• बिहीबार-असार-५-२०८२

गृह सचिव दुवाडीको शैली अझै सुध्रिएन ! : एआईजी र पाँच डिआईजी थप्ने तयारी 

 

काठमाडौं । विगतमा कटौती गरिएको एक प्राविधिक एआईजी र पाँच डीआईजीको दरबन्दी पुनः थप्ने तयारीमा नेपाल प्रहरीको नेतृत्व लागेको खबर छ । वर्तमान आइजीपी दीपक थापाभन्दा अगाडि भौतिक निर्माण र सवारी निर्देशनालयका प्राविधिक इन्जिनियर फणिन्द्र बराल डिआईजीमा बढुवा भएका थिए । उनलाई दरबन्दी थप गरी बढुवा गर्न निवर्तमान आईजीपी वसन्त बहादुर कुँवरकै पालामा गृह मन्त्रालयमा प्रस्ताव पठाइएको चर्चा थियो ।


स्रोत भन्छ,  गृह सचिव गोकर्णमणि दुवाडी र गृहमन्त्री रमेश लेखकले भने दरबन्दी थपका विषयमा कुनै चासो दिएका छैनन् । यही कारण बराल संगठनभित्र अपमान सहेर आफूभन्दा तीन वर्ष जुनियर आईजीपी थापा र एआईजीपीलाई सलाम हान्दै हिनताबोधकासाथ काम गरिरहेको संगठन स्रोतले जानकारी दिएको छ । उनलाई बढुवा गर्न नौ महिना अगाडि नै एउटा प्राविधिक एआईजी थप्न प्रस्ताव गएको थियो । गृहबाट सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने तयारी गरेपनि आलटाल हुँदै आएको बताइन्छ । उक्त दरबन्दी थप फाइल हाल गृह मन्त्रालयको प्रहरी प्रशासन शाखामा रहेको गृह स्रोतको दावी छ ।


केही हप्ता अघिमात्र बढुवा भएका राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको टोलीका डीआईजीहरुले कटौती भएका पाँच निकायमा पुनः दरबन्दी कायम गर्न लबिङ गरिरहेको बताइएको छ । पाँच वर्षअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, मानव बेचबिखन ब्यूरो र नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुनः डीआईजीको दरबन्दी खारेज गरिएको थियो ।


खारेज गरिएका ती दरवन्दी पुन कायम गराउने खेलमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरणपछि बढुवा भएका डिआईजीहरु यतिखरे लागिपरेको गृह स्रोत बताउँछ । प्रहरीको यी निकायमा डिआईजीको दरबन्दी राख्ने पक्षमा प्रहरी महानिरीक्षक दीपक थापासमेत सकारात्मक रहेको स्रोतले दावी गरेको छ । प्रहरी महानिरीक्षक थापा राजावादीहरूको आन्दोलन तुहिएपछि फुर्सदिलो बनेका छन् । हिजोआज प्रहरी महानिरीक्षक थापा हेडक्वाटर मातहतका विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो, अपराध अनुसन्धान महाविद्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंलगायतका निकायहरूको निरीक्षण र अनुगमन दैनिक जसो व्यस्त हुने गरेका छन् । निरीक्षणकाक्रममा आइजीपी थापाले मातहत निकायका सफल कार्य, दरबन्दी, नफ्री, समस्या, चुनौती आदिका बारेमा जानकारी लिइरहेका छन् ।


अपुग दरबन्दी पूर्ति गर्न, समस्या समाधान गर्न पहल गर्ने आश्वासनसमेत ती निकायमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरुलाई महानिरीक्षक थापाले दिंदै आइरहेको प्रहरी स्रोत बताउछ । माथि उल्लेखित यी पाँचै निकायमा ५ वर्ष अघिसम्म डिआईजीको दरबन्दी रहेका थिए । २०७६ चैतमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारकै पालामा कटौतीमा परेका थिए । अझ प्रशासनतर्फ डिआइजीको दरबन्दीसहित २६ जनाबाट कटौती गर्दै १३ जनामा सीमित गरिएको थियो । दरवन्दी कटौतिसँगै यी पाँचवटै निकायमा हाल एसएसपी प्रमुख रहने ब्यवस्था गरिएको छ । तर, यतिखेर कामको प्रकृति, जिम्मेवारी र अन्तर निकाय समन्वय आदिका कारणले डिआईजीको दरवन्दी पुन कायम गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको संगठन स्रोतले दावी गरेको छ । निजामती सेवाका निकायहरूमा भने सहसचिवको दरबन्दी रहेकोले पनि मर्यादाक्रममा तल रहने एसएसपीले अन्तर निकायहरूमा समन्वय गर्न समस्या परेको सुरक्षा स्रोतको भनाई रहेको छ ।


राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका डिआईजी विनोद घिमिरेको सेवा अवधि ११ महिना मात्र बाँकी रहेको बताइन्छ । त्यसैले पनि पाँच ठाउँमा डिआईजीको दरबन्दी राखेर इन्चार्ज हुने कोसिसमा उनी पनि मरिहत्ते गरेर लागिरहेको बताइन्छ । जागिर अवधि बढी भएकाहरुले दरवन्दी कायम गर्न जोडबल गरिरहेको चर्चा चल्ने गरेको छ । २०५८ पुषमा नमस्ते टोली भनिनेहरु गुप्तचर विभागबाट स्थानान्तरण भएर नेपाल प्रहरीमा छिरेका हुन् । उनीहरु डिआईजी बढुवा भएसँगै इन्चार्ज हुन जोडबलकासाथ लागिपरेको गृह स्रोतले बताएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट स्थान्तरण भएर आएका विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, माधवप्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेद्रद्रबहादुर गुरुङ हाल डिआईजी रहेका छन् । 


गृह सचिव दुवाडीको शैली अझै सुध्रिएन !
यसैबिच, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दी भन्दा बढी कर्मचारी खटाउने मन्त्रालयका सचिवहरुको खोजी गरिरहेको छ । यो विषयमा गृह सचिव गोकर्णमणि दुवाडीमार्फत यस्ता कार्य गरेको भेटाएपछि प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण लिएको थियो । तरपनि मन्त्रालय मातहतका निकायमा उनले दरबन्दी भन्दा बढी कर्मचारी राखेर स्वयम् आलोचित बद्नाम हुन पुगेका छन् ।


केही दिन अघि ६ जना उपसचिव, केही शाखा अधिकृत, नासु, खरिदारसहित तीन दर्जन कर्मचारीहरूको काज सुरूवा फिर्ता गरेको घटनाले पनि गृह सचिवको नियत प्रष्ट भइससकेको अवस्था छ । निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै लामो विदामा बसेको र अन्यन्त्र काजमा खटिएको कारण पदाधिकारमा नरहेको अवस्थामा बाहेक दुई महिनाभन्दा बढी जिम्मेवारी नदिई राख्न नपाइने व्यवस्था रहेको छ ।


त्यसरी राखेको भेटिएमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने स्पष्ट कानूनी व्यवस्था रहेको छ । तर, दुई महिनाभन्दा बढी समयदेखि मन्त्री रमेश लेखक र सचिव दुवाडीले सहसचिवलगायतका कर्मचारीलाई जगेडामा राख्ने कार्य गर्दा पनि सम्वन्धित निकायले कारवाही भने गर्न सकिरहेको छैन । तरपनि लामो समयदेखि मन्त्रालयको बरण्डामा थन्क्याइएका एक दर्जन सहसचिव र उपसचिवहरूलाई अझै सचिव दुवाडीले तत्काल कुनै जिम्मेवारी दिने छाँटकाँट नदेखाएको गुनासो प्राप्त भएको छ ।


हाल मन्त्रालयको बरण्डामा अझै करिब एक दर्जन सिनियर सहसचिवहरु जिम्मेवारविहीन अवस्थामा रहेको गृह स्रोतले दावी गरेको छ । स्रोत भन्छ ‘मन्त्रालयमा यसअघि यसरी सहसचिवलाई जिम्मेवारीविहीन बनाएर बरण्डामा राख्ने गरिएको थिएन ।’ तर, यतिखेर ५ महिनादेखि बरण्डामा सहसचिवहरुलाई थन्क्याएर उनीहरुको हूर्मत लिने कार्य सचिव दुवाडीले गरेको पीडितहरु गुनासो गर्छन् । तत्कालीन मोरङको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता गरिएका सहसचिव प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयको बरण्डामा थन्क्याइएको ५ महिना बढी समय बितिसकेको स्रोत बताउछ ।


यसैगरी, सिराहाबाट मन्त्रालयमा तानेका सहसचिव बासुदेव दाहालको पनि हालत उस्तै छ । बाग्लुङको प्रजिअबाट मन्त्रालयमा फिर्ता गरिएका नेत्रप्रसाद सुवेदी र पर्वतकोबाट फिर्ता भएका केदारनाथ शर्मा ३ महिनादेखि मन्त्रालयको बरण्डामा हल्लिरहेका छन् । त्यसैगरी, स्याङ्जाबाट मन्त्रालयमा सरुवा गरिएकी सहसचिव सुनिता नेपाल र लमजुङबाट तानिएका सहसचिव बुद्धबहादुर गुरुङ पनि जिम्मेवारीविहीन भएर बसेको २ महिना नाघिसकेको बताइन्छ ।


महोत्तरी सिडिओबाट तानिएका लालबाबु कवारी गृह मन्त्रालयमा हल्लिएर जागिर पकाएको एक महिना बढी भइसक्यो । कास्कीको सिडिओबाट फर्किएका भरतमणि पाण्डे र धनुषाबाट आएका रामुराज कडरिया पनि दैनिक मन्त्रालयमा आएर हाजिर गर्दै तलव थापिरहेका छन् ।(साँघु साप्ताहिक, २०८२ असार २)
 

प्रतिकृया दिनुहोस