काठमाडौं । त्रिभुवन विश्वद्यिालयको उपकुलपति नियक्ति प्रक्रिया लम्बिएको छ । कहिले सचिव सरुवा हुने अनि कहिले शिक्षा मन्त्रीले बैठक नबोलाउने गरेका कारणले प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारले शिक्षा मन्त्री रघुजी पन्तको नेतृत्वमा सर्च कमिटी बनाएको छ । यो कमिटीको अहिलेसम्म एउटा बैठक पनि बसेको छैन ।
सर्च कमिटी बनेपछि मन्त्रीले बैठक बोलाउने तयारी गरेको थिए । त्यही बेलामा सचिव दीपक काफ्ले विदेश भ्रमणमा गए । उनी विदेशबाट फर्किएपछि बैठक राख्ने प्रयास भइरहेको थियो फेरि सरुवामा परे । अहिले नयाँ सचिव आएका छन् । उनीसँग सर्च कमिटीको विषयमा जानकारी नै छैन । नयाँ शिक्षा सचिव चुडामणि पौडेलले २०८२ जेठ १६ गते शुक्रबारमात्रै पदभार ग्रहण गरेका छन् । त्यसैले, उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढेको छैन ।
यता प्रक्रिया नै कसरी अगाडि बढाउने भन्नेमा सर्च कमिटीले छलफलसमेत गर्न पाएको छैन । उनीहरुवीच अनौपचारिक रुपमा छलफल पनि भएको छैन । पहिला खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी कार्यविधि बनेको थियो । त्यसलाई अहिलेको सर्च कमिटीले कसरी अगाडि बढाउँछ भन्नेमा पनि प्रश्न उठेको छ । तर, अहिले उपकुलपतिका लागि राजनीति दौड भने भइरहेको छ । उपकुलपतिका लागि रहर गर्नेहरुको एकपछि अर्को नामहरु बजारमा आइरहेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानकी पूर्वडीन, दिब्यासिंह शाह, मदन भण्डारी विश्वविद्यालयको उपकुलपति राजेन्द्रध्वज जोशीदेखि मध्यपश्चिम विश्वविद्यालयका उपेन्द्र कोइरालासम्मको नाम चर्चामा रहेको छ ।
डिल्लीप्रसाद उप्रेतीले पनि आफ्नो नाम अगाडि सारिरहेका छन् । रजिस्टार हुँदा विवादमा तानिएका उप्रेती अहिले प्रधानमन्त्री र सर्च कमिटी सदस्य गीता पौडेलको गृहजिल्लाका भएकोले उनले सक्रियता बढेको हो । त्यसबाहेक मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति भइसकेका र अघिल्लोपटक खुला प्रतिस्पर्धामा भाग लिएका नन्दबहादुर सिंह,त्रिवि जनसंख्या विभागका पूर्वप्रमुख योगेन्द्र गुरुङ, अहिलेका उपकुलपति खड्ग केसी प्रमुख दाबेदारको रुपमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ १९)
प्रतिकृया दिनुहोस