• शनिबार-जेठ-५-२०८१

कर्मचारीको सरकार-लाचार भएर मर्दै-मर्दै बाँच्नु परेको छ !

   त्रिपदी गजलको संरचनाकार, बुँदेली गजल संग्रह लगायत अनेक साहित्यिक सिर्जनाहरुका लेखक तथा मसँग सामाजिक सञ्जालमा जोडिनु भएका सचेत भारतीय नागरिक महेश कटारे‘सुगम’ले ई.सं.२०२३ डिसेम्बर महिनाको पहिलो साताभित्र आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको बुँदेली भाषाका तीन गजलले भारतीय सरकारी सेवा प्रवाहको चित्रण गरेको पाइन्छ । देहायअनुसार मैले भावानुवाद गरी उहाँको अनुमति लिएर प्रस्तुत गरेको छु–


(क) “पटवारीले खेत नाप्दा चारैतिरबाट मिची दिएछन, वर्षभरी चक्कर काटेर शुल्क मात्र बुझाई रहेको छु । बुढो-खाडो ठानेर होला मलाई झुलाई रहेका, सधैँ साँझ बिहानै उल्टै गाली पनि गर्छन । प्रहरी कार्यालयमा प्रतिवेदन दिन गयो,उल्टै पैसा दिएर पनि रोई कराई गराउन लगाऊछन हाम्रा सुरक्षाकर्मीहरू ।


 कसैको ज्यान कसैले लिए भने पनि कोही गवाही दिन जान मान्दैनन्, जति विन्ती गरेपनि कुनै अधिकारीले सुन्दैनन् । डराएर कोही पनि साँचो कुरा गर्न चाहँदैनन्, यसैगरी लाचार भएर मर्दै-मर्दै बाँच्नु परेको छ । पहिले देखि नै गलत काम गर्नेलाई निरुत्साहित-हतोत्साहित गरेको यो सुगमले बल्ल बुझ्दैछ, मृत्यु विना नै मर्नको लागि तयारी हुँदैछ (०७ डिसेम्बर २०२३) ।”


(ख) “दुःख झेल्नु पर्दा, गजलबाट ब्यक्त गर्दछु । मन भाँचिए पनि, गजलबाट ब्यक्त गर्दछु । कार्यालयमा हुनु भएका अधिकारीले,जब लुट्छन त गजलबाट ब्यक्त गर्दछु । नेताहरु सार्वजनिक जग्गाको माटो, कब्जा गर्छन्  त गजलबाट ब्यक्त गर्दछु । सोझा-सादालाई चाहिँ बेइज्जत, गुन्डाहरु जब इज्जतसाथ मुक्त हुन्छन् त गजलबाट ब्यक्त गर्दछु ।

 

रोष–रिस–क्रोध गर्दै काट मारमा उत्रेर जब, घर–घरमा आगो लगाउछन् त गजलबाट ब्यक्त गर्दछु । गरिब–निम्न बर्ग–उत्पीडितको मरणमा लाश उठाउन पनि, कोही सोध्दैनन् त गजलबाट ब्यक्त गर्दछु (०६ डिसेम्बर) ।”


(ग) “तलवार चलाउने काम जारी नै छ त मलाई के हुन्छ र,आफ्ना राम खुसी नै हुनुहुन्छ त मलाई के हुन्छ र ? आफ्नो हातका पाँच औँला घीऊमा हुन्छन,खुब मच्चियो कोलाहल त मलाई के हुन्छ र । जाँड रक्सी पिउँदै कुखुरा खाँदैछन, मदिराको मूल्य बढ्यो त मलाई के हुन्छ र ? घुस–रिसवत लिन्छन हाकिम हुकुमहरु,त मलाई के हुन्छ र ? जबसम्म आफू कुर्सीमा टाँसी रहेको हुन्छु सबै आफ्ना कमारा त हुन,मलाई के हुन्छ र (०९ डिसेम्बर)” ।


साहित्य लेखक महेश सुगमज्यूको उपरोक्त यी तीन गजल पढेपछि र नेपालमा देखिएको अराजनीतिक विकृतिको आफू पनि साक्षी भएपछि आखिर नेपाल भारत दुबै देशका जनताहरु–सेवाग्राहीहरु लोकतन्त्रको आवरणमा फस्टाएका विकृति एबं विधिरहित पीडाहरुलाई सहनीय बनाउन नजिकिएको अभाष भयो ।

 

मैले नेपालका सबै ट्रेड युनियनका प्रमुखलाई ‘ल है साथी हो सरुवा बढुवा तथा आफ्नो हितलाई तिर मात्रै हैन सेवा प्रवाहमा पनि प्रभावकारिता ल्याउनतिर सक्रिय हुनुहोस है–सरकारी कार्यालयमा दु:ख नपाइयोस् !’ भनेर शुभकामना दिने गरेको छु ।


यस पङ्कतिकारले सूर्य विनायक नगरपालिका–राहदानी विभाग–कोशी अञ्चल अस्पताल–कान्ति बाल अस्पताल–कमलपोखरी,सिन्धुली ट्राफिक कार्यालय लगायतका सार्वजनिक निकायमा आफूलगायत अरुले समेत भोगेका सेवा प्रवाहका प्रशंसायोग्य एवं आलोचना योग्य अनुभवलाई वि.सं.२०७९ मंसिर २९ गते ‘हण्डरमा कर्मचारीहरु सर्वसाधारण ट्वाल्ल’ शीर्षक अन्तर्गत राजधानी दैनिकमा प्रस्तुत गरेको थिएँ ।


यसै सन्दर्भमा नेता मोहन घिमिरेले कर्मचारीमा एकता कायम गरेर एकीकृत कर्मचारी सङ्गठन गठन गर्ने रे भनेको सुनेपछि मैले–“सदा कर्मचारीहरुको सङ्गठितहुने अधिकारको समर्थन गरियो । तर, सरकारको डेलीभरिको कमजोरी प्रति खवरदारी गर्नुको सट्टा माेजमस्ती  र अतिरिक्त आम्दानी हुने निकायमा सरुवा बढुवा उन्मुख ट्रेड यूनियनहरुको ब्यवहार देख्दा हामी सर्वसाधारणले गुनासाे गर्नुपर्ने नै औचित्यको पुष्टिमा थप भएको छ ।.....कार्यक्रममा दलका नेताज्यूहरुलाई भन्दा निम्न वर्गीय सेवाग्राहीलाई अतिथि बनाउनु हुनेछ ” भनेर उहाँलाई शुभकामना सन्देश पठाएको थिएँ ।


पछि उहाँ घिमिरेजीले मिति २०७९ पुष २१ गते आफ्नो सामाजिक सञ्जालको वालमा ‘पूर्व सचिवज्युहरुले सुशासन र सेवा प्रवाह बारेमा सुझाव दिएको सुन्दा मलाई किन खित्का छुटेको होला नि ?’ भनेर स्टाटस प्रविष्ट गर्नु भएपछि सोही दिन पूर्वसचिव तथा प्रशासनविद्ध शारदाप्रसाद त्रितालज्यूले “खित्का छुटेर हाँस उठ्नुका कारण शायद यस्ता हुन सक्छन्” भनेर मोहन घिमिरेलाई निम्नानुसारको जवाफ सामाजिक सञ्जालको भित्तामा दिएपछि त्यसमा निकै विचारमूलक टिप्पणीहरु आएका थिए ।

 

माथिको शुभकामना सन्देश सहित खित्का हँसाईको सन्दर्भलाई समेटेर सौर्य दैनिकमार्फत प्रस्तुत गरेको थिएँ (सौर्य दैनिक । थन्किएका अवकाश कलमको कर्मचारीबारे सकसक–२०७९ पुष २५ गते,एउटै ट्रेड युनियन वा युनियन नै खारेजको विकल्प–२०७९ पुष २५ गते ) ।

 

भारतका महेश कटारे सुगमले उहाँको देशको सरकारी सेवा प्रवाहको सन्दर्भमा केही समश्या राखेर प्रस्तुत गर्नु भएको माथिका गजलहरुमा ब्यक्त गर्नु भएको विचार भन्दा धेरै सुधार भएर सेवा प्राप्तको सहजतामा अहिले आएर नेपालको सरकारी सेवाको स्तर भारतको भन्दा माथिल्लो स्तरको हुन थालेको घोषणा गर्वका साथ गर्न सकिने अवस्था देखिंदैछ ।


एक जना आफन्तको करसम्बन्धी कार्यको सहजीकरण गर्न काठमाण्डौंस्थित एक कर कार्यालय गएको थिएँ ।  छिटो छरितो सेवा पाएपछि धन्यवाद दिएँ । सवारी चालक इजाजतपत्र नविकरण गर्नुपर्ने दिन नजिकिंदै जाँदा खै कसरी पार लाउने हो भनेर एक महिना अघि देखि नै ज्वरो आउन आउन लागेको थियो ।


केही दिन अघि यातायात व्यवस्था कार्यालय राधे राधे जाँदा कार्यालय प्रमुखसँग भेट हुन नसकेपनि त्यहाँका कर्मचारीहरुबाट प्रवाहित शीघ्र तथा छरितो सेवा देखेर आफूलाई पत्यार लागेन । यातायात व्यवस्था विभागमा पनि आफ्नै तवरले घुमफिर गरेर सेवाग्राहीसँग कुरा बुझेँ ।

 

क्रमशः सुधार हुँदै सबै राम्रै हुँदै गएको जस्तो महसुस भयो तर इजाजतपत्र चाँडै प्रकाशित भए अझ राम्रो हुने थियो भनेर भनेको सुनेँपछि विदेश भ्रमणमा जानेहरुलाई राहदानी र हवाई टिकट पेश गरे आजको भोलि नै प्रकाशन हुने व्यवस्था भएको जानकारी समेत उक्त विभागका कर्मचारीबाट पाएँ ।

 

यातायात व्यवस्था सम्बन्धी सम्बन्धित मन्त्रालय,विभाग,कार्यालयहरुले मात्रै हैन सवै सार्वजनिक निकायबाट प्रभावकारी तवरले सेवा प्रवाह हुनुपर्ने कुरामा कसैको दुई मत नहोला ।

 

 तर,यही दलीय लथालङ्गिता-कर्मचारी ट्रेड युनियनहरुको जनसेवा भन्दा आ-आफ्ना दलका ‘राम’ अर्को भावमा भन्दा प्रभु मन्त्री प्रभुहरुको सेवा, सरुवा चासो, इमान्दार कर्मचारीहरुको नैराश्यता, कर्मचारीहरुको अवकाश पछि सहित भविष्यप्रतिको भय, सार्वजनिक सेवालाई उधम मानेर आफ्नो जीवनका महत्वपूर्ण  समय व्यतित गरेका कर्मचारीहरुलाई गाँसबासकपास परिवारको शिक्षा स्वास्थ्यको चिन्ता छ ।

 

यही चुनाव प्रणाली-अनुत्पादक प्रदेशीय संरचना लगायतका पक्षहरु रहुञ्जेल सार्वजनिक सेवा प्रवाहमा सुधार हुन नसक्ने कुराहरु सर्वसाधारणले गर्न नछोडे पनि मैले यो सेवा प्रवाहको सुधार हुनुमा गठबन्धन सरकारको कारण हो कि भनेर जिज्ञाशा राख्दा ‘जेनेरेशन’को कारण सुधार हुँदै गरेको व्यहोरा रमाइलोसँग एकजना निजामती अधिकृतले हालै सुनाउनु भएको थियो, खुसी लाग्याे । (क्रमश:)

प्रतिकृया दिनुहोस