• आइतबार-असार-८-२०८२

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल जारी

 

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गर्नुभयो ।

 

    विनियोजन विधेयक-२०८२ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँहरूले कतिपय मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै परिस्कृत गरेर लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     


    खर्च कटौतीको प्रस्तव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले ‘भिजिट भिसा’ प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो । 

 

    उहाँले खेलकुद क्षेत्रलाई पनि बजेटले उपेक्षा गरेको भन्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन हुन नसकेको उल्लेख गर्नुभयो । सांसद पाण्डेले योजना बैंकमार्फत तीन करोड मुनिका योजना नहुने भनिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

 

    माओवादी केन्द्रका गङ्गा कार्कीले बजेटमा उत्पादन वृद्धि र अनावश्यक खर्च कटौतीलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आर्थिक कार्यक्रम सुधार, कृषि उत्पादन प्रवर्द्धन, खेलकुद र पर्यटन क्षेत्रको विकासलगायत क्षेत्रलाई विनियोजन विधेयकले प्राथमिकता नदिएको गुनासो गर्नुभयो । उहाँले बजेटले दोलखालाई विभेद् गरेको बताउनुभयो ।

 

    राष्ट्रिय जनमोर्चाका सांसद चित्रबाहदुर केसीले नेपालमा युवाहरूको स्थितिका बारेमा राज्यले जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालमा युवाहरूको स्थिति कस्तो छ, हामीले हाम्रा युवालाई के पढाइरहेका छाैँ ?, के सिकाइरहेका छौँ ?, हाम्रो शैक्षिकस्तर कस्तो छ ?, अहिले हाम्रा नयाँ युवालाई सिकाएको ज्ञान तिमी विदेश जान तयार हुनुपर्छ भन्ने सिकाइ त होइन? त्यसैले शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ ।”   
 

प्रतिकृया दिनुहोस