• शनिबार-जेठ-५-२०८१

कर्मचारीको सरकार-लाचार भएर मर्दै-मर्दै बाँच्नु परेको छ !-(२)

जव राजनीतिले आफ्नो कर्मलाई दोषका धुँवाले ढाक्छ...?


  भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गतको बालकोट खानेपानी आयोजनाको पानी आपूर्तिको वर्ष दिन पानी नआउने ब्यथा भएकोमा निको भएको अझै एकिन गर्ने अवस्था नरहेको । सेवा प्रवाहको सन्दर्भमा यो पंक्तिकारले चासो राख्दा ‘स्थिर सरकारमा नैराश्यता आएपछि सेवा प्रवाह लथालिङ्ग हुन्छ र जनमत संग्रहपछि पञ्चहरुमा मनपरीतन्त्र, विकृति तथा विसङ्गति देखिन थालेकोले कर्मचारीतन्त्रमा नैशास्यता आएर उनीहरुपनि मनपरी गर्न थालेकाले पञ्चायतको आयु छोटियो । 

पञ्चायतको उत्तरार्धमा राज्यका सबै अङ्गमा भद्रगोल देखिएका यहाँसम्मकि राति गोठमा बाँधेका गाई चोरेर अर्कै गाऊँको हटियामा बेच्न राखेकोमा गाई धनीले खोज्दै जाँदा देखेर गाईले चिनेपछि गाई कराएर हटिया नै थर्काएको बेला गाई लैजान परेको प्रहरी प्रतिबेदनलाई प्रहरीले चोर र  चौकीलाई समेत मिलाउनु पर्छ भनेर आफ्नै चोरिएको गाईको आधा भन्दा बढी मूल्य तिर्न लाएका थिए पञ्चहरुको प्रहरीले’ भनेर एकजना भुक्तभोगीले पुराना कुरा सुनाएको प्रसङ्गपनि सान्दर्भिक देखिन्छ ।

 


जव राजनीतिले आफ्नो कर्मलाई दोषका धुँवाले ढाक्छ, जव सतोगुणी राजनीतिको पवित्र विचारलाई त्यागेर तामशी वा तमोगुणी राजनीतिज्ञहरु राजनीतिको नाममा अराजनीतिक खेल्न थाल्छन तव जनताहरु उनीहरुको नजरमा गौण हुन थाल्छन् ।


  “नागरिकता संवेदनशील विषय हो । नागरिकताले देशको राजनीति व्यवस्थामात्र हैन भूगोल पनि परिवर्तन हुन सक्ने हुँदा यसतर्फ सिर्फ राजनीतिक फायदामात्र नहेरी २०६३ कै जन्मसिद्ध नागरिकताको आधारमा अव वितरण गर्ने नागरिकताको पहिचान हुने भएकाले त्यो छानविन गरेपछि मात्र राष्ट्रिय परिचयपत्र वितरण गर्नेगरि हाल यस्तो परिचयपत्र वितरण स्थगन गर्ने”( जगदीशराज बराल ।

 

२०६३ को जन्मसिद्ध नागरिकताको छानविनको टुङ्गो नलागुञ्जलेसम्म राष्ट्रिय परिचययपत्र र विधेयक स्थगित गरौं । काठमाडौंन्यूज डटकम । मिति २०७९ साउन १० गते) भनेर मैले अडान लिएपनि बि.सं. २०७८ साल मंसिरमा वडामा राष्ट्रिय परिचयपत्र–रापपत्र भरेकोमा हालसम्म प्राप्त भएको छैन ।


रापपत्रको सम्बन्धमा पूर्व मुख्य सचिव डा. विमलप्रसाद कोईराला र पूर्व वनमन्त्री वीरमणि ढकालज्यूले विवरण भएको फारम नै हराएर पुन भर्नु परेको कथा व्यथा हामीले पनि भोग्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । वडा सदस्यहरुलाई नागरिकता–राहदानी–रापपत्र सवै चाहिएको छ । राजनीतिलाई अहिले सिडिओपनि चाहिएको छैन ।  


न्याय समय मै पाउन कठिन भएको छ स्वयं सरकारलाईपनि । २०७४ सालको संघीय चुनावको नजिक तस्करी गर्न लागेको केही सामान जफत गरेकोमा तस्करी गर्नेहरुले जिल्ला-उच्च न्यायलयबाट मुद्दामा पराजित भएपनि पुनः सर्वोच्च अदालतसम्म आएका छन् । ६ वर्ष भयो कसरी मुद्दा इच्छा अनुसार लम्ब्याउन सक्दा रहेछन् यो देशमा भन्ने प्रष्ट हुन्छ ।


“न्याययिक नेतृत्व प्रभावकारी भएमा न्याय प्रणालीप्रति जनविश्वासमा अभिबृद्धि हुन्छ ।....नेपालमा प्रधान न्यायाधीशमाथि महाअभियोग लगाईहाल्ने र थला पार्ने र  महाअभियोग लट्काएर राख्ने परिपाटी बसेको छ । कार्यपालिका र न्यायपालिका बिचको सम्बन्धमा स्वार्थ अनुकूल समन्वयको सिद्धान्त हावी भएकाले प्रतिकूल हुने वित्तिकै दुवैतर्फ  कोलाहल र चर्तिकला शुरु हुने गरेको पाइन्छ” (जगदीशराज बराल । एउटा व्यक्तिले चाहँदा अवश्य फरक पर्नेछ जिन्दगीमा । जनआस्था साप्ताहिक । २०७९ मंशिर २१ गते ) ।  


जव राजनीतिले आफ्नो कर्मलाई दोषका धुँवाले ढाक्छ, जव सतोगुणी राजनीतिको पवित्र विचारलाई त्यागेर तामशी वा तमोगुणी राजनीतिज्ञहरु राजनीतिको नाममा अराजनीतिक खेल्न थाल्छन तव जनताहरु उनीहरुको नजरमा गौण हुन थाल्छन् ।

 

   कोशी अञ्चल अस्पतालमा लथालिङ्ग,समय मै सडक मर्मत नगर्दा तथा सडक सुरक्षा कमजोर हुनजाँदा दुर्घटना बढेको भन्दै कर्मचारी तथा सत्ताधारी एबं राजनीतिज्ञ समेतलाई “ठाकुर” उपमा दिएर बिराटनगरका सचेत नागरिक एबं बरिष्ठ पत्रकार, अधिवक्ता,समाजसेवी उद्धव केसीले–“सोच लो ठाकुर तिम्रो पद,सत्ता,कुर्सी,पहुँच र वर्तमान हैसियत तिम्रो सन्तानले पनि प्राप्त गर्छ भन्ने ग्यारेन्टी छैन ।


 अतः हामी ( तिम्रा सन्तान समेत ) सबैको सामुहिक सुरक्षाको बारेमा सोचौँ । असुरक्षित समाजमा तिमीहरू सुरक्षित रहन असम्भव छ । म,बहिरो भएकोले मात्र जोडले बोलेको हो । म,आवेशमा आएर बोलेको होइन" भन्दै मिति बि.सं. २०८० फागुन २० गते तथा “लगभग २ महिनादेखि कोशी अस्पताल देखि मोरङ्गको सिडिओ कार्यालयसम्म सडकको दायाँबायाँ नदीखोलाको बगर समान धुलाम्य छ ।


 बस, ट्रक,कार वा मोटरसाइकल ओहोरदोहोर गर्दा दिउँसै अन्धकार । यस विषयमा पटक पटक अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवाललाई भेट्न चाहे भेट हुन सकेन् । सरोकारवाला अन्य निकायमा गएर विन्ती गरें । हामीले गरेको होइन भनेर पन्छिन खोजे । डाक्टर सिलवाललाई भेट्न नपाएपछि म सिधै बि.सं.२०८० फाल्गुन १६ गते बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष विन्तिपत्र चढाउन पुगेँ” आफ्नो सामाजिक सञ्जालको भित्तामा बिचार राख्नु भएको थियो ।

 
 
“सङ्कटमा राज्य लोक कल्याणकारी नहुँदा वा नव उदारवादको कारण देशमा बेरोजगारको अवस्था नाजुक हुन्छ जव चुनावी बाचालाई चटक्कै विर्सेर सत्ता जनताप्रति असार्वभौम हुन जान्छ, जव विचार र सिद्धान्तबाट पतनहुने क्रम शुरु हुन्छ र सत्ता नै सवथोक हो भन्ने मान्यता स्थापित हुन्छ”(जगदीशराज बराल । राज्यले नै बनाईदिन्छ कला संस्कृतिक सिर्जनाको वाताबरण । साँघु साप्ताहिकको डिजिटल प्रकाशन साँघु न्यूज डटकम । मिति २०७८ चैत्र ०८ गते) ।


“विचार,सिद्धान्त एवं नीति अवधारणाको शुद्धतामा रमाएको व्यक्ति सत्ता सुविधाको चत्रमा पिसिँदैन ! विचार एवं सिद्धान्त नमिल्लेसँग सहकार्य गर्दैन ! तर हाम्रो नेपाल राष्ट्रको नियति यो सत्य नीतिको बिरुद्ध रहेको छ !


   विचार,सिद्धान्त,आदर्श एवं मान्यता तथा अवधारणालाई बिदेशीकोमा बन्धक राखेर सत्तासुविधामा रजाईं गर्ने परिपाटी बसेको छ !...नेपाल राष्ट्रको अस्मितालाई हास्यास्पद बनाईएको छ" भन्ने बिचार  पुराना बामपन्थि पछि गएर नेपाली काँग्रेशका नेता मोहनराज चापागाई मिति बि.सं. २०८० फागुन २३ गते आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो ।  


अनि त जनतालाई भाइरल ज्वरोले सताओश की–जनता खान नपाएर भोक भोकै सुत्नु परोश की, अर्थात जे जे गरेपनि साशशकलाई कुनै मतलव हुन्न । नीजगढको जङ्गलमा पुग्दा होश वा महोत्तरीको कलेज स्थापना गर्न हजारौँ हेक्टर बन माश्ने कुरा होश वा पूर्वाञ्चलको कुनै विश्वविधालयलाई चिकित्सा शास्त्रको सम्बन्धन गर्न दिने मामिला होश वा गोकर्ण रिर्सोटपुग्दा होश वा महाकालीको टनकपुर पुग्दा होश सत्ताको लागि तथा सत्तामा पुगपछि राजनीतिले आफुलाई कशरी आर्जन लाभको पोखरिमा डुबुल्की मार्न लगाउँदो रहेछ छर्लङ्ग हुन्छ ।  


अहिले नेताहरु नेताहरुमात्र छैनन । उनीहरुलाई जनताले माया गरेर खुँखार–भेट्रन–डैञ्जर–डन–नेता नम्बर वान–इडियट आदि मायालु विशेषणले सिँगारेर पुकार्न थालेकाले अहिले झुटो नबोल्ने–तोकेको काम फत्ते गरेरै छाड्ने–देश बन्छ भन्ने सिद्धान्त लिएर कुनै अपहरण,मर्डर,महिलाको बेइज्जत, हुलदङ्गा,आगजनी,आर्थिक अपचलन जस्ता लोकलाज छाडेका अपुण्य कार्यमा संलग्न हुने छैनन् ।

 

इमान्दारिता, सत्यता, कर्मठता, देशभक्ति जस्ता गुणहरु मलमूत्र त्याग गरे झैँ चटक्क त्याग गर्न नसक्नेहरुले पोलिटिक्शमा इन्ट्री गरेर नेतागिरी गर्न सक्दैनन(मुकुन्द आचार्य । नेता बन्ने योग्यता । लोकलय विचार प्रधान मासिक । बर्ष ८,अङ्क ९ माघ बि.सं.२०८० । नेपाल) ।  


   शब्दकोषमा थन्किएको पपुलिज्म–डेमागग् अमेरिकामा फर्किए  जस्तो हाम्रो पुस्ताले बिर्सिसकेको भारतको पश्चिम बङ्गालको हम जायगा तथा भारतमा चर्चित नटवरलालको मिथ फेरि फर्केर २०७० को दशकमा नेपालमा आयो । ओली–देउवा–दाहालको टिम ‘हम जायगा राजनीति’को टिम बन्यो (डम्बर खतिवडा । निराशालाई भजाउने‘जोकर’ पात्रहरु ! लोकलय विचार प्रधान माशिक । बर्ष ८,अङ्क ९ माघ बि.सं.२०८० । नेपाल) ।


‘अव सार्वजनिक निकायका पूर्व कर्मचारीहरुको नेतृत्वमा सरकार गठन गर्नुपर्छ,  लोकेन्द्र बहादुर चन्दले त झण्डै यस्तै विचार उहाँले दिनु भएको थियो, बरु बराल सर कुन मन्त्रालय लिने ?’ भनेर मलाई केही दिन अघि विहानको घुमाईपछिको चिया पशलको जमघटमा कशैले सोध्दा“ सबै काम म आर्फै गरिहाल्छु अर्थ सहायक मन्त्री भएपनि मलाई त पुग्छ” भनेर जवाफ दिए । 

 

त्यहाँ चिया पसलमा संस्थान–विश्व विद्यालय सहित पूर्व तल्लो तहका सहित उच्च तहका थुप्रै कर्मचारीहरुको नाम लिँदै कर्मचारीहरुले सम्मेलन गरी चाँडै टुङ्ग्याउनु पर्ने भन्दै गर्दा कोही खिलराज रेग्मीको पालाकालाई दोहोर्याउनु नहुने भन्दै थिए त कोही पूर्व मुख्य सचिवको नेतृत्वमा त कोही पूर्व प्रधान न्यायधीशको नेतृत्वमा हुनुपर्ने भनेर विवाद गर्दै थिए ।

 

यशै बिचमा नेपथ्यमा ‘नीतिगत भ्रष्टचारीगर्नेहरुको सरकारमा भएपनि नभएपनि तामझाम हेर्दा पेल्ने भनेको तीनै बबुरा कर्मचारीहरुलाई कठै ! कालो मोसाे दलेर ब्यक्तिगत आवेगको व्यवस्थापन बाहेक केही हुन्न–नीति गत भ्रष्टाचार गर्नेहरु देशका महान नेता भएका छन् । खै तिनीहरुलाई खवरदारी ! दैनिक गुजारा गर्न लिने दुईचार हजार भन्दा लाखौ गुणा देश र जनताको लागि घातक हुन्छ नीतिगत भ्रष्टाचार’ भनेको समेत सुनिन आयो ।

 


नेपाल टेलिकमले फाइवर नेटवाला प्रणाली चालु गरेपछि हामी बसेको घरको फोनको तार काटिदिए । हामी लैण्डलाइन नै चालु गर्ने भन्दा टेलिकमका कर्मचारीहरुबाट झर्को र फर्को गरेर वास्ता गरेनन् । महिनौँ दिनसम्म फोन चलेन र पछि बाध्य भएर बिजुली आउँदामात्र चल्ने अरु बेला नचल्ने फाइवर जोडेपनि मर्मत गर्न समयमा नआउने–मर्मत नै नगरेपनि मर्मत गरेको भनेर प्रतिवेदन दिने जस्ता गुनासाहरु सुनिन आएपछि टेलिफोबाहेक अरु विद्युतीय साधनहरु यस फाइवरमा जोडिएन ।


सञ्चार मन्त्रालयले मातहत निकायको कार्यसम्पादनमा कुनै गुनासाे आए मन्त्रालयलाई‘थाहा’ होस् भनेको छ रे भन्ने गाईगुई सुनिएकोसम्म छ । फाइवर सेवा सम्बन्धमा साविकमा आउट सोर्सिङ्गको कारणले गुनासाे सुनिएपनि हाल त्यो व्यवस्था हटेकाले रात विहान जुनसुकै समयमा मर्मत कार्य हुने गरेको र नीतिगत सुधारको लागि पनि हामीले गरेको सेवा प्रवाहमा कुनै समस्या देखिए टेलिकम केन्द्र एवं मन्त्रालयमा नै जानकारी गराउन पाउनु सेवाग्राहीको अधिकार भएको ब्यहोरा भक्तपुर गठ्ठाघर टेलिकम केन्द्रका सहायक लेखा अधिकृत रवि कोइरालाले बताउनु भयो ।  


सेवाग्राही–सेवा प्रदायक सम्बन्धले सार्वजनिक सेवाका कानून–कार्यक्रम,कार्ययोजना रणनीतिको तय हुन्छ । अहिले जनताको सेवामा सेवा प्रवाहित छैनन्, निम्न वर्गले मात्र हैन मध्यम वर्ग समेत सेवा लिनु परेमा घुसले गर्दा पूर्व त्रसित हुनपर्छ ।


  सम्बन्धित दलबाट वा ट्रेड यूनियनबाट दिईसकेपछि पनि कुनै कर्मचारी वा राजनीतिक नेताको जन्म दिनमा अलग अलग स्तुति सहित शुभ कामना नदिए वा सँगै बसेको तस्बिर सामाजिक सञ्जालमा नराखे कालो सूचीमा परेको सेवाग्राही पो होइन्छकि भन्ने डर पनि हुन्छ ।

 

यसै पनि चुनावमा हामीलाई भोट नदिए बुझिहाल्नुस् भनेर भारत तथा नेपालमा आश एवं त्रासका सङ्केत आएकै हुन (जगदीशराज बराल । चुनावी अभिव्यक्तिका बाछिटामा तरङ्गित मत परिणाम । (इकागज । ०२ जेठ बि.सं. २०७९) ।


सेवा प्रवाहमा त्यसपछि के हुन्छ ? पूर्व जानकारी हुने व्यवस्था छैन, सेवा ग्राही मैत्री सेवा प्रवाह छैन लगायत कर्मचारी ट्रेड युनियनको कारण सेवा प्रवाहमा पनि सरकारपक्ष–सरकारको विपक्ष भनेर वर्गीकरण हुने गरेको, ट्रेड युनियनका पदाधिकारीहरुको सभ्रान्त जीवन शैलीका समाचार प्रतिवेदनहरु सञ्चारित भएका र नेतृत्वमा टिकिरहन उच्च तहका कर्मचारीहरुले पर्यावरण घाती, देश र जनघाती निर्णयमा यस म्यान भएका भन्ने जस्तो जनतामा नकारात्मकताको सञ्चार भएको हुन्छ ।


     कर्मचारी तन्त्रको–सङ्गठन व्यवहारको–सार्वजनिक प्रशासन र लोकतान्त्रिक समाजको–नयाँ तथा पुरानो व्यवस्थापनको–मानव संशाधन व्यवस्थापनको सिद्धान्तहरु बुझेका–भानुभक्तका भोलि भोलि भनिकन सव जुग वितिगो आजै झोली बक्सियोस् भन्ने श्लोकहरु कण्ठै पारेका–सामाजिक तथा संस्कृतिक विविधता भोगेका पूर्व कर्मचारीहरुको सरकार आवश्यक ठानिएकाे छ । 

 

पूर्व कर्मचारीहरुको सरकार भएमा जनताप्रति सरकारको आस्थाको पुनर्जागरण भएर ‘बेटर गर्भमेन्ट’ सम्म भएपनि पाइयो जनतामा खुसी छाउने थियो भन्ने मनमनै गुनेर आफू पनि सहभागी भएको कर्मचारीको २१ सदस्यीय सरकार मैले पनि मनभित्रै गठन गरेँ ।


(तस्बिर श्रेय : सडक बन्दै गरेको व्यङ्गात्मक उद्धव केसीबाट सामाजिक सञ्जालमार्फत । कोशी प्रदेश, विराटनगर-१८ का सेवा ग्राहीहरुसँग लेखक सहित अरु सबै लेखक स्वयंबाट ) ।    

 

प्रतिकृया दिनुहोस