• मंगलबार-बैशाख-२३-२०८२

रास्वपाका युवा नेता बम : “हार्वड”को नाममा चन्दा माग्दै

 

काठमाडौं । “हार्वर्ड जान पैसा चाहियो” भन्दै रास्वपाका केन्द्रीय सदस्य पुकार बमले सामाजिक सञ्जालमार्फत सर्वसाधारणसँग खुलेआम चन्दा मागिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा काठमाडौं–१ बाट पराजित बमले अमेरिकाको हार्वर्ड केनेडी स्कुलमा अध्ययनका लागि भन्दै फेसबुकमा बैंक खाता, स्वीफ्ट कोड, क्युआर कोड र डिजिटल वालेट (इसेवा, खल्ती) को विवरणसहित चन्दा संकलन अभियान थालिसकेका छन् । तर, यो ‘शिक्षा यात्रा’का नाममा सुरु भएको आर्थिक अभियान अहिले प्रश्नहरूको घेरामा परेको छ–नैतिक, कानूनी र राजनीतिक ।


पार्टी हैसियत र भावुकता बेच्दै चन्दा ?
पुकार बमले आफूलाई सामाजिक अभियन्ता, परिवर्तनको पक्षधर र भविष्यको ‘नेतृत्वकर्ता’को रुपमा प्रस्तुत गर्दै “देशकै लागि हार्वर्ड पढ्न” लागेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्–“हार्वर्ड केनेडी स्कुलमा पाउने सिकाइ र बनाउने सञ्जाल मेरो व्यक्तिगत लाभ भन्दा प्रतिनिधित्व गरेको अभियान र कालान्तरमा मुलुकले नै लाभ लिओस् भन्ने आशयबाट चन्दा संकलन सुरु गरेको हुँ ।”


तर, उनको यो अपिल भावनात्मक भन्दा बढी एकतर्फी आर्थिक मागजस्तो देखिएको छ । न अध्ययनका निश्चित मिति छन्, न हार्वर्ड प्रवेश स्वीकृति देखिएको छ, न त आवश्यक रकमको पारदर्शी विवरण नै सार्वजनिक गरिएको छ ।


कानूनको दृष्टिमा यो ‘भिक्षा अभियान’ ?
कानूनविद्हरूको धारणा अनुसार व्यक्तिगत अध्ययनका लागि सार्वजनिक रुपमा यसरी चन्दा उठाउनु न त नेपालको कानूनअनुसार वैध छ, न नै नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइएको देखिन्छ । वरिष्ठ अधिवक्ता एकराज भट्टराई भन्छन्, “पार्टी, पद वा सामाजिक हैसियतको आडमा यसरी पैसा उठाउने कार्य न निजामती नियमअनुसार वैध हुन्छ, न त गैरसरकारी संस्थाका नियमअनुसार नै । यस्तो कार्यले भ्रम सिर्जना गर्छ र ठगीको कानूनी दायरामा समेत पर्न सक्छ ।”


रास्वपाका लागि पनि नयाँ टण्टो ?
सार्वजनिक जीवनमा ‘शुद्ध राजनीतिका’ पक्षमा उभिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले अध्यक्ष रवि लामिछानेकै सहकारी प्रकरणमा आलोचित छ । यस्तै बेला अर्का केन्द्रीय नेताले अपारदर्शी तरिकाले चन्दा उठाउन थालेपछि पार्टीकै नैतिक छवि थप चुनौतीमा पर्ने संकेत देखिएको छ ।


एक विश्लेषक भन्छन्, “सस्तो लोकप्रियता र विदेश मोहबीचको सीमा नाघ्दा एउटा नयाँ पुस्ताको राजनीतिको विश्वासनीयता नै क्षतिग्रस्त हुन्छ । अनि, पार्टी शुद्ध हुन खोजे पनि अनुशासन कायम गर्न नसके यस्ता गतिविधिले राजनीतिक विकृति झनै गहिरिन्छ ।”


एजेन्टमार्फत चन्दा संकलन ?
स्रोतहरूका अनुसार, पुकार बमले विदेशमा रहेका नेपाली समुदायसँग पनि सम्पर्क गरेर चन्दा संकलन गरिरहेका छन् । केही स्थानमा एजेन्टजस्तै भूमिका खेल्ने व्यक्ति परिचालन गरिएको दाबीसमेत छ ।


तर, कतिसम्म रकम उठाउने ? कहाँ र के मा कति खर्च गर्ने ? हार्वर्डमा अध्ययन गर्न पुगेर बढी भएमा पैसा फिर्ता गर्ने वा नगर्ने भन्नेबारे कुनै स्पष्टता छैन । अध्ययनभन्दा पहिला नै यस्तो आर्थिक गतिविधिले उनको नियतमाथि नै प्रश्न उठाएको छ ।


‘नेता बन्न पढ्न जान्छु, पैसा देउ !’
राजनीतिको नाममा, भविष्यको ‘सेवा’को नाममा पढ्न जानुपर्ने भए पनि त्यसको खर्च नागरिकबाट उठाउन खोज्नु, त्यो पनि पारदर्शिता बिना–नैतिकताको दृष्टिले खतरनाक परिपाटी बन्न सक्छ । हार्वर्डजस्तो उच्च शिक्षालयमा प्रवेश एक गौरव हो, तर त्यसलाई भावुकता, चन्दा र राजनीतिक समर्थनको मिश्रण बनाएर प्रचार गर्नुले त्यो गौरवमा कालो धब्बा थपिदिएको छ ।


अहिलेसम्म बमको चन्दा अभियान कति सफल भयो ? कति रकम जम्मा भयो ? हार्वर्डबाट अध्ययनको स्वीकृति आएको हो कि होइन ? यी सबै प्रश्नहरू अझै निरुत्तर खुला छन् । तर, यथास्थितिमा भने यो अभियानले ‘पढाइका नाममा राजनीति गर्दै पैसा माग्ने’ विवादास्पद शैली सुरु गरेको छ । (साँघु साप्ताहिक, २०८२ वैशाख २२)
 

प्रतिकृया दिनुहोस