काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया लम्बिइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको नेतृत्वमा बनेको सर्च कमिटीले प्रक्रियालाई तीब्रता दिन सकेको छैन । उपकुलपति केशरजंग बरालले राजीनामा दिएको दुई महिनाभन्दा बढी भएको छ । महिनाभन्दा बढी भएपछि सरकारले पन्तको नेतृत्वमा सर्च कमिटी बनाएको थियो । त्यो कमिटीले पनि काम भने गरेकोक छैन । एक महिना भईसक्दा पनि काम गर्न नसकेको कमिटीले छनौटको विधि पनि तय गर्न सकेको छैन ।
कमिटीले काम गर्न नसक्नुमा चाहिँ खासमा कसलाई उपकुलपति बनाउने भन्ने टुंगो नलागेका कारण भएको चर्चा भइरहेको छ । शिक्षामन्त्रालय स्रोतका अनुसार, कसलाई उपकुलपति बनाउने भन्ने नाम टुंगो लागेपछिमात्रै कार्यविधि उक्त व्यक्तिलाई हेरेर बनाउन खोजिएको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने अघिल्लो बर्षको प्रक्रियालाई अहिलेको सरकारले अस्वीकार गरेको छ ।
सोहीकारण व्यक्तिमा केन्द्रित हुन खोजेको स्रोतको दावी छ । अहिले उपकुलपतिका लागि एमालेको दाबी रहेको छ । एमालेबाट उपेन्द्र कोइराला, डिल्ली उप्रेती, दिब्यासिंह शाह, योगेन्द्र गुरुङ, खड्ग केसी, राजेन्द्रध्वज जोशी, नन्दबहादुर सिंहलगायत आधा दर्जन प्राध्यापकहरु दाबेदार रहेका छन् । ती मध्ये कसलाई प्रधानमन्त्री केपी ओलीले ग्रिन सिग्नल दिन्छन् भन्नेमा पनि मन्त्री पन्त अझै प्रष्ट भएका छैनन् । स्रोतका अनुसा,र ओलीको ग्रिन सिग्नल नपाएका कारणले पनि मन्त्री पन्तले काम अगाडि बढाउन नसकेको कर्मचारीहरु बताउछन् । खासमा प्रधानमन्त्री ओलीले कोइराला, उप्रेती र शाहमध्ये एकलाई अगाडि सार्न सक्छन् भन्ने अनुमान भइरहेको छ । कोइराला पहिलादेखि नै विवादमा आएका प्राध्यापक हुन् भने उप्रेती त्रिविको रजिस्टार हुँदा निकै विवादमा आएका थिए । उनलाई भविष्यमा अन्य नियुक्तिमा नलैजान त उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले नै भनेको छ ।
त्यसैले, ओलीका लागि यी दुईजना बाहिरिन सक्ने संभावना रहेको छ । तर, शाह भने ओलीको निजी चिकित्सको रुपमा काम गरेकी र त्यहीकारण चिकित्साशास्त्र अध्ययन संस्थानको डीन बनाएका कारण ओलीले फेरि त्रिविको उपकुलपति बनाउने हुन् कि भन्ने अनुमान पनि भइरहेको छ । शाह उपकुलपति भएमा त्रिविमा पहिलो महिला उपकुलपति बनेर इतिहास राख्नेछन् । प्रधानमन्त्री ओली यस्तो रणनीतिमा पनि बेलामौकामा लाग्ने गरेका कारण शाहको संभावना रहेको बताइन्छ ।
तर, जोशी र सिंह पनि कमजोर उम्मेदवार भने होइनन् । अहिलेका निमित्त उपकुलपति केसीलाई भने ओलीले रेक्टरमै रोक्न खोजेका थिए । त्यसैले, अहिले उपकुलपति बनाउन नचाहन सक्छन् भन्ने त्रिविमा चर्चा भइरहेको छ । त्यसो त, त्रिविको उपकुलपतिमा कांग्रेसले पनि चासो भने राखिरहेको छ ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति पाइसकेका कारण कांग्रेसलाई त्रिविमा छिर्न नदिने मुडमा एमाले रहेको छ । तर, प्रधानमन्त्री ओलीले नै उपकुलपति कसलाई बनाउने भन्ने ग्रिन सिग्नल दिन नसकेका कारण सर्च कमिटी व्यक्तिविशेषको छलफलमा प्रवेश गर्न सकेको छैन । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस