काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन नजिकिंदै गर्दा पार्टीभित्रको शक्ति समीकरण र नेतृत्व प्रतिस्पर्धा क्रमशः चर्किंदै गएको छ । महाधिवेशनको मिति औपचारिक रूपमा घोषणा नभए पनि यसबारे चर्चा तीव्र रूपमा बढेको छ । पार्टी विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनु पर्नेमा १४औं महाधिवेशन २०७८ मंसिर २४ गते सम्पन्न भएको थियो ।
त्यसको आधारमा आगामी महाधिवेशन २०७८–८२ बीचमै सम्पन्न हुनु पर्ने विधानात्मक बाध्यता हो । यही सन्दर्भमा पार्टीभित्र सभापतिका आकांक्षी नेताहरूको चहलपहल, दौडधूप र गठजोडको राजनीति खुलेर देखिन थालेको छ ।
महामन्त्री गगन थापा र नेता शेखर कोइराला पछिल्ला दुई वर्षदेखि सभापतिको तयारीमा जुटिरहेका छन्। दुबै नेता देश दौडाहामा सक्रिय छन्। साना कार्यक्रमहरूदेखि स्थानीय कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कसम्म तीव्र रूपमा सक्रिय रहेकाले महाधिवेशन नजिकिएको आभास पार्टीभित्र गहिरिंदै गएको छ ।
सभापतिका आकांक्षीमध्ये डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालालगायत नेताहरूको नाम चर्चामा छ । तर, यीमध्ये को कसले सभापति शेरबहादुर देउवाको आशीर्वाद पाउछन् वा पाउँदैनन् भन्ने विषय चर्चाको केन्द्रबिन्दु बनेको छ । देउवा समूहका नेताहरूले खुलेर आफ्नो दाबी अघि सारे पनि देउवाले अहिलेसम्म कसैलाई पनि खुला समर्थन गरिसकेका छैनन् ।
देउवाले हालै भनेका छन्–“अब म अवकाश हुँदैछु, तर पार्टीलाई एक बनाएर लैजान चाहन्छु ।” उनले यही अभिव्यक्तिका आधारमा आगामी महाधिवेशनमा उम्मेदवारी नदिने संकेत गरेका छन् । यदि देउवाले साँच्चिकै अवकाशको निर्णय लिए भने कांग्रेसको नेतृत्व प्रतिस्पर्धा अत्यन्तै रोचक मोडमा पुग्नेछ । त्यस अवस्थामा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, गगन थापा, शशांक कोइराला वा मध्ये एकजना सभापति बन्ने प्रवल सम्भावना देखिन्छ ।
शशांक कोइरालाको पक्षमा उनको वंशीय छवि अर्थात् बीपी कोइरालाका पुत्र हुनु नै बलियो पक्ष हो । त्यसकारण उनी उम्मेदवार भएमा शेखर कोइरालालाई क्षति पुग्ने सम्भावना विश्लेषकहरू देख्छन् । यता, शेखर कोइराला पार्टीभित्र इतर समूहको नेतृत्वमा छन् र उनी संगठनात्मक तथा भूराजनीतिक रूपमा पनि बलियो व्यक्तित्वका रूपमा हेरिन्छन् । गगन थापा भने युवा, लोकप्रिय र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताको रूपमा स्थापित छन् । त्यसैले अबको प्रतिस्पर्धा शेखर, थापा र शशांक त्रिकोणमा सीमित हुने सम्भावना प्रबल छ ।
तर, यो समीकरण त्यसबेला मात्रै संभव हुनेछ जब देउवाले आफैं उम्मेदवारी नदिई तटस्थ बस्ने वा कसैलाई समर्थन नगर्ने निर्णयमा पुग्छन् । देउवाले आफू निकटका कुनै एक उम्मेदवारलाई समर्थन गरेमा सन्तुलन भत्किन सक्छ र त्यस उम्मेदवारको पक्षमा महाधिवेशनको लहर जान सक्नेछ ।
त्यही बुझेर हुनसक्छ, पछिल्ला दिनमा शेखर कोइरालाले “आउँदो प्रधानमन्त्री गगन थापा, सभापति म” भन्ने फर्मूला अघि सारेका छन् । उनले कार्यकर्तालाई यसै सन्देश दिइरहेका छन् । स्रोतहरूका अनुसार, शेखरले गगनलाई आगामी संसदीय निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने, र आफू एकपटकका लागि सभापति बन्ने तथा त्यसपछिका महाधिवेशनमा गगनलाई समर्थन गर्ने प्रस्ताव अघि सारेको स्रोत बताउछ । तर, थापा यस विषयमा स्पष्ट अडानमा देखिन्छन्–उनी यसैपटक सभापतिको उम्मेदवार बन्नेमा अडिग छन् । त्यसैले, शेखर–गगन समीकरण अझै औपचारिक सहमतिमा पुगेका छैनन् ।
यही पृष्ठभूमिमा देउवा पत्नी आरजु राणा देउवाको भूमिका पनि चासोको विषय बनेको छ । शेखर कोइरालाले आरजुलाई आफ्नो पक्षमा ल्याउन विभिन्न नेताहरूलाई ‘दूत’ बनाएर संवाद गराइरहेका छन् भन्ने चर्चा चुलिएको छ । यदि आरजु राणा शेखर समूहमा आउँछिन् भने सभापतिको प्रतिस्पर्धामा त्यो निर्णायक हुनसक्छ भन्ने बुझाइ कोइराला समूहको देखिन्छ ।
अबको वास्तविक राजनीतिक रोचकता भनेको देउवाको अन्तिम निर्णयमा भर पर्नेछ । उनी साँच्चिकै तटस्थ रहन्छन् कि समर्थनसहित प्रतिस्पर्धा प्रभावित गर्छन् भन्ने यथार्थ महाधिवेशनको नतिजा निर्धारण गर्ने मुख्य कारक हुनेछ । (साँघु साप्ताहिक, २०८२ असार १६)
प्रतिकृया दिनुहोस