• मंगलबार-बैशाख-२३-२०८२

सहसचिव प्रजिअ रहने जिल्लामा उपसचिवको मस्ती


काठमाडौं । गृह मन्त्रालयले सहसचिवस्तरको दरवन्दी रहेका जिल्लाहरुमा उपसचिवलाई कायम मुकायमको जिम्मेवारी दिंदै आएको छ । जसले गर्दा मन्त्रालयमा आधा दर्जन भन्दा बढी सहसचिवहरु कुर्सी नपाएर बरण्डामा हाजिर मात्रै गरेर तलब खान बाध्य छन् । सहसचिवस्तरका कर्मचारीको दरबन्दी भएका बैतडी, डडेलधुरा, डोटी, जुम्ला र सल्यानमा उपसचिवलाई कामुको जिम्मेवारी दिइएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार, बैतडीमा उपसचिव दीर्घराज उपाध्यायले कामुको जिम्मेवारी पाएका छन् ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उपसचिव चोमेन्द्र न्यौपाने, सल्यानमा सावित्रा पुन, जुम्लामा रामबहादुर शाही र डोटीमा मोहनराज जोशीे कामुको जिम्मेवारीमा रहेका छन् । उनीहरू सबैलाई मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएर पठाएका हुन् । ०८२ वैशाख १४ गते  सहसचिवको दरबन्दी रहेका दुई जिल्ला पनि मन्त्री लेखक र सचिव दुवाडीले उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाएको बताइन्छ ।


मन्त्रालयको यस्तो गलत कार्यशैलीको चर्को बिरोध भएपछि २०८२ बैशाख १४ गते नै दैलेख र रामेछापबाट कामुलाई तानेर सहसचिवलाई खटाइएको थियो । उपसचिव राजुप्रसाद पौडेललाई रामेछापबाट मन्त्रालयमा तानेर तनहुँका तत्कालीन सिडिओ सहसचिव श्यामकृष्ण थापालाई खटाइएको छ । त्यस्तै दैलेखमा कामु रहेका उपसचिव नवराज जैसीलाई मन्त्रालयमा सरुवा गर्दै सहसचिव बद्रीनाथ गैह्रेलाई उक्त जिल्लामा सरुवा गरिएको छ । लामो समयदेखि मन्त्रालयको बरण्डामा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई भने तनहुँको सिडिओको जिम्मेवारीमा खटाइएको छ । 


हाल ६१ जिल्लामा सहसचिव सिडिओ रहने गरी दरवन्दी कायमा गरिएको छ । नयाँ प्रजिअको पदस्थापन, सरुवा वा कामकाजमा खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० हाल विद्यमान रहेको बताइन्छ । उक्त कार्यबिधिले पदस्थापन, सरुवा वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधार सम्बन्धी व्यवस्थासमेत गरेको छ । सहसचिव सिडिओ हुने जिल्ला पनि क, ख र ग तीन किसिमको हुनेगरी कार्यविधिमा वर्गीकरण गरिएको मन्त्रालय स्रोत बताउँछ ।


तर, प्रजिअको जिम्मेवारीमा कर्मचारीको सरूवा र पदस्थापन गर्दा उक्त वर्गीकरण अनुसार निर्णय भने हुने गरेको छैन । मन्त्री लेखक र सचिव दुवाडीले कार्यविधिको पालना नगरेको गुनासो कर्मचारीहरुले गरेका छन् । कार्यविधिको दफा ६ मा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ । बाँकी १६ जिल्लामा उपसचिवस्तरका कर्मचारीको दरबन्दी रहेका बताइन्छ ।


प्रशासन समूहका उपसचिवस्तरका प्रजिअको दरवन्दी रहेका जिल्लाहरु निम्न रहेका छन । ती हिमाली जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, पूर्वी रुकुममा उपसचिवको दरवन्दी रहेको छ । यसैगरी मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, कालिकोट, म्याग्दी, रुकुम पश्चिम, बाजुरा, बझाङ र दार्चुला जिल्लामा भने उपसचिवलाई प्रजिअको जिम्मेवारीमा खटाउने गरिएको छ । तर, मन्त्री, सत्तारुढ दल निकटका कर्मचारीले सहसचिव रहने जिल्लामा अवसर लिने गरेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)

प्रतिकृया दिनुहोस