• शनिबार-श्रावण-१२-२०८१

कम्पनीकाे रजिष्ट्रारमा कसले मार्ला बाजी ?

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको त्रिपुरेस्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालय यतिवेला नेतृत्वविहीन हुन पुगेको छ । रजिष्ट्रार पदमा कार्यरत महेश बरालको अघिल्लो २०८० मंसिर १० गते आइतबार अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

 

हुनत यस अघि पनि सहसचिव बराललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको थियो । तर, कार्यालयमा खटाइएका सहसचिव दिवश आचार्य उक्त कार्यालयमा जान मानेन । यही कारण रजिष्ट्रार बराल सरुवा भएको निकाय योजना आयोगमा गएनन् । यस पटक भने उनको सरुवा अर्थ मन्त्रालयमा गरिएको छ ।


सहसचिव बरालका व्याजीसमेत रहेका अर्थ सचिव डा. कृष्णहरि पुस्करकै जोडबलमा उनी सो मन्त्रालयमा सरुवा हुन सफल भएको बताइन्छ । सहसचिव बराललाई बबरमहलस्थित मध्यमस्तरीय कर कार्यालय वा वीरगंज भन्सार कार्यालयमध्ये कुनै एकमा खटाउने तयारी सचिव पुस्करले गरेको बुझिएको छ ।

 

हुन त सचिव पुस्करका व्याजी रहेका अर्का सहसचिव राजेश्वर ज्ञवालीले ठूला करदाता कार्यालयबाट सरुवा भएको तीन महिना बित्दासमेत महाशाखाको जिम्मेवारी पाउन सकिरहेका छैनन् । यसकारण पनि सचिव पुस्करले चाहँदैमा र मन्त्रीको आशीर्वाद नपाएसम्म उनले केही गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।


उता, कम्पनीको नेतृत्वमा जानको लागि भरखरै उद्योग मन्त्रालयमा सरुवा गरिएका दुईजना सहसचिवले रुची देखाएको बताइएको छ । दुईजना सहचिवमध्ये दीपक कुमार पहाडीलाई खटाउने तयारी भइरहेको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।

 

हुन त यसअघि उद्योग विभागको महानिर्देशकमा जानको लागि आधा दर्जन सहसचिवले मनसाय राखेको भएपनि चर्चामा नै नरहेका सहसचिवले बाबुराम गौतमले बाजी मारेका थिए ।

 

त्यसकारण पनि मन्त्रालयको नेतृत्वले भन्दा पनि स्वार्थ समूह र बिचौलिया समूहले यी निकायमा आपूm अनुकूलका र रुची अनुसारका सहसचिवलाई लैजाने गरेको आरोप लाग्दै आएको छ ।

(साँघु साप्ताहिक, २०८० मंसिर १८)
 

प्रतिकृया दिनुहोस