• शनिबार-जेठ-५-२०८१

तिताेमिठाे त्याे विगत : भक्तराज गुरुको पाइप, अजितको सिगार खुर्कोटको बिंडी र बुबाको हुक्का...!

 
“विचार थियो चट्टानी, माटोको ढिक्का बनाई दिऔं । सपना थियो रङ्गिन, पखालेर फिक्का बनाई दिऔं  । मस्तिष्कभरि नकारात्मक सोँच मडारिन थालेपछि,अमूल्य वस्तुलाई समेत खोटो सिक्का बनाई दिऔं  (जयन्त प्रधानाङ्ग,साहित्य लेखक, बुद्धिजीवी, बिराटनगर,  सामाजिक सञ्जालको भित्ताबाट । पुष २३, बि.सं.२०८०)

 

‘जसले चुरोट–बिंडी–चिलिम–हुक्का खान्छन तिनको मृत्यु आन्द्रा कुहेर हुन्छ’ भनेर भनेपछि मेरो त सातो गयो । डेरामा आएपछि एउटा बिंडी सल्काएँ र बाँकी बिंडीको मुठ्ठो कच्याक्कुचुक्क पारेर अलि पर गएर खहरेको खोल्सामा फ्यालीदिएँ ।

 

 खैनी नखान वा चुरोट कति तानेको भनेर घरमा गाली गर्ने भएकाले हुन सक्छ वा विहान घरमा चिया एक कप पिएर अरु तलतल लागेमा फेरि माग्यो भने दिनेवाला छैनन् भन्ने बुझेर विहानीको डुलाई यसाे २० मिनट जति गरेर घण्टौँ समय चिया पसलमा चुरोट चिया खैनीको लहरो नै चल्छ हाम्रातिर त, अन्त कस्तो चल्छ कोनि ! चियासँगै स्वाद लिएर सुपारी–छुर्पी चपाउँदै गर्दा मलाई समेत लोभ लाग्छ ।

( तस्विर सौजन्य : संघीय लोक सेवा आयोगका पूर्व सदश्य प्रा.कृष्ण पोखरेलज्यूको सामाजिक सञ्जालको भित्ताबाट, १६ पुष बि.सं.२०८०)

 

  यस्तो बेला महेन्द्र मोरङ्ग आदर्श बहुमुखी केन्द्रीय क्याम्पसका चुरोट पिउने नेविसंघ अखिल, फेडेरेशन, प्रगतिशील, रास्वविमण्डलको विद्यार्थी मित्रहरु अग्रज विद्यार्थीको सम्झना आउँदा गुरुहरुको पनि सम्झना आउँछ । “विद्यार्थी राजनीति गरम भएपछि तनावले हरिनारायण चौधरी खैनी–शैलेश आचार्य, म, नगेन्द्र ढकाल, रमेश घिमिरे, सन्तोष घिमिरे चुरोट पिउँथ्याैं–अस्ति नै जगदीश तिमीले अखिलका फणिन्द्र तथा अखिलेश्वर दासको चुरोट पिउने बानीको सम्बन्धमा त लेखिसकेको जस्तो लाग्छ ”भनेर तत्कालीन नेविसंघका नेता र हाल नेपाली काँग्रैसका मोरङ्गका नेता हाम्रै परिवारिक नाताले दाजु पर्ने सुनिल दाहालसँग केही दिन अघि कुरा हुँदा स्मरण गर्नु भएको थियो ।  यस सन्दर्भमा २१ श्रावण बि.सं.२०८० मा देहावसान हुनुभएका त्रिविवि प्रध्यापक गुरु प्रो.भक्तराज आचार्यज्यूको पाइप पिउने बानीको पनि सम्झना हुन्छ ।

 

  नयाँ शिक्षा प्रणाली तर्फको मोरङ्ग जिल्लाको पहिलो एसएलसी व्याचमा म पनि थिएँ । मोरङ्ग जिल्ला भरिमा जम्मा १७ जनामात्र एसएलसी उत्तीर्ण भयौं । विराटनगरका उद्याेग व्यापारी घरानाहरु गोल्छा परिवार, दुगड परिवार, राठी परिवार अग्रवाल परिवार सोनी परिवार, तोदी परिवारहरु, जाजु परिवार लगायत उद्याेगपति र व्यापारी जन्माउने म पढेको सत्यनारायण माविबाट चाहिँ म सहित जम्मा ७ जना छात्रमात्र उत्तीर्ण  भएर जिल्ला प्रथम भएर हाम्रो मावि पुरस्कृत पनि भयो ।

 

 नयाँ शिक्षा लागु हुने भएपछि कलेज क्याम्पसमा रुपान्तरण भै सकेको थियो । हामीभन्दा एकव्याच सिनियर पुराना शिक्षाका अग्रज विद्यार्थीलाई एक वर्ष पर्खिन लाएर हामी नयाँ शिक्षाका मोरङ्गका प्रथम एसएलसीसँगै तोकिएको सिटमा प्रवेश परीक्षा लिएर उत्तीर्ण भएकालाई मात्र प्रविणता पत्र तहमा भर्ना गर्ने कार्यक्रम अनुसार भर्ना भयौँ । पाठ्यपुश्तक पनि परिवर्तन भएका थिए ।

 

अंग्रेजी विषय पनि परिवर्तन भएको थियो । अंग्रेजी विषय पूर्वाञ्चल विश्व विद्यालयका पूर्व उपकुलपति प्रो.ध्रुव नारायणलाल दास–भक्तलाल उपाध्याय–राजेन्द्र गुप्ताले पढाउनु गरेपनि नयाँ शिक्षातर्फको नयाँ कोर्शचाहिँ प्रो.राज आचार्यले पढाउनु हुन्थ्यो ।

 

खरसाङ्ग दार्जलिङ्गमा पढ्नु भएको उहाँ अंग्रेजी उच्चारणको लागि पढ्न त्रिविविले लण्डन पठाएको थियो भन्ने क्याम्पस पढ्दा सुनेको थिएँ । उहाँको हातमा पाइप रहेछ भने आज गुरु खुसी हुनुहुन्छ भन्ने लागेर पढाईबारे जिज्ञासा राखेर सोध्न मन लाग्थ्यो ।

 

विराटनगर तीनपैनी हालको मोरङ्ग उद्याेग सङ्गठन नजिक काठको फलैँचा भएको घर थियो । टेवुल टेनिस–चेस–ब्यामिण्टन सहित एलिट क्लवमा मानोरञ्जनको लागि अरु गेम पनि खेल्नु हुन्थ्यो । हेलो भन्ने उहाँको थेगो नै बसेको थियो ।

 

  उमेरमा अर्धाङ्गिनी परलोक हुनु भएपनि हुर्किंदै गरेका ससाना बालबच्चाको लागि स्नेह नभाँडियोस् भनेर विवाह नगरी बश्नु भएकाले उहाँले विद्यार्थीहरुलाई असाध्य मायाँ गर्नुहुन्थ्यो-र, विद्यार्थीहरुले समेत अति आदर गर्दथिए ।

 

  भक्तराज सरको कम बोल्ने  बानी थियो । कक्षा काेठामा पसेर चक डष्टर नोट राख्ने रोष्टम टेवुलमा किताव राखेर आँखा दाँया बाँया कुनाकानी घुमाएपछि हामी चुइँक्क नवोली सतर्क हुन्थ्यौँ । उहाँको कक्षा हुने बेलामा कोही क्यान्टिनतिर गएका रहेछन् भने जाे कोही  हाेस् साथीहरु त कुद्दै ‘बेलायती सरको क्लास नछोड है केटा हो’ भनेर बोलाएर ल्याएपछि स्वाँ स्वाँ गर्दै कालोनिलो मुख पार्दै ‘मे आईकम सर’ भन्दा हामी मुश्किलले हाँसो रोक्ने गर्दथ्यौँ । उहाँले पढाएको अंंग्रेजी विषयमा म डिक्शनेरी नहेरी नै प्रोनाउन्सेशनको अक्षर लेख्न जान्ने भएको थिएँ–अहिले त सातसालभन्दा अगाडिको उच्चारण गर्ने तरिका पनि बिर्सिन लागेछु ।


  “हैन भक्तराजजी तपाईंलाई कारसाङ्ग छोड्ने बेलामा नै अंग्रेजहरुले यो पाइप उपहार दिएका हुन कि कसाे भनेर जिस्क्याउने गर्थेँ ।...एकदिन हिन्दी चलचित्र हेर्न विराटनगरको मिल्स एरियास्थित अरुण चलचित्रमा हामी दुबै गएका थियौँ ।

 

चलचित्र हलको सिंढी चढेर माथितिर जाँदैगर्दा चलचित्र हलबाट बाहिर निस्केका दर्शकहरुले भक्तराजको मुखमा पाइप देखेपछि उहाँलाई देखाउँदै ‘उ हेर फिल्मको बोश’ भनेको सम्झना हुन्छ, सायद चलचित्रमा भारतीय कलाकार अजितले वा राजकुमारले खेलेका हुनुपर्छ, ठ्याक्कै सम्झना हुन सकेन” भनेर केही दिन अघि मेरा आदरणीय गुरु तथा संघीय लोक सेवा आयोगका पूर्व सदस्य प्रा.कृष्ण पोखरेलज्यूले यो पंक्तिकारसँग भन्नु भएको थियो ।

 

वि.सं.२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन शुरू गर्न जनमनको भावनाबुझ्ने सिलसिलामा विराटनगर जानु हुँदा विराटनगर पुग्नु भएका नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नोना कोइराला तथा स्थानीय काँग्रेस नेता एवं केही जनताहरु समेतको सहभागितामा भएको छलफलमा प्राज्ञद्वय भक्तराज सर र कृष्ण पोखरेल सर समेत सहभागी हुनु भएर दुई उच्च नेताद्वयको मन्तब्य सुन्नु भएको थियो भन्ने कुरा कृष्ण पोखरेल सरले १६ पुष बि.सं.२०८० का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा तस्विर सहित साझा गर्नु भएको थियो ।

 

“सारा शहर मुझे लायन के नाम से जानता है”(-जैनेन्द्र जैन, ई.सं.१९७६ । भारतीय चलचित्र ’कालीचरण’ को लागि शब्दहरु) भन्ने सम्बाद बोलेर दर्शकको मनले नबिर्सने गरी स्थापित भएका, ई.सं.१९४५ बाट अभिनय शुरु गरेर सन् १९९५ मा क्रिमिनल चलचित्रमा जगदीशप्रसाद नाममा अभिनय गरेपछि सम्भवत अभिनय पेशाबाट विदा हुनुभएका सिगार र चुरोट साथमा अभिनय गर्ने भारतीय चलचित्रमा अजित नामले परिचित हमिद अलि खान हुन वा पाइप समाउने राजकुमार वा सञ्जीव कुमार हुन वा रजनीकान्त चलचित्रमा तम्बाखु अम्मली भएपनि पहिचान धुम्रपान गर्ने शैलीले गराएको थियो ।

 


(तस्बिर सौजन्य : चलतापूर्जा । न्यूज पोर्टल । भारत । पहुँच २९ डिसेम्बर ई.सं.२०२३ मार्फत गुगल इन्टरनेट)


जीवन नामले परिचित ओमकार नाथले नयाँ दौरमा खलनायकको भूमिकामा खेल्दै नायक दिलीप कुमारसँग “सिगार पिउने हो ?” भनेर साेध्दा “तिमीहरु धनी त गरिबको रगत पनि पिउँछौ, हामी गरिबसँग सिगार पिउने पैसा कहाँबाट हुन्छ र” भन्ने जवाफ दिलीपकुमारले दिएको सुन्दा सानोमा मलाई ए यो सिगार त धनीमानीले मात्र पिउने चिज रहेछ भन्ने लाग्थ्यो ।

 

 भारतीय चलचित्र जन्जिरमा अमिताभ बच्चन र अजितको बीच भएको द्वन्द्वात्मक संवादमा अजितले “यदि मैले चाहेमा मेरा मान्छेहरु तिमीलाई यस्तो गर्छन” भनेर चुरोटको खरानी रक्सीको ग्लासमा झारेको र त्यसको जवाफमा अमिताभले चेतावनी दिँदै “खानासँग सिगरेट पिउनु खराव बानी हो” भनेको सम्झदा चुरोट भनेको त खाली पेटमा पिउने अम्मल पो रहेछ भन्ने लाग्थ्यो ।


 
  साविकमा बाशेश्वर गाविस वार्ड नं.०८ हाल गोलाञ्जोर गाउँपालिका वार्ड नं.०६ मा पर्ने यो पंक्तिकार जन्मेको पहाडको गाउँ घोकशिला पोखरी गाउँमा सतिवयरको पातमा सुर्ती बेरेर खाने धेरै थिए । तल्लो वर्गहरु पातको बिंडीमा रमाउँथे । अरुहरु कोही चिलिम त थोरै व्यक्ति मात्र हुक्का तान्दथे ।

 

आफ्नै माइलो बुबाको छोरा दाजु बल्लभ बरालले असारको विदाको बेलामा घरका सबै गाउँभन्दा ४ किमी तल बेशीमा रोपाईमा ब्यस्त भएको मौका छोपेर गाउँमा आशा चुरोट चखाउनु भयो । यस्तै मौका छोपेर एकदिन बुबाको हुक्कामा तम्बाकु भरेर हुक्का चखाउनु भयो ।

 


 

(तस्बिर श्रेय : लेखकसँग बल्लभ बराल । लेखकबाट)


 बल्लभ दाजुले बुबाले राखे कै तरिकाले हुक्का र तम्बाकुको भाँडो राखेपनि बेलुका बुबालाई शङ्का भए छ कि कसाे ‘हैन यो हुक्का कसले चलायो’ भनेर आमालाई सोध्नु भयो । आमाले कुरा बुझ्नु भएछ र हामीलाई गाली गोदाईबाट जोगाउन आफूले बेशी झर्नेबेलामा मिलाएको भनेर टार्नु भएपनि बेलुका आमाको केरकारमा सत्यकुरा खोतल्नै परेको थियो ।

 

  बल्लभ दाजु, डाँडाघरका नारायण दाई–शिव भाइ, भतिज विनोद–उद्धव–मोहन बराल लगायतकाहरु हालको घुर्मी खुर्कोट राजमार्गमा पर्ने हैवारको दक्षिण पश्चिममा पर्ने चक्रे घडेरी डाँडाको पाखामा गाई हेर्न जाँदा सतिबयरको पातमा सुर्तीबेरेर चकमकले सल्काएर बिंडी पिउन सिकियो ।

 

यही राजमार्गमा पर्ने सुँघुरे गाउँका भोला बराल दाजु (नेपाल बैङ्कका पूर्व कर्मचारी तथा हाल राजनीतिक विसङ्गति विरुद्ध कविता गीत वाचन गरेर गिदाङ्गे कविको रुपमा पनि परिचित) त्यहाँ स्कूल नभएकाले ५ किमी परपर्ने हाम्रो घरमा बसेर पढ्दै गर्दा लाइटर देखेपछि बल्लभ दाजु र मैले सल्लाह गरेर लुकायौँ ।

 

बेलुका उहाँले यिनैले चोरे भनेर बबाल मच्चाएपछि हाम्रा चुरोट बिंडी तथा तम्बाखुका कर्तुतहरु छरपष्ट भए र हामीले खान पनि छोडेका थियौँ ।

 

तर, पछि यो कुरा गाउँको मङ्गला प्रावि–हाल माध्यमिक विद्यालयमा थाहा भएछ, गुरुहरु रामेश्वर बराल–लोकहरी बरालले थाहा पाउनु भएपछि सम्झाई बुझाई गर्नु भयो ।



(तस्विर श्रेय :लेखक पढेको मङ्गला प्रावि । घोकशिला विकास समाजबाट) ।

 

  स्व.श्री ५ महेन्द्रको स्वर्गारोहण भएको सालमा हामी गाउँबाट खुर्कोटको जनज्योति निम्न माध्यमिक विद्यालयमा अध्ययन गर्दै थियौँ । बल्लभ दाइ खुर्कोट खोला सुनकोशीमा मिशिने दोभान नजिक हाम्रा नाता पर्ने बैकुण्ठ आचार्य दाजुहरुको घर नजिकको घरमा बस्नु भयो । म र नाताले भतिज पर्ने होममणि बराल बैकुण्ठ दाजुकै काका बुबा खलक हाम्रा नातेदार टङ्कप्रसाद आचार्यको घरमा बस्याैं। डेराको भाडा तिर्नु पर्दैनथ्यो ।

 

  घर छोडर खुर्कोटको डेरामा बश्न थालेपछि अलि स्वतन्त्र भइएछ । म विद्यालयबाट डेरामा फर्किएपछि बिंडी पिउन थालें, होममणि चाहिँ धुम्रपान गर्दैनथे तर काका अबदेखि नखानुस् है भनेर सचेत चाहिँ गराउँथे ।


बिंडी खाने हल्ला चलेकाले हो कि कसाे एकदिन प्रधानाध्यापक रामप्रसाद गजुरेलले स्वास्थ्यबारे पढाउँदा ‘जसले चुरोट–बिंडी–चिलिम–हुक्का खान्छन तिनको मृत्यु आन्द्रा कुहेर हुन्छ’ भनेर भनेपछि मेरो त सातो गयो । डेरामा आएपछि एउटा बिंडी सल्काएँ र बाँकी बिंडीको मुठ्ठो कच्याक्कुचुक्क पारेर अलि पर गएर खहरेको खोल्सामा फ्यालीदिएँ ।

 

गुरुको पढाईले सातो यसरी गएछकि मलाई त त्यसपछि धुवाँको गन्ध देखि नै बान्ता होला जस्तो हुन थाल्यो । त्यसपछि मैले धुम्रपान गरिन र आजसम्म आईपुग्दा समेत ।

 

 

 

प्रतिकृया दिनुहोस