडेल र डा. पोषराज पाण्डेलाई नियुक्त गरेका छन् । आरजु देउवा निकट डा. पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने डा. पाण्डे सदस्य हुन् । मन्त्रालयका दुबै सचिव पनि पीएचडी उपाधि हासिल गरेका छन् । राजस्व सचिव डा. राम प्रसाद घिमिरे र अर्थ सचिव पुष्कर पनि पिएचडीधारी नै छन ।


अर्थमा अहिले मन्त्री, आर्थिक सल्लाहकारद्वय पौडेल र पाण्डे, सचिवद्वय पनि रहेकोले डाक्टरसा’वहरूको यो टिमले हाल मुलुकमा रहेको आर्थिक समस्या र मन्दीको समाधान गर्न कस्तो भूमिका निर्वाह गर्नेहुन् कि हात्ती आयो  हात्ती आयो फुस्स हुने हो भन्ने चौतर्फी चासो चर्चा छ । राजस्व असुली पनि चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा २५ देखि ३० प्रतिशतसम्म कम उठ्ने अनुमान राजस्व प्रशासकहरूले गर्न थालिसकेका छन । पीएचडी उपाधि हासिल गरेका बौद्धिक र अर्थतन्त्रका जानकारहरुलाई साथमा राखेर समग्र अर्थतन्त्रको उपचारको कसरी गर्लान् भन्ने चासो सर्वत्र बढिरहेको जानकारहरु बताउँछन ।


यस अघि यसरी अर्थमा एकै पटक पाँच जनाको टिम पिएचडी गर्नेहरूको संयोग जुरेको थिएन । कहिले मन्त्री त कहिले सचिव पिएचडी गरेको हुने गरेकोमा यसपटक भने मन्त्री, सल्लाहकार, राजस्व सचिवदेखि अर्थ सचिव सबै नै डाक्टरहरुको टिम बन्न पुगेको छ । यो टिमले विश्व आर्थिक मन्दीको प्रभावले थिलथिलो र जर्जर बनेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन कस्तो भूमिका निर्वाह गर्लान् र इतिहास बनाउलान् भन्ने जिज्ञासा उत्पन्न गराएको छ ।


अर्थ मन्त्री महत भने अर्थतन्त्र चलायमान नहुनुमा नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिलाई दोष दिएर उम्किन खोजिरहेका छन । गभर्नर महाप्रसाद अधिकारी भने अर्थतन्त्र चलायमान नहुनु रूस–युक्रेन युद्ध, डलरको भाउ बढ्नुलगायत रहेको बताएर उम्किन खोजेका छन् । नेपाल राष्ट्र बैंककै इतिहासमा गभर्नर महाप्रसाद अधिकारी सबैभन्दा बद्नाम पात्र बनेका छन् ।  (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस