• सोमबार-जेठ-५-२०८२

 गभर्नर : कांग्रेसका नेतै पिच्छे उम्मेदवार ! 

 

काठमाडौं । कांग्रेसभित्र गभर्नरका लागि देखिएको रस्साकस्सी निकै रोचक देखिएको छ । एमालेले गभर्नर कांग्रेसलाई दिने भनेर सहमति  जनाएको बाहिर चाहिं देखाएको छ । कांग्रेसले अघि सारेका उम्मेदवारहरुको विषयमा भने फरक फरक धारणा र विवाद आइरहेको थियो । कांग्रेसले उपयुक्त पात्र डा. रविन्द्र पाण्डे, राजेन्द्रकिशोर क्षेत्री, ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्टलाई समयकाल अनुसार बोकेको थियो । पछिल्ला दिनमा पार्टीकै नेता विश्व पौडेललाई बोक्यो । डा. पाण्डे र क्षेत्रीलाई उमेरले धोका दिएको थियो । उनीहरुलाई उमेरले धोका दिएपछि नै ढुंगाना र भट्टमध्ये एकजनालाई अघि सार्न खोजेको थियो । ढुंगानाको पक्षमा विनोद चौधरीसहित आरजु राणासमेत खुलेकी थिइन । अनि, भट्टको पक्षमा भने रमेश लेखक र शेरबहादुर देउवा स्वयम् नै खुलेका थिए । दुईमध्ये एकलाई छान्न प्रधानमन्त्री केपी ओलीले नै भन्नुपर्ने अवस्था आएको थियो । त्यसैले, अन्तिममा भट्टको नाम टुंगो लगाएको थियो । 


 कांग्रेसले विभिन्न नाममा चर्चा गरेको थियो । ती नाम पार्टीका नेताहरुको लाइन अनुसार आएको भन्दै पार्टीभित्रै अहिले चर्चाको विषय बनेको छ । कांग्रेस सभापति  देउवाको उम्मेदवार र देउवा पत्नी आरजुको अर्कै उम्मेदवार देखिएका थिए । अनि, देउवाकै समूहका रहेका प्रकाशशरण महतको अर्को उम्मेदवार पनि देखिएको छ । रमेश लेखकसहित सुदूरपश्चिमका केही नेताहरुले भने भट्टलाई साथ दिएका थिए । त्यसरी हेर्दा कांग्रेसभित्र नेतापिच्छेका उम्मेदवार भएका कारणले पनि विवाद बढेपछि प्रधानमन्त्रीलाई निर्णयमा पुग्न रोकिएको अवस्था छ । पछिल्ला दिनमा भट्ट  गभर्नर नहुने लाइनमा पुुगेपछि अगाडि सारिएका विश्व पौडेलको विषय पनि कांग्रेसभित्र  विभिन्न धार देखिएको थियो । स्रोतका अनुसार, पौडेललाई अघि सार्न नहुने लाइनमा सबैभन्दा बढी विरोधमा प्रकाशशरण महत देखिएका थिए । 


पौडेलको विकल्पमा अर्को व्यक्ति खोज्नुपर्ने महतको लाइन थियो । स्रोतहरुको भनाइमा महतले समिर खतिवडालाई गभर्नर बनाउन सकिने तर्क गरेका थिए ।  महतले बोकेका खतिवडा भने एशियाली विकास बैंकमा काम गर्छन् । आरजुकै टीमको भनिएका महतले अर्को उम्मेदवार बोकेर पौडेलको विपक्षमा किन लागे  ? भन्ने चाहिँ चासोको विषय बनेको छ । कांग्रेसभित्र चलेको  चर्चा अनुसार पौडेललाई चितवनमा चुनाव हराउन पनि महतले भूमिका खेलेका थिए ।

 

त्यतिबेला उनलाई चुनाव जितेर  आए अर्थमन्त्री हुने संभावित उम्मेदवार हुने भएकोले रोक्नका लागि नै पौडेललाई हराउन भूमिका खोलेको चर्चा थियो । अहिले पनि गभर्नर हुनबाट रोक्न महतको टीम लागेका चर्चा छ । त्यसो त, स्वर्णिम वाग्ले पनि पौडेलको विपक्षमा उभिएका थिए । पौडेलको नाम चर्चामा आएदेखि नै वाग्ले र महतको टीम रोक्ने प्रयासमा लागेको थियो । महतले छुट्टै उम्मेदवारको रुपमा खतिवडालाई अघि सारेपछि आरजुको टीमबाट महत बाहिरिईसकेको हुनसक्ने चर्चा हुन थालेको छ । (साँघु साप्ताहिक, २०८२ जेठ ५) 
 

प्रतिकृया दिनुहोस