काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले टेलिभिजन र रेडियोबाट पनि ठूलो संख्यामा पत्रकार तथा कर्मचारी कटौती गर्ने अन्तिम तयारीमा रहेको छ । विश्वसनीय स्रोतका अनुसार, संस्थाले ‘मिडिया संकट’को कारण देखाएर पत्रकार र कर्मचारी कटौती गर्ने प्रक्रिया सुरु गरेको हो । २०८२ असार ६ गते शुक्रबार काठमाडौं, तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा प्रबन्ध निर्देशक सम्भव शिरोहियाले टेलिभिजन र रेडियो कान्तिपुरका पत्रकार तथा कर्मचारीहरूलाई डाकेर उक्त योजना सुनाएका थिए । शिरोहियाले हालको बजार मन्दीका कारण संस्था आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । उनले भने, “बाध्यतावश पत्रकार, कर्मचारी हटाउनुपर्ने स्थिति आएको हो ।” तर पत्रकार तथा कर्मचारीले सोधेको सेभेरेन्स प्याकेजबारे भने उनले प्रष्ट जवाफ नदिएपछि पत्रकारहरु चिन्ता ग्रस्त बन्न पुगेको बताउछन् ।
“हामीले विदा हुँदा पाउने आर्थिक प्याकेजबारे सोधेका थियौं,” एक सहभागी पत्रकारले भने, “तर प्रबन्ध निर्देशकबाट कानूनअनुसार तलब पाइने मात्र जवाफ आयो । काम गरेबापतको तलब दिएर घर पठाउने सुरसार देखिएको छ, हामीलाई यो स्वीकार्य छैन, हामी कानूनी उपचारमा जान बाध्य हुनेछौं ।”
गत वर्ष मात्रै कान्तिपुर पब्लिकेसन्सबाट पनि ठूलो संख्यामा पत्रकार हटाइएको थियो । त्यतिबेला पनि कानूनअनुसारको पारिश्रमिक र सेवा–सुविधा नपाएको भन्दै पत्रकारहरूले आन्दोलन र धर्ना गरेका थिए । यसपटक हटाउने सूचीमा कान्तिपुर टेलिभिजन र रेडियो गरी सयभन्दा बढीको नाम परेको स्रोतले जनाएको छ । तीमध्ये अधिकांश टेलिभिजनका पत्रकार तथा कर्मचारी रहेका छन् । हाल कान्तिपुर टिभीमा पत्रकार र प्राविधिक गरी कुल १६५ जना कार्यरत छन् ।
“दुबै माध्यमका करिब आधा कर्मचारी कटौती गर्ने तयारी देखिएको छ,” जागिर जाने डरले त्रस्त एकजना पत्रकारले भने, “हटाइने सूची गुपचुप रूपमा बनाइएको छ, सबैमा ‘मै हट्छु कि’ भन्ने भयत्रास फैलिएको छ, काम गर्ने उत्साह मरेको छ ।”
स्रोतअनुसार, हटाउने प्रक्रिया यही असार महिनाभित्रै टुंग्याउने तयारी छ । साथै, टेलिभिजनको कार्यालय पनि तीनकुनेबाट कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित भवनमा सार्ने योजना बनाइएको छ ।
पत्रकार तथा कर्मचारीसँगको भेटमा प्रबन्ध निर्देशक शिरोहियाले रेडियो, टिभी, पत्रिका र अनलाइन–सबै मिडिया एकै ठाउँबाट सञ्चालन गर्ने योजना सुनाएका थिए । तर, सो योजनाप्रति पत्रकार तथा कर्मचारी सन्तुष्ट देखिएका छैनन् ।
“विगतमा जसरी खाली हात पठाइएको थियो, अहिले पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता छ,” एक कर्मचारीले भने, “यसपाली योजना कार्यान्वयन हुनु अघि नै नेपाल पत्रकार महासंघ र ट्रेड युनियनसँग छलफल गरेर सामूहिक रूपमा अगाडि बढ्ने तयारीमा छौं ।”
मध्य वर्षको समयमा कर्मचारी हटाउने कार्यले सम्पूर्ण मिडिया समूहमा त्रासको वातावरण सिर्जना गरेको छ । पत्रकार तथा कर्मचारीहरू यतिबेला मानसिक दबाबमा परेका छन् । (साँघु साप्ताहिक, २०८२ असार १६)
प्रतिकृया दिनुहोस